नेपाल टी–२० विश्वकपमा

काठमाडाै: नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप २०२४ का लागि छनोट भएको छ । आइसिसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि पुनः विश्वकपमा छनोट भएको हो ।

शुक्रवार मुलपानी मैदानमा भएको सेमिफाइनल भिडन्तमा नेपालले युएईमाथि आठ विकेटको सानदार जित निकाल्यो । युएईले दिएको एक सय ३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गरे । उनले नटआउट ६३ रन बनाए । कप्तान रोहित पौडेलले नटआउट ३५ रन बनाए । ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भएका थिए । गुल्सन झा २२ रनमा बोल्ड भए । टस जितेर पहिले ब्याटिङ गरेको युएईले नौ विकेटको क्षतिमा एक सय ३४ रन जोड्यो । बलिङमा नेपालका कुशल मल्लले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट लिए ।

नेपाल यसअघि सन् २०१४ को टी–२० विश्वकपमा पुगेको थियो । बंगलादेशमा भएको विश्वकप खेलेर नेपालले इतिहास बनाएको थियो । विश्वकप खेलेपछि नेपाली क्रिकेटको उचाइ बढ्दै गइरहेको छ । सन् २०१५ को विश्व छनोटमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन । आयरल्यान्ड र स्कटल्यान्डमा भएको प्रतियोगितामा समूहको पुछारमा रहँदै बाहिरिएको थियो । सन् २०२१ मा युएईमा भएको विश्वकपका लागि २०१९ मा सिंगापुरमा एसिया छनोट खेल भएको थियो । जहाँ नेपालले खराव प्रदर्शन गर्दा सन् २०१२ पछि विश्व छनोट खेल्ने अवसर गुमाएको थियो । त्यसैगरी सन् २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपको छनोटमा पनि नेपाल सफल भएन । दुई वर्षअघि ओमानमा भएको छनोटमा नेपालले समूह चरणमा सहज जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो । तर सेमिफाइनलमा जिते हात पारे विश्वकपमा पुग्ने खेलमा भने नेपाल असफल भयो । फागुन २०७८ मा ओमानमा भएको सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित हुँदा आठ वर्षपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो ।

नेपालले सन् २०२४ को विश्वकपमा छनोट हुन यसपटक लागि चार टिम सम्मिलित समूहमा सुरूमा शीर्ष दुईमा प¥यो । घरेलु मैदानमा भएको सेमिफाइनलमा युएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भयो । यससँगै नेपालले १० वर्षमा दोस्रो पटक विश्वकप खेल्न लागेको हो । अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन् । पहिलो पटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी–२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन् । सन् २०२४ को टी–२० विश्वकपमा १२ टिम सिधै छनोट भएका छन् भने ८ टिमले क्षेत्रीय छनोट चरण पार गर्दैछन् । गत वर्षको अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा भएको टी–२० विश्वकपको शीर्ष ८ टिम २०२४ को विश्वकपका लागि सिधा छनोट भइसकेका छन् । जसमा अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले शीर्ष आठमा परेर २०२४ को विश्वकपका लागि स्थान पक्का गरिसककेका छन् ।

अमेरिका र वेस्ट इन्डिज आयोजकको हैसियतमा छनोट भइसकेका छन् । अमेरिकाले पहिलो टी–२० विश्वकप खेल्दैछ । १४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई अर्को छनोटको आधार मानिएको थियो । जसबाट अफगानिस्तान र बंगलादेशले टी–२० विश्वकपमा स्थान बनाइसकेका छन् ।

प्रकाशित मितिः   १८ कार्तिक २०८०, शनिबार १०:१३