दसैँमा घर पुग्नै मुस्किल

बसपार्कमा यात्रुको चाप, टिकट पाउनै घण्टौ लाइनमा

सुर्खेत: मानिसहरूको भिडभाड बढेको छ । जता हे¥यो त्यतै मानिसहरूकै ताँती देखिन्छ । कोही लाइनमा उभिएका छन्, कोही यताउता दौडिरहेका छन् । कोही कसैलाई पर्खिरहेका छन् भने कोही हतारमा देखिन्छन् ।

यो दृश्य हो, वीरेन्द्रनगर बसपार्कको । केही दिनयता बसपार्कको दृश्य नै बदलिएको छ । दसैँ नजिकिएसँगै यात्रुहरूको चाप ह्वात्तै बढेको छ । दसैँ मनाउन घर फर्किनेहरूको भिडले बसपार्कमो बेग्लै रौनक छाएको छ । यद्यपि, यही रौनकबीच यात्रुहरूलाई सास्ती पनि भएको छ । कतिले टिकट नै पाएका छैनन् । टिकटै लागि बसपार्क धाइरहनु परेको उनीहरूको गुनासो छ ।

रोजगारीका लागि दैलेखको भैरवी गाउँपालिकाबाट सुर्खेत झरेकी विपना थापा टिकट काट्नका लागि शनिवार नै बसपार्क पुगेकी थिइन् । तर दिनभर बसपार्कमा बिताएकी उनले टिकट पाइनन् । आइतवार एकाबिहानै पुनः बसपार्क पुगेपछि मात्रै गाउँ जाने गाडीको टिकट उनको हातमा प¥यो । ‘शनिवार टिकट नपाएर दिनभर बसपार्कमा बित्यो’ बसपार्कमै भेटिएकी उनले सुनाइने, ‘आइतवार टिकट लिएर बसेको गाडी अलि ढिला जाने रहेछ पर्खनुप¥यो ।’ लामो समय लाइनमा बिताएपछि मात्रै टिकट पाउन सफल भएको थापाले बताइन् । उनले भनिन् ‘अघिल्लो दसैँमा घर गएको थिएँ, एकवर्षपछि आज जाँदैछु । दसैँ मनाउन तर टिकट पाउनै सास्ती बेहोर्नुप¥यो ।’

सुर्खेतमा बसेर पढ्दै गरेकी लक्ष्मी थापा पनि आफ्ना दाजुभाउजुसँग कालीकोट जान सामान लिएर बसपार्कमा बसेकी थिइन् । ‘शुक्रवार टिकट काटेर आइतवार घर जानको लागि आएको हुँ’ उनले भनिन्, ‘कलेज छुट्टी भयो, अब तिहारसम्म गाउँमै भइन्छ ।’ दुई दिनअघि नै टिकट काटेको भएपनि सजिलै सीट नपाइएला कि भनेर आइतवार बिहान ६ बजे नै बसपार्कमा आएर बसेको थापाले सुनाइन् । उनले भनिन्, ‘आफूले टिकट काटेको सीटमा अरु नै बसिदिँदा समस्या हुन्छ । त्यसैले बिहानै बसपार्क आएको छु, गाडी कतिबेला जान्छ ठेगान छैन ।’

घटस्थापनासँगै यात्रुको चाप बढेको छ । यात्रुको चाप बढ्दा टिकट काट्न समेत घण्टौँ कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । काठमाण्डौंमा बसेर अध्ययन गर्ने आठबिस नगरपालिका दैलेखका चित्र बडुवाल सुर्खेतमै बसेको दुई दिन भइसक्यो । शुक्रवार काठमाडौंबाट सुर्खेत आइपुगेका उनले दुई दिनसम्म गाडीको टिकट पाउन सकेनन् । अत्यधिक भिड हुँदा आइतवार भने कालीकोटको जितेसम्मको टिकट काटेर भएपनि घर जाने बताए । ‘राकम कर्णालीसम्म मात्र छुट्ने बस छैन’ उनले भने, ‘सीट नपाएर उभिएर जानका लागि टिकट लिएको छु । अन्य समयमा आठ सय तिरेर घरमा पुग्ने गरेको भएपनि यो पटक एक हजारमा टिकट लिएँ ।’ गाउँ जान गाडी पाउनै सकस हुनेगरेको उनले बताए ।

अध्ययन, जागिर र व्यवसायको लागि जुम्ला, कालीकोट, दैलेख, मुगु, डोल्पा, हुम्ला, रूकुमपश्चिम, सल्यान, जाजरकोटलगायतका जिल्लाका नागरिकहरू सुर्खेतमा रहेका छन् । रोजगारीका लागि भारत र अध्ययनका लागि विभिन्न जिल्ला पुगेका विद्यार्थीहरूको घुइचो पनि उत्तिकै देखिन्छ । जाजरकोट जान हिँडेका सविन थापाले गाडीको टिकट पाउन सकेका छैनन् । उनी आइतवार सुर्खेत बसपार्कमा भेटिएका थिए । ‘सबै गाडीमा यात्रु भरिभराउ छन् । घर पुग्न गाडी नै पाइएको छैन’ उनले भने,‘सोमवारको टिकट पाइयो भने लिनुपर्ला ।’ बिहानैदेखि जाजरकोटका लागि धेरै गाडी छुटेपनि सिट नहुँदा जान नपाइएको उनले सुनाए ।

बसपार्कमा विशेष गरि दैलेख र कालिकोटको टिकट काउन्टरमा यात्रुको भिड बढी नै थियो । सबै भन्दा बढि दैलेख जाने यात्रुहरू हुने गर्दछन् । सुर्खेतबाट दैलेखका विभिन्न ठाउँका लागि नियमित रूपमा दैनिक २८ वटा बस छुट्ने गर्दछ । तर दसैँको बेलामा थप गाडीको व्यवस्था गरिएको संयुक्त यातायातका संयोजक नारायण चपाईले बताए ।‘शनिवार र आइतवारदेखि घर जाने यात्रुहरूको भिड छ,’ उनले भने, ‘नियमित क्यु भन्दा बाहेक प्रत्येक रुटमा १०–१२ वटा गाडी थप गरिएको छ । आइतवार साँझ सम्म ५० वटा जति गाडी थप्नुपर्ने हुन सक्छ ।’ कर्णालीका दशवटै जिल्लामा प्रत्येक रुटमा नियमित क्यु भन्दा १०–१२ गाडी थप गरिएको उनले बताए ।

सुर्खेतका ट्राफिक प्रहरी प्रमुख देवेन्द्रसिंह बुढाथोकीले केही दिनयता सवारी चाप बढेको बताए । ‘आइतवारदेखि विभिन्न रुटमा गाडीहरूको चाप अलि बढेको छ । शनिवार कर्णाली रजमार्गमा नियमीतभन्दा करिब ३० प्रतिशत बढी गाडी गुडेका थिए । आइतवार, सोमवारदेखि त्यो भन्दा बढी चाप हुनसक्छ’ उनले भने । गाडीको चापलाईं मध्यनजर गरि ठाउँ ठाउँमा चेकजाँच पनि बढाइएको बुढाथोकीले बताए । यस्तै नेपालगञ्जबाट सुर्खेत आउने गाडीमा सीट क्षमताभन्दा बढी यात्रु ल्याउँदा आइतवार मात्र १७ वटा गाडी बबईमा रोकिएका थिए ।

प्रकाशित मितिः   २९ आश्विन २०८०, सोमबार ०५:०५