हत्या आरोपमा दुई जना पक्राउ
सुर्खेत: मुगुमा एकै परिवारको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटना भएको १३ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको जानकारी दिएको छ । अनुसन्धानको घेरा साँघुरो पार्दै जाँदा प्रहरीले त्यही गाउँबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरू २६ वर्षीय गोपाल बोहरा र बाँके कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही रहेका छन् । गोपाल श्रीदेवीको आफ्नै मामाका छोरा हुन् भने गोरखबहादुर पनि नातेदार नै हुन् । गोपाल यसका मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।
कार्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय मनोज, सात वर्षीया अप्सरा र पाँच महिने रहरको हत्या भएको थियो । धारिलो हतियार प्रहार गरी उनीहरूको वीभत्स हत्या गरिएको थियो । गाउँमा एकै परिवारका चार जनाको हत्यापछि कर्णाली प्रदेश प्रहरी कार्यालयले प्राथमिकतासाथ अनुसन्धान अघि बढायो ।
दुई साताको अनुसन्धानपछि दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरिएको हो । उनीबाट एक लाख ७९ रूपैयाँ, नेपाली राहादानी बरामद भएको छ । उक्त रकम उनले सुन बेचेर लिएका थिए । प्रहरीले घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत मुगुबाट ११ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
घटना कार्तिक ८ गते राति नै भए पनि कार्तिक १० गते मात्रै बाहिरिएको थियो । यसको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापा, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र प्रहरी निरीक्षक बुद्धि सुवेदीको छुट्टाछुट्टै टोली खटिएको थियो ।
अनुसन्धानको जटिलता देखेर कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी ढकाल आफैं मुगु पुगेका थिए । पछि केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीलाई घटनास्थलमा खटिएको थियो ।
प्रकाशित मितिः २५ कार्तिक २०८०, शनिबार ०५:०१
साझा बिसौनी ।