राप्रपा सुर्खेतमा खड्का निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतको अध्यक्षमा मानबहादुर खड्का निर्वाचित भएका छन् । दुई वटा राप्रपाबीचको एकीकरणपछि भएको प्रथम जिल्ला अधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।

मंगलवार सम्पन्न निर्वाचनमा खड्काले कविराम पुरीलाई एक मतले पराजित गरेका हुन् । मंगलवार राती सम्पन्न मतगणनाको परिणाम अनुसार खड्काले ७५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी पुरीले ७४ मत प्राप्त गरे निर्वाचन समितिका संयोजक नवराज खड्काका अनुसार जम्मा एक सय ६१ मत खसेकोमध्ये १२ मत बदर भएको थियो ।

सुर्खेतबाट २० जना सदस्य र एक अध्यक्ष अधिवेशनबाट र बाँकी ३५ प्रतिशत मनोनित गर्ने व्यवस्था भए अनुसार महिला, जनजाति, दलित सदस्यमा सर्वसम्मत् भए पनि खुलातर्फ १२ जना सदस्यहरूको लागि पनि मतदान भएको निर्वाचन समितिले जनाएको छ । खुलातर्फ निर्वाचित हुने सदस्यहरूमा जनकसिंह ठकुरी (१०५ मत), श्याम पुरी (१०१ मत), रामप्रसाद ढकाल (९२ मत), भीमबहादुर खड्का (९१ मत), अमृत राना (८९ मत), प्रेम बिसी (८९ मत), गंगाराम देउवा (८६ मत), कालीबहादुर चन्द (८३ मत), गणेशबहादुर थापा (७७ मत), धर्मराज ढकाल (७६ मत), देवीराम चन्दरा (७५ मत) र कमलप्रसाद आचार्य (६१ मत) रहेका छन् ।

त्यसैगरी सर्वसम्मत् चयन हुने सदस्यहरूमा जनजातिबाट ईश्वरकुमार श्रेष्ठ, दलित महिलामा पवित्रा विश्वकर्मा तथा अन्य महिला सदस्यहरूमा टीका योगी, क्षितिजासिंह ठकुरी, बीबीसरा राजी, कर्णकुमारी श्रेष्ठ, दिलु थापा र कौशीला बिक चयन भएका छन् ।
गत मंसिर ६ गते राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण भएको थियो । पार्टीको राष्ट्रिय एकता महाधिवेशन आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुँदैछ । जसको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा तहदेखि जिल्लातहसम्मका अधिवेशनहरू सम्पन्न गरेको छ ।

प्रकाशित मितिः   २७ माघ २०७३, बिहीबार ११:३८