राहतमा ढिलाइ नगर
जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको एक साता पुग्दैछ । तर यत्तिका दिनसम्म पनि भूकम्प प्रभावित सबैले आपतकालीन राहतका सामग्री पाउन सकेका छैनन् । कतिसम्म भने कैयन् भूकम्प पीडितले त्रिपालसम्म पाएका छैनन् । खुलाआकाशमूनि प्लाष्टिक लगाएर ओत लिइरहेका छन् । गास–बासको व्यवस्थापन हुन सकेको छैन । यद्यपि, भूकम्प प्रभावित क्षेत्रमा दैनिक भीआइपीहरूको घुमघाम चलिरहेको छ । राहतको पर्खाइमा बसेका पीडितहरू हेलिकप्टरमा राहत होइन, राष्ट्रपति र प्रधानमन्त्रीसहितका भीआईपीहरू आएको हेर्न बाध्य छन् । र, रातभर कठ्यांग्रिदो चिसोमा रात काट्न बाध्य हुन्छन् ।
भूकम्पले घरबारविहीन बनेका पीडितहरू खुला स्थानमा रात बिताउन बाध्य छन् । खाद्यान्नको अभावमा साँझ–बिहानको छाक टार्न मुस्किल भइरहेको छ । भूकम्पबाट प्रभावित क्षेत्रमा हिजोआज दिनहुँ हेलिकप्टर पुग्छन् । तर ति पीडितका लागि राहत लिएर होइन, भूकम्प प्रभावित क्षेत्रमा भीआईपीहरूलाई भ्रमण गराउन उडेका हुन् । यस्तो अवस्थामा पीडितलाई समयमै राहत सामग्री उपलब्ध गराउनुको साटो हेलिकप्टरहरू जिल्लामा आउने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलका नेताहरू ओसार्नमै व्यस्त छन् । यसले बरु प्रभावित क्षेत्रमा पीडितहरूलाई राहत सामग्री उपलब्ध गराउन र भत्किएका घरहरूको उत्खनन्मा सकस भइरहेको छ । अर्कोतर्फ प्रभावित क्षेत्रमा अवलोकन र निरीक्षणको नाममा भीआईपीहरूको हेलिकप्टर सयरले राज्यको स्रोत र साधनको पनि दोहन भइरहेको छ । भूकम्पबाट सबैभन्दा बढी क्षति बेहोरेको जाजरकोटका दुर्गम बस्तीमा सडक पुगेको छैन । जहाँ हेलिकप्टरबाट मात्र राहत सामग्री लैजानुपर्ने बाध्यता छ । तर, भूकम्पपछि उद्धार र राहतमा प्रयोग गर्ने भनिएका सेनाका हेलिकप्टरले राहत सामग्री बोक्न पाएका छैनन् । यसले गर्दा सडक नपुगेका क्षेत्रमा राहत सामग्रीको ढुवानीमा कठिनाइ भइरहेको छ । सडक नपुगेका र मानिसले बोकेर लैजान सम्भव नभएका बस्तीमा पीडितले त्रिपाल नै पाउन सकेका छैनन् ।
प्रभावित क्षेत्रको अवस्थाका बारेमा बुझ्नु वा स्थलगत अवलोकन गर्नु स्वभाविक हो । तर आपतकालीन अवस्थामा पीडितहरूलाई उद्दार र राहत दिनु महत्वपूर्ण हुन्छ । यस्तो बेला राहत वितरण कार्यलाई नै प्रभावित पार्नेगरी भिआईपीहरू हलिकप्टरबाट अवलोकन गरेर पीडितका वास्तविक समस्याहरू समाधान हुँदैन । अझ मन्त्री र नेताहरूको लस्करले विपद् व्यवस्थापनमा खट्नुपर्ने कर्मचारी र सुरक्षाकर्मीले पनि काम गर्न नपाउने अवस्था बनेको देखिन्छ । यस्ता कार्य तत्काल रोकिनुपर्दछ । भूकम्प प्रभावितहरूलाई राहत वितरणलाई प्राथमिकता दिनुपर्दछ । जुन जाजरकोट र रुकुमपश्चिममा प्रभावकारी ढंगले हुन सकिरहेको छैन ।
प्रकाशित मितिः २४ कार्तिक २०८०, शुक्रबार ०५:०३
सम्पादकीय ।