महँगीको मारमा तिहार
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ की जमुना थापा शुक्रवार बिहानै साल्ट्र ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय सुर्खेतमा पुगिन् । सुपथ मूल्यमा चिनी पाइन्छ भन्ने सुनेर आफू त्यहाँ पुगेको उनले बताइन् । तर उनी रित्तो हात घर फर्कनुप¥यो । उनले भनिन, ‘बजार मूल्य भन्दा कम मूल्यमा चिनी पाइन्छ भनेर यहाँ आए तर चिनी नपाइने रैछ । बजारमा चिनी पाइदैन, पाइएपनि महँगो छ ।’
शुक्रवार बिहान ११ बजेसम्म १२ जना उपभोक्ता कार्यालयमा चिनी लिन पुगेका थिए । उनीहरू सबै खाली हात फर्किएका छन् । तिहारको मुखैमा बजारमा चिनी अभाव भएको छ भने मूल्य पनि बढेको छ । चिनी अभावका कारण यसपटकको तिहार खल्लो हुने भएको छ । स्वदेशी उत्पादनको चिनी सकिएको र भारतलगायतबाट आयात हुने चिनी नआएका कारण चाडबाडकै बेला बजारमा चिनीको व्यापक अभाव देखिएको साल्ट्र ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।
आवश्यक प्रक्रिया पूरा गरी चिनी आयात गर्न समस्या रहेको साल्ट्र ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय सुर्खेतका प्रमुख नवराज अकौलियाले बताए । भारतले आयातमा रोक लगाएकाले चार्डपर्वमा चिनी ल्याउन नसकिएको उनको भनाइ छ । उपभोक्ताले बजारमा चिनीको ठूलो अभाव व्यहोर्ने अवस्था आएको छ । हाल प्रतिकेजी एक सय २० देखि एक सय ४० रूपैयाँ तिरेर उपभोक्ताहरूले चिनी उपभोग गरिरहेका छन् । साल्ट्र ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय सुर्खेतले चिनी अभावकै कारण बिक्री केन्द्रमा राखिएको मूल्य सूचीमा चिनी समावेश गरेको छैन् ।
चाडबाडमा मसलाको रूपमा अत्याधिक खपत हुने जिराको मूल्य दोब्बरभन्दा बढिले बढेको छ । चिनी र जिराको मूल्य वृद्धि भएको न्यू सन्ध्या स्टोरका सञ्चालक हिमलाल ढकालले बताए । उनका अनुसार गत वर्ष २०७९ मा जिराको प्रतिकिलो मूल्य चार सय ५० रूपैयाँ थियो । गत वर्षयता जिराको मूल्य तीन पटकसम्म बढेर हाल एक हजार दुई सय ५० रूपैयाँदेखि एक हजार चार सय रूपैयाँको हाराहारिमा पुगेको छ । उनले भने, ‘चैत २०७९ मा प्रतिकेजी जिराको मूल्य सात सय रूपैयाँ थियो । वैशाखमा जिराको मूल्य प्रतिकिलो आठ सय ५० रूपैयाँ थियो । अहिले एक किलो दाना जिराको मुल्य होलसेलमै एक हजार दुई सय नाघेको छ ।’ गत वैशाखमा चार सय रूपैयाँमा कारोबार हुने दाना जिराको मुल्य पाँच महिनामा नै तीन गुणाले बढेको हो ।
उपभोक्ताले भने हाल दाना जिराको लागि प्रतिकिलो एक हजार चार सयसम्म तिर्नु परिरहेको बताएका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. १ की सरिता रानाले दाल, चिनी र जिराको मूल्य अस्वाभाविक बढेको बताइन् । ९० रूपैयाँ प्रतिकेजीबाट चिनीको मूल्य बढेर एक सय ५० पुगेको उनको भनाइ छ । त्यस्तै, जिरा पाउडरको मुल्य बढेर प्रतिकिलो एक हजार तीन सय रूपैयाँ पुगेको छ । ‘तिहारमा चिनी र जिराको खपत बढी हुन्छ’ उनले भनिन्, ‘बजार भाउ छोइसक्नु छैन । आफूहरूलाई मर्का परेको छ ।’
कर्णाली प्रदेशकै ठूलो व्यापारिक केन्द्र वीरेन्द्रनगर बजारमा तिहारले चहलपहल थपिएको छ । प्रदेश राजधानीको बजार भएकाले पनि यहाँ किनमेल गर्नेको धेरै भिड लाग्छ । तिहारका लागि लत्ताकपडा, माला, मसला, दुनाटपरी, रंगोलीलगायत सामानले बजार भरिभराउ भएका छन् । वीरेन्द्रनगर बजारमा बाहिरी जिल्लाहरूबाट समेत ग्राहकहरू आउने गरेका छन् ।
शुक्रवार वीरेन्द्रनगर बजारमा भेटिएकी दैलेखकी अनिता थापाले आफू तिहारका लागि चाहिने सामान किन्न आएको बताइन् । अन्य बजारभन्दा यहाँ सामान सस्तो पाइनेभएकाले किनमेलका लागि आएको उनको भनाइ छ । ‘उताभन्दा सस्तो पाइएला भनेर आए’ थापाले भनिन्, ‘यता झन् हरेक सामान महँगो रहेछ ।’ गत वर्षभन्दा हरेक सामानको मूल्य बढेको पाइएको उनले सुनाइन् । चाडपर्वमा बजार भाउ ह्वातै बढ्दा निकै समस्या हुने गरेको थापाको भनाइ छ ।
दसैँको भन्दा तिहारमा दैनिक उपभोग्य सामानको मूल्य झनै बढेको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ की आरती भट्टराईले बताइन् । तिहारका लागि आवश्यक भाइमसला, दुनाटपरी र मालासमेतको मूल्य बढेको उनको भनाइ छ । उनले भनिन, ‘हरेक चिजवस्तुमा मूल्य बढेको छ । बजार भाउ छोइसक्नु छैन ।’
तिहारका लागि चाहिने सबै सामग्री बजारमै किन्न पाइने भएपछि गाउँमा सजिलै घर–आँगनमा उत्पादन गर्न सकिने फूलसमेत बजारबाटै खरिद गरेर लैजाने गरिएको छ । बजारमा प्लाष्टिकबाट बनाइएका मालाको व्यापार धेरै हुने गरेको हो । वीरेन्द्रनगरस्थित त्रिविक्रम स्टोर्सकी सञ्चालक यामुना केसीले विगत १५ वर्षदेखि यस्तै माला बेच्दै आएकी छन् । प्रत्येक वर्ष यस्ता मालाको मूल्य बढ्दै गएको उनी बताउँछिन् । ‘मैले सुरुका वर्षहरूमा १५ रूपैयाँदेखि ५० रूपैयाँमा माला बेचेको हो,’ उनले भनिन्, ‘अहिले तिनै मालालाई दुईसयदेखि एक हजार दुईसयसम्म पर्छ ।’ प्लाष्टिकका (कृत्रिम) माला बजारमा जहाँत्यही सहजै उपलब्ध हुने भएकाले पनि यसप्रति उपभोक्ताहरूको आकर्षण बढेको हो । पछिल्ला वर्षहरूमा सुर्खेतमा मात्र नभइ कर्णालीका हिमाली जिल्लाका बजारहरूमा पनि यस्ता माला छ्याप्छ्याप्ती पाइने गरेका छन् । कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पासम्म प्लाष्टिकका मालाको प्रयोग बढ्दो छ । पछिल्ला वर्षहरूमा बजारमा हजारी फूलको माला बेच्न राखेपनि बिक्री हुनै मुस्किल हुन्छ ।
लोकेश कस्मेटिक पसलकी सञ्चालक लक्ष्मी आचार्यले यो वर्ष चार लाख मूल्य बराबरको प्लाष्टिकका माला खरिद गरेको बताइन् । गत वर्ष आठ लाख बराबरको माला खरिद गरेको भन्दै उनले बिक्री हुने सामान यो वर्ष ल्याइएको सुनाइन् । उनले भनिन्, ‘विशेष गरेर तिहारमा माला, भाइमसलाको बढी बिक्री हुन्छ । तीमध्ये अधिकांश सामान भारत र चीनबाट आयात हुन्छन् । यो वष कम मात्र सामान राखेको छु ।’ हरेक सामानमा ५० देखि एक सय रूपैयाँसम्म मूल्य बढेर आएको उनले बताइन् ।
प्रकाशित मितिः २५ कार्तिक २०८०, शनिबार ०५:०५
साझा बिसौनी ।