उद्योगमा लगानी

पश्चिम सुर्खेतको चौकुनेमा सूर्यतारा समेन्ट उद्योग स्थापनाको काम थालिएको केही वर्ष बितिसकेको छ । दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालनका लागि सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीले स्वीकृति पाएको थियो । स्वीकृति पाएसँगै कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सुरु गरिसकेको थियो । तर बिचमै काम रोकियो । योजना अघि बढ्न सकेन । यसअघि नै काम थालिए पनि सरकारबाट सहयोग नपाएको भन्दै रोकिएको थियो । कर्णाली प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि पुनः उद्योग स्थापनाका लागि बाँकी काम अघि बढाउन लागिएको हो । उद्योग सञ्चालनको काम अघि बढाउन कर्णाली प्रदेश सरकारले सहयोग गर्ने भएको छ । आवश्यक भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेर काम अघि बढाइने जनाइएको छ ।

बराहताल गाउँपालिका वडा नं. ७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन् गर्ने र चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरिएको छ । करिब १५ अर्ब रूपैयाँ बराबरको लगानीमा उद्योग सञ्चालन हुन लागेको हो । लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरिसकेको छ । विद्युत, खानेपानी र पहुँच मार्गलगायतका भौतिक पूर्वाधार नभएको भन्दै उद्योगले काम रोकेको हो । प्रदेश सरकारले यिनै पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । सरकारले सहयोग गर्ने भएपछि कम्पनीले पनि लगानी जुटाउन पहल थालेको छ । ठूलो लागत लाग्ने भएपछि बाह्य लगानीको खोजी गर्न थालिएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा समेत ठूला उद्योग सञ्चालनका लागि पूर्वाधार सहयोग गर्ने जनाएको छ । सोही बमोजिम बजेट विनियोजन गरेर उद्योगको काम अघि बढाउन सहयोग गर्ने बताइएको छ । आयोजनाको काम लामो समयदेखि ठप्प भएको भन्दै मन्त्रालयले चासो राखेको हो । त्यहाँको बस्ती र उद्योग सञ्चालनका लागि खानेपानीको योजना अघि सारिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय अन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यक्रमको ३० लाख बजेटमा खानेपानीको योजना अघि बढाइनेछ ।

उद्योगका लागि जग्गा प्राप्ति, संरचना निर्माणलगायतका धेरै काम अघि बढिसकेको छ । विद्युत र पहुँच मार्ग निर्माणका लागि प्रदेशका सम्बन्धित मन्त्रालय र संघीय सरकारसँग समेत छलफल भइरहेको छ । विगत लामो समयदेखि चर्चामा रहे पनि पश्चिम सुर्खेतमा सिमेन्ट उद्योग स्थापनाको योजना ओझेलमा पर्दै आएको छ । औद्योगि विकासको नीति अनुसार तीनै तहका सरकारले लगानीको वातावरण बनाएर उद्योग सञ्चालनमा ल्याउन जरुरी देखिन्छ ।

प्रकाशित मितिः   २९ आश्विन २०८०, सोमबार ०५:०३