सावधानी अपनाऊ

शुक्रवार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर रातिको ११ः४७ बजे ६.४ म्याग्निच्युडको भुकम्प गयो । भुकम्पले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ । एक सयभन्दा धेरैले ज्यान गुमाएका छन् । सयौंको संख्यामा घाइते भएका छन् । हजारौँ घरसहितका संरचना भत्किएर क्षतिग्रस्त बनेका छन् । ठूलो भयसहित मध्यरातमा आएको भुकम्पले ठूलै क्षति छोडेर गएको छ । २०७२ को भुकम्पपछि नेपालमा भएको सबभन्दा ठूलो मानवीय र भौतिक क्षति हो, यो ।

नेपाल यसैपनि भूकम्पको जोखिमयुक्त क्षेत्र मानिन्छ । त्यसमा पनि पश्चिम नेपाल अझ जोखिमपूर्ण छ । यो क्षेत्रलाई केन्द्रविन्दु बनाएर ठूलो भुकम्प नगएको निकै लामो समय भइसकेको छ । २०७२ को महाभुकम्पको समयमा पनि पश्चिम नेपाल कम प्रभावित भयो । त्यसअघि १९९० को अर्को ठूलो भूकम्प पनि पूर्वी नेपालमा केन्द्रित थियो । पश्चिम नेपालमा पटक–पटक साना तथा मझौला भुकम्पका धक्का भने महसुस हुँदै आएका थिए । जाजरकोट, डोटी, बाजुरा, बझाङ, दार्चुला, अछाम, डोल्पा लगायतका दुर्गम जिल्लालाई केन्द्रविन्दु बनाएर लगातार भुइँचालो कम्पन महशुस हुँदै आएको थियो । तर ठूलो भुकम्प आइसकेको थिएन । भूकम्पविद्हरूका अनुसार शुक्रवारको भुकम्प पनि मझौला खालका भुकम्प हो । अर्थात् यसले ठूलो मानवीय क्षति निम्त्याउनु नपर्ने हो । तर कर्णालीका दुई जिल्लामा अकल्पनीय क्षति हुन पुग्यो । यसले के देखाउँछ भने यहाँका भौतिक संरचनाहरू निकै कमजोर छन् । घरसहितका भौतिक संरचना नै कमजोर हुँदा भुकम्पको साना भन्दा साना धक्कामा पनि क्षति हुने गरेको छ । शुक्रवार राति त्यही भयो । ठूलो क्षति नपु¥याउने आकलन गरिएको भुकम्पमा नै ठूलो क्षति भयो । थुप्रै घरहरू भत्किए ।

कर्णाली प्रदेशमा अहिले पनि भुकम्पप्रतिरोधी घरहरूको संख्या कम छ । घाम–पानी छेक्ने ओतका रूपमा मात्रै थुप्रै घर बनाइएको हुन्छ । त्यसमाथि आर्थिक तथा सामाजिक अवस्थाले पनि कम खर्चिला भवन बनाउने गरिएको छ । र, यही कारण मझौला खालका भुकम्प पनि ति संरचनाहरूले धान्न नसक्ने अवस्था निम्तिएको हो । यसै पनि भूकम्पको जोखिममा रहेको यस क्षेत्रमा घर तथा अन्य भौतिक संरचनाहरू बनाउन सावधानी अपनाउनुपर्ने देखिन्छ । भूकम्पप्रतिरोधी बनाउन सकेमा साना तथा मझौला खालका भूकम्पहरूले मानवीय क्षति पु¥याउन सक्ने अवस्था बन्दैन । त्यसैले नागरिकहरू स्वयम् पनि यसतर्फ सचेत हुन जरुरी छ भने सरकारले पनि सुरक्षित र भूकम्पप्रतिरोधी आवासको सुनिश्चिताका लागि पहल गर्न उत्तिकै अपरिहार्य देखिन्छ । जसले गर्दा भविष्यमा हुनसक्ने भुकम्पको अर्को जोखिमबाट जोगिन सघाउ पुगोस् ।

प्रकाशित मितिः   १९ कार्तिक २०८०, आईतवार ०९:३५