भूकम्पले भग्न रुकुम–जाजरकोट

एक सय ५२ जनाको मृत्यु, दुई सय बढी घाइते

सुर्खेत: शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशको दुई जिल्लामा ठूलो क्षति पु¥याएको छ । राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६ दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । जसबाट जाजरकोट र रूकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति भएको हो ।

भूकम्पमा परेर डेढ सयभन्दा बढीले ज्यान गुमाएका छन् भने सोही संख्या हाराहारीमा घाइते भएका छन् । शनिवार राति यो समाचार तयार पार्दासम्मको विवरणअनुसार दुई जिल्लामा गरेर एक सय ५७ जनाको मृत्यु भएको छ । एक सय ६६ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय पाँच जना र रूकुमपश्चिममा ५२ जनाको मृत्यु भएको हो ।

अधिकांश घरहरू क्षतिग्रस्त, जुट्दै राहत

घाइते हुनेहरूमा जाजरकोटमा ८१ जना, रूकुमपश्चिममा ७९, दैलेख र जुम्लामा तीन÷तीन जना छन् । शनिवार बिहानैदेखि उद्धार गरेर घाइतेहरूको स्थानीय अस्पतालका साथसाथै कर्णाली प्रदेश अस्पताल सुर्खेत, भेरी अस्पताल बाँके र काठमाडौंमा उपचार भइरहेको छ । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्काले अस्पतालमा ५० बेड भूकम्पबाट घाइते भएकाहरूको लागि छुट्याइएको समेत जानकारी दिए । उनले भने, ‘पर्याप्त जनशक्ति उपचारका लागि खटाएका छौँ । २४ जना घाइतेको उपचारको भइरहेको छ ।’

स्थानीयवासीको सहयोगमा प्रहरीले घाइतेहरूको उद्धार गरेको हो । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेका छन् । नेपाल प्रहरीले आफ्ना आठ सय ६० जना जनशक्ति खटिएको जनाएको छ ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट छिमेकी जिल्लाहरूसमेत प्रभावित भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार जुम्ला र दैलेखमा गरी ६ जना घाइते भएका छन् । दैलेखमा तीन र जुम्लामा तीन जना सामान्य घाइते भएको प्रहरीको भनाइ छ । दैलेखका घाइते तीन जनामध्ये एक जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । ती जिल्लाहरूको भौतिक संरचनामा समेत क्षति पुगेको छ ।

 

 

राहत एवम उद्दारमा प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले उद्धारपछि राहत वितरणका कामहरू थालेको छ । सरकारले भूकम्पमा परि घाइते भएकाहरूको उद्धार कार्य अन्तिम चरणमा पुगेसँगै राहत वितरणको काम अघि बढाएको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आवश्यकताका आधारमा राहत वितरण सुरु गरिएको जानकारी दिए । घाइतेको उपचार, सुरक्षित बासस्थानको व्यवस्था र राहत सामग्री ढुवानीको काम गरिरहेको मन्त्री जिसीले जानकारी दिएका छन् । प्रदेश सरकारको विपद् व्यवस्थापन समितिको शनिवार बसेको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत एवम् उद्धारका लागि आवश्यक रकम खर्च गर्ने र जनतालाई तत्काल सरकार भएको महशुस गराउने निर्णय गरेको थियो । सोहीबमोजिम प्रदेश सरकारले अहिले धमाधम बिरामी ओसार्ने, उपचारका लागि हरेक पालिकामा स्वास्थ्यकर्मी पठाउने अत्यावश्यक खाद्य सामग्री पठाउने कामलाई तीव्रता दिएको छ । उनले भने, ‘दुई पटक हेलिकप्टरमार्फत खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाएका छौँ । अन्य थप सामग्री पठाउने तयारी गरिएको छ । विभिन्न संघ–संस्था र स्थानीय तहमार्फत पनि सहयोग भइरहेको छ ।’

 

संघीय सरकारद्वारा दश करोड

भूकम्प प्रभावितको खोज/उद्धार र राहत व्यवस्थापनका लागि संघीय सरकारले दश करोड रूपैयाँ पठाउने निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिवार बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही पाँच÷पाँच करोड रूपैयाँ पठाउने निर्णय गरेको हो । गृह मन्त्रालयका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय भएको हो । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ ।

यसैबीच कोशी प्रदेश सरकाले भूकम्प पीडितका लागि एक करोड रूपैयाँ र आवश्यक राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ भने बागमती प्रदेश सरकारले पनि एक करोड ५० लाख रूपैयाँ सहयोग गर्ने भएको छ ।

गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भूकम्प प्रभावितहरूको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहितको टोली पठाइएको हो । लुम्बिनी प्रदेश सरकारले राहतस्वरूप कर्णाली प्रदेश सरकारलाई एक करोड ५० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

 

प्रकाशित मितिः   १९ कार्तिक २०८०, आईतवार ०५:०५