देश, युवा अवस्था र आउने पुस्ता

युवाको सन्बन्धमा लेख्दा ‘युवा को हुन् ?’ भन्ने सवाल उठ्दछ । मुलतः युवाको वर्गीकरण उमेरअनुसार गरेको पाइन्छ । उमेर समूहअनुसार नेपालमा १६–४० वर्ष उमेर समूहलाई युवा मानिन्छ । बंगलादेशमा १५–३० उमेर समूहलाई युवा मानिन्छ । फिलिपिन्समा पनि १५–३० उमेर समूहलाई युवा मानिन्छ । छिमेकी मूलुक भारत र चीनमा क्रमशः १६–२९, १८–३५ उमेर समूहलाई युवा मानिन्छ । जर्मनीमा १४–२६ उमेर समूहलाई युवा मानिन्छ । दक्षिण अफ्रिकामा १५–२९ उमेर समूहलाई युवा मानिन्छ ।

त्यसैले पनि युवाको परिभाषा निर्माण गर्दा युवा उमेर मात्र नभइ सोच, ऊर्जा र समय हो भन्ने गरिन्छ । अझ केही गरी देखाउनेहरूका लागि उमेर अङ्क मात्र हो भन्छन् । यति भए युवाको परिभाषा पुग्छ ।

अब अर्को सवाल ‘युवाले के गर्न सक्छन् ?’

युवालाई परिवर्तनको संवाहक भनिन्छ । देशको धरोहर पनि भनिन्छ । हरेक देशको विकासमा युवाको प्रत्यक्ष–अप्रत्यक्ष सहभागिता रहँदै आएको पाइन्छ ।

यसरी लेखेपछि बढी आशावादी हुने सम्भावना बढ्छ । अमुर्त शब्दहरूको प्रयोग गरेर, कविता, कथा, उपन्यास जस्ता विषयहरूले पनि ऊर्जा दिन्छन्, आशा दिन्छन् । तर बढी आशावादी हुनु पनि हानिकारक हुनसक्छ । तसर्थ युवाको एउटै मात्र पक्षलाई हेरेर परिभाषा वा आशाको ज्योति फैलाउनु कत्तिको जायज हुन्छ ?

उदास मन, ऊर्जावान शरीर र अन्यौल दिमाग बोकेर कोही जिन्दगीको म्याराथन दौडिरहेको छ भने त्यो बेरोजगार युवा हुनुपर्छ । उसलाई सोधी हेर्नुहोस्, ‘तिमी के चाहान्छौँ ?’ ऊ आत्मविश्वासका साथ भन्नेछ, ‘एउटा जागिर दिनुस् । त्यसपछि म तपाईंलाई जागेर देखाउनेछु ।’ उसले कयौं पटक प्रेमिकासँग कल्पनाको उडानमा आकाशको तारा झारिसकेको हुन्छ । र पनि ऊ यति लाचार हुन्छ कि जागिरका लागि उसलाई हरेक दिन विज्ञापनमा चियाउनु पर्ने हुन्छ । उसको दैनिकी र विज्ञापन सधैजसो भेटिने–छुटिने साथी बन्छन् । ऊ एउटा यस्तो दिनको प्रतिक्षामा हुन्छ, जुन दिन उसले आफूले खोजेको जागिर पाउनेछ । ऊ संसारकै सबैभन्दा भाग्यमानी मान्छे हुनेछ । त्यसपछि क्रमश उसका सपनाहरू पूरा हुँदै जानेछन् । के साच्चै यस्तै हुन्छ ?

अर्को युवा हुन्छ, परिवर्तनको अपेक्षा गरेको, विद्रोह चाहाने, विरोध गर्न रुचाउने । यो युवाले आफ्नै बलबुतामा केही गरेर देखाउने सयौं कोसिस गर्छ । जताततै मौलिएको राजनीतिले हरेक कार्यालय र काममा जरा गाडेको थाहा हुन्छ । अनि यो युवा अन्त्यमा कि त पार्टीको कार्यकर्ता बन्छ कि त विदेश पलायन हुन्छ । सम्भावना र सपनाका कुरा गर्दागर्दै एकदिन धैर्यताको बाँध टुट्छ अनि देशभक्ति कता छुट्छ–छुट्छ । यो अहिलेको वास्तविकता होइन, वर्षौंदेखि चल्दै आएको तितो यथार्थ हो । र, पनि यही यथार्थको भोगी बनी बाँचिरहनु परेको छ ।

अब सवाल उठ्छ, के युवाले खोजेको देश यही हो त ? पक्कै होइन । त्यसोभए युवाले खोजेको देश कस्तो हो ?

विकसित देशहरूको उदाहरण हेर्ने हो भने पनि ठ्याक्कै सफल देश यही हो भन्न सकिदैन । किनभने समय अनकूल हरेक देशले विभिन्न समस्याहरूको सामना गरिरहनुपरेको छ । र, त्यसको समाधान पनि भइरहेको छ । हामीले विकसित देश पनि कुनै देशलाई यसकारण भनिरहेका छौँ, अर्को देशसँग तुलना गरेर उक्त देशहरूको तुलनामा विकसित भनिने देश बढी सामाजिक, सांस्कृतिक, आर्थिक र नीतिगत रूपमा सबल र सक्षम छन् । देशको प्रतिव्यक्ति आय बढी छ । नागरिकहरू सन्तुष्ट छन् ।

विकसित देशमा प्रणालीको राम्रो पालना भएको देखिन्छ । उनीहरू कागजमा लेख्दैनन् मात्र कार्यान्वयन पनि गर्छन् । यो देश नीति बनाउने र नीति पढ्नेहरू कसैले कार्यान्वयन नगर्ने देश हो । हामी नीति–नियम बनाउन र पढ्नमा धेरै समय दिन्छौँ । कार्यान्वयन गर्ने समयमा झन् बढी समय दिन्छौँ । त्यसैले हाम्रो देशलाई विकाशोन्मुख देश भनिन्छ । परिवर्तन रातारात हुँदैन । समय लाग्छ । तर, त्यसका लागि निरन्तर गति र प्रगतिको आवश्यकता पर्दछ ।

कुनैपनि देशको शैक्षिक अवस्था राम्रो भएन भने उक्त देशको विकासको कल्पना पनि गर्न सकिँदैन । सहि शिक्षाले नागरिकको चेतनास्तर वृद्धिमा भूमिका खेल्छ । र, तिनै नागरिकहरूको पहलमा देश विकास हुने हो । यहाँ के भइरहेको छ भने ८–१० कक्षा पढेको व्यक्ति नेता बनिरहेको छ र उसले नै कानुन, नीति–नियम बनाइरहेको छ । यस्ता नेताहरू भ्रष्ट सोच र कुटिनीतिक दिमागका हुन्छन् । जसको परिणामस्वरूप देश दिशाविहीन बन्न पुग्छ । राजनीतिक अस्थिरता भइरहन्छ ।

एउटा व्यक्ति जन्मको केही समयसम्म आफ्नो सुखद समयको भरपुर उपयोग गरिरहेको हुन्छ । उक्त समयमा देशको १६–४० उमेर समूह आफूलाई बनाउने, देश बनाउने विभिन्न सपनाका परिकल्पनाहरू सजाएर हिँडिरहेको हुन्छ । यो उमेर समूह धेरै प्रयास र प्रयोग गरी हेर्छ । आफूले अपेक्षा गरेको प्रयास र प्रयोग कतैबाट पनि सफल हुने नदेखिएपछि दोषारोपण गर्न सुरु गर्छ । ऊ विभिन्न मानसिक अवस्था पार गरिरहेको हुन्छ । जसको परिणाम सकारात्मकभन्दा नकारात्मक बढी देखिन्छ । यो युवा समूह जसोतसो गरेर वैवाहिक जीवनमा बाँधिएर जिविकोपार्जन गर्नतर्फ प्रस्थान गरिरहेको हुन्छ । सँगसँगै दोषारोपणको कार्य पनि जारी रहन्छ ।

अर्को पुस्ता जुन बचपनमै थियो । यो अब जवान भइसकेको हुन्छ । १६–४० उमेर समूहमा आइसकेको हुन्छ । क्रमिक विकासको रूपमा हेर्ने हो भने अघिल्लो पुस्ताभन्दा पछिल्लो पुस्ता बढी सिर्जनशील, सूचना बढी र अधैर्य हुने हुनसक्छ । यस्तो अवस्थामा जुन कुनै समयमा युवा थिए उनीहरूलाई यो पुस्ताले गाली गर्छन् । युवालाई परिवर्तनका संवाहक नारा बनाउने तर केही पनि परिवर्तन नगर्ने ? तिमीहरू जस्तो युवा यो देशमा हुनुले र नहुनुले केही फरक पर्दैन । तिमीहरू जिउँदो मूर्दा हौँ । तिमीहरूले अलिकति पनि प्रयास गरि हेरेनौँ । अलिकति पनि विकास गरेनौँ । देश पूरै खण्डहर बनाइदियौँ । यो देशको सम्पूर्ण जिम्मेवारी तिम्रो काँधमा थियो । के गरेको यस्तो ? यस प्रकृतिका मनोभाव यो पुस्ताम चल्छन् र चल्नु पनि जायज हो ।

अघिल्लो पुस्ताले यस प्रकृतिका भडास सुन्ने मात्र हो । प्रतिक्रिया दिने होइन । किनभने यो पुस्ताले के गर्छ त्यो त हेर्न बाँकी छँदैछ । संसारमा सजिलो मानिने दुईवटा काम छन्–एउटा अरुलाई सल्लाह दिने, अर्को अरुलाई दोष दिने । आउने पुस्ताले गालि गर्नु अगाडि नै उनीहरूलार्ई विद्यालय अवस्थामा नै सहि शिक्षा दिऔँ । यो ढुक्क भएर भन्न सकिन्छ । यसपछिको पुस्ता सहेर बस्ने छैन । परिवर्तनका लागि, आफ्नो हक अधिकारका लागि, देश विकासका लागि लड्ने छ ।

अब देश विकासका सबै मापदण्डहरूलाई सन्तुलन गर्दै आउने पुस्ताको भविष्य सुनिश्चित गर्न नेपालको विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य कार्यान्वयनमा काम गरौँ । नेपालको विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्यमा निम्न व्यवस्था गरिएको छ –

१. प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व विकास गर्ने
२. राष्ट्र र राष्ट्रियताप्रति निष्ठावान्, संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य मान्यताप्रति प्रतिबद्ध, स्वाभिमानी, सामाजिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने, चरित्रवान् एवम् जिम्मेवार नागरिक तयार गर्ने
३. श्रमप्रति सम्मान एवम् सकारात्मक सोच भएका, रोजगार तथा स्वरोजगारउन्मुख, उत्पादनमुखी, उद्यमशील र सिपयुक्त नागरिक तयार गर्ने
४. व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक सद्भाव तथा सहिष्णुता र राष्ट्रिय एकता सुदृढ गर्न सहयोग पु¥याउने
५. प्राकृतिक तथा राष्ट्रिय सम्पदा र पर्यावरणको संरक्षण, संवद्र्धन र सदुपयोग गर्दै दिगो विकासमा योगदान गर्ने सचेत नागरिक तयार गर्ने
६. प्रत्येक व्यक्तिमा शान्ति, मानव अधिकार, समानता, समावेशिता र सामाजिक न्यायका मान्यता अनुरूपको आचरण विकास गरी समतामूलक, समावेशी, न्यायपूर्ण र समाजवाद उन्मुख राष्ट्र निर्माणमा मद्दत गर्ने
७. राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धी, आधुनिक सूचना तथा सञ्चार प्रविधि प्रयोग गर्न सक्ने विश्व परिवेश सुहाउँदो दक्ष जनशक्ति तयार गर्ने
८. वैज्ञानिक अवधारणा, तथ्य, सीप, सिद्धान्त तथा प्रविधिको प्रयोग गर्न सक्ने वैज्ञानिक सुझबुझ भएका तथा अनुसन्धानमुखी जनशक्ति तयार गर्ने
९. रचनात्मक तथा समालोचनात्मक चिन्तन गर्ने, जीवनोपयोगी सीप भएका सहिष्णु र भाषिक सक्षमतामा निपूर्ण नागरिक तयार गर्ने
१०. नेपाली मौलिक कला, संस्कृति, सौन्दर्य, आदर्श तथा वैशिष्ट्यहरूको संरक्षण, संवद्र्धन र विस्तारतर्फ अभिप्रेरित भएका नेपालको इतिहास, भूगोलको ज्ञान भएको, नेपाली पहिचान र जीवनशैलीप्रति गौरव गर्ने नागरिक तयार गर्ने
११. जलवायु परिवर्तन तथा प्राकृतिक एवम् मानव सिर्जित प्रकोपप्रति सचेत रही सम्भावित जोखिम न्यूनीकरण तथा विपत् व्यवस्थापन गर्न सक्षम नागरिक तयार गर्ने
१२. सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र, निर्माणका निम्ति आवश्यक मानव संसाधनको विकास गर्ने ।

प्रकाशित मितिः   १६ कार्तिक २०८०, बिहीबार ०५:००