८९ जना घाइते अस्पतालमै
सुर्खेत: भूकम्पमा परी घाइते भएकामध्ये दुई सय ८३ जना उपचारपछि घर फर्किएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालसहित विभिन्न अस्पतालमा उपचारत उनीहरू निको भएपछि घर फर्किएका हुन् ।
गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी रूकुमपश्चिम, जाजरकोट, दैलेख, सल्यान, कालीकोट र जुम्लामा गरी तीन सय ७२ जना घाइते भएका थिए । घाइतेमध्ये दुई सय ८३ जना उपचारपछि स्वास्थ्य घर फर्किएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अन्य जिल्लाका घाइते सामान्य उपचारपछि निको भएर घर फर्किसकेका छन् । सबैभन्दा बढी जाजरकोट र रूकुमपश्चिममा तीन सय ६० जना घाइते भएका थिए । त्यसमध्ये दुई सय ७१ जना निको भइसकेका छन् । बाँकी ८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतहरूमध्ये जाजरकोटका ५७ जना र रूकुमपश्चिमका ३२ जना छन् ।
जाजरकोट जिल्लाका घाइते एक जनाको ट्रमासेन्टर काठमाडौंमा, दुई जनाको टिचिङ अस्पताल काठमाडौं, ३१ जनाको भेरी अस्पताल नेपालगञ्ज, ११ जनाको प्रदेश अस्पताल सुर्खेत र १२ जनाको जाजरकोट जिल्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उपचारत घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार २२ जना मध्यम र २९ जना सामान्य अवस्थाका घाइतेको उपचार भइरहेको छ ।
यस्तै रूकुमपश्चिम जिल्लाका घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १४ जनाको भेरी अस्पताल नेपालगञ्ज, दश जनाको प्रदेश अस्पताल सुर्खेत, आठ जनाको टिचिङ अस्पताल काठमाडौंमा गरी जम्मा ३२ जनाको उपचार भइरहेको हो । उपचारत घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने २० जना मध्यम र दश जना सामान्य अवस्थाका घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रदेश अस्पताल सुर्खेतले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ गएको भूकम्पमा परी घाइते भएकाहरूको अवस्था सुधारोन्मुख रहेको जनाएको छ । अस्पतालले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी घाइतेहरूको स्वास्थ्य अवस्था र उद्धार तथा उपचार व्यवस्थापनमा अस्पतालले गरेका कामबारे जानकारी दिएको हो ।
प्रदेश अस्पतालमा भूकम्पबाट घाइते बनेका ४५ जनाको उपचार भएको छ । अस्पतालले घाइतेहरूलाई वर्गीकरण गरी उपचार गरेको छ । उपचारपछि २४ जनालाई डिस्चार्ज गरिएको, एक जना न्यूरो आइसियू भेन्टिलेटरमा, एक आइसियूमा र १९ जनाको वार्डमा उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालमा पाँच वर्ष मूनीका ६ जना बालबालिकाको उपचार भइरहेको छ भने पाँच जनाको शल्यक्रिया गरिएको छ ।
प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले घाइतेहरूको उपचार तथा व्यवस्थापन गर्न अस्पतालका विपद् व्यवस्थापन समिति सक्रिय भइ उपचार टोली चौबिसै घण्टा खटिएको जानकारी दिए । अस्पतालले भूकम्प प्रभावित क्षेत्रमा कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रबिन केसी, डा. सुलभ श्रेष्ठ, हेल्थ असिस्टेन्ट विकास बुढाथोकी, विकास रोकाया र फार्मेसी सुपरभाइजर सुरज लुहारलाई जाजरकोट खटाएको थियो ।
भवन क्षतिग्रस्त, सेवा अवरुद्ध
भूकम्पका कारण जाजरकोटका तीन वटा सरकारी कार्यालयको सेवा अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय भग्नावशेषमा परिणत भएपछि सेवा अवरुद्ध भएको हो । भूकम्पका कारण सरकारी कार्यालयहरू पूर्ण क्षतिग्रस्त भएपछि आइतवारदेखि सेवा प्रवाह हुन सकेको छैन ।
भेरी नगरपालिका वडा नं. ३ माथिल्लो थाप्लेमा रहेका नापी कार्यालय, मालपोत कार्यालय भग्नावशेषमा परिणत भएका छन् । जिल्ला प्रशासन कार्यालयको घरका भित्ता फाटेर चिरा पारेपछि बस्न र भित्र पस्न नसकिने अवस्था छ । दुई वटा कार्यालयको सेवा अनिश्चित छ । नापी कार्यालयले उद्धार गरेका केही सामग्री शिक्षा विकास तथा समन्वय एकाई कार्यालयमा सारिएको छ ।
सर्वसाधारणसँग सम्बन्धित महŒवपूर्ण कार्यालय भूकम्पले ध्वस्त पारेपछि सेवाग्राही समस्यामा परेका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले दैनिक रूपमा ५० देखि ८० जना सेवाग्राही आएर भिड लाग्ने कार्यालय ध्वस्त भएपछि सेवा लिन आएका सर्वसाधारणलाई सेवा दिन नसक्ने भन्दै फिर्ता गर्नु परेको बताए । अस्थायी आवास निर्माण गरी मंसिर दोस्रो सातादेखि सेवा प्रवाह गर्न सकिने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयका सबै जनशक्ति भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गर्ने कार्यमा केन्द्रित भएकाले तिहारअघि सार्वजनिक सेवा दिन नसकिने शर्माले जानकारी दिए । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जिल्ला प्रशासन कार्यालयले सेवा दिएको भवन पूर्णरूपमा क्षति ग्रस्त भएपछि अस्थायी टहरा निर्माण गरी सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।
मालपोत कार्यालयका प्रमुख डिल्ली केसीका अनुसार भाडाबाट सेवा दिँदै आएको घर पूर्णरूपमा क्षतिग्रस्त भएपछि महŒवपूर्ण स्रेस्ताहरू नष्ट भएको बताए । सर्वसाधारणले सेवा लिने महŒवपूर्ण कार्यालय भग्नावशेष भएपछि कार्यरत कर्मचारीसमेत चिन्तित बनेका छन् ।
भूकम्पमा परी हालसम्म एक सय ५३ जनाको मृत्यु भएको छ । हजारौँ भौतिक संरचना भत्किएका छन् । भूकम्प पीडितहरूको राहत, उद्धार र पुनस्र्थापनाका लागि विभिन्न राजनीतिक दल, स्थानीय तह, संघसंस्था र दातृनिकायले सहयोगको घोषणा गरिरहेका छन् । पीडितहरूलाई राहत वितरण जारी छ । तर राहत नपाएका कतिपय भूकम्पपीडितले खुला ठाउँमा भोकै रात कटाउन बाध्य भएको गुनासो गरेका छन् । भूकम्प गएको एक हप्ता पुग्दा पनि पीडितहरूले पर्याप्त मात्रामा राहत नपाएको दुःखेसो पोखेका छन् । अत्यावश्यक सामग्री नपाउँदा कतिपय भूकम्पपीडित बिरामी पर्न थालेका छन् ।
प्रकाशित मितिः २४ कार्तिक २०८०, शुक्रबार ०५:०५
साझा बिसौनी ।