क्याम्पसबाटै शक्तिको मापन

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्वयियु) को निर्वाचनमा नेतृत्व हात पार्नका लागि विद्यार्थी संगठनहरूले दौडधुप सुरु गरेका छन् । आउँदो फागुन १४ गते हुने उक्त निर्वाचनलाई आफ्नो पक्षमा पार्न विद्यार्थी संगठनहरू जुटेका हुन् । यतिबेला प्रायः सबै संगठनहरू विद्यार्थीलाई संगठित गर्दै फकाउने काममा व्यस्त रहेका छन् ।

सुर्खेतका विभिन्न सात वटा क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । यद्यपी त्रिभुवन विश्वविद्यालय अन्तर्गत वीरेन्द्रनगरमा रहेको सुर्खेत क्याम्पस शिक्षामा स्ववियुको नेतृत्व हात पार्नका लागि सबै विद्यार्थी संगठनहरू केन्द्रित भएका छन् । जिल्लाको सबैभन्दा ठूलो र धेरै विद्यार्थी अध्यनरत रहेकाले पनि शिक्षा क्याम्पसको स्ववियु निर्वाचनलाई सबैले आफ्नो शक्ति मापनको रूपमा लिएका हुन् । लामो समयदेखि स्थानीय निर्वाचन नहुँदा राजनीतिक दलहरूलेसमेत आफ्नो शक्तिमापन गर्ने थलो र अवसरका रूपमा यसपालीको स्ववियु निर्वाचनलाई लिएका छन् । यसकारण पनि यो निर्वाचन आफ्नो पक्षमा पार्न दलहरू नै अग्रसर भएका छन् ।

जिल्लाका सुर्खेत क्याम्पस शिक्षा, जनता बहुमुखी क्याम्पस विद्यापुर, भेरी शिक्षा क्याम्पस गुमी, गुर्भाकोट बहुमुखी क्याम्पस साहरे, शिखर बहुमुखी क्याम्पस रामघाट, राकम बहुमुखी क्याम्पस र अमरदीप क्याम्पस नेवारेमा स्ववियुको निर्वाचन हुने भएको हो । आठ वर्षपछि हुन लागेको स्ववियुको निर्वाचनमा विद्यार्थी संगठनहरू होमिएका हुन् । निर्वाचनको दिन नजिकिंदै जाँदा सुर्खेतमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु, र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै जनमोर्चा निकट अखिल छैठौं, नेमकिपा निकट नेक्राविसंघ, राप्रपा निकट र नयाँ शक्ति निकट विद्यार्थी संगठनले पनि आफ्नो क्रियाकलाप बढाएका छन् । यी संगठनहरूले आफ्नो साख जोगाउनका लागि क्याम्पसमा आफ्ना क्रियाकलाप बढाएका छन् ।

माऊ पार्टीले नै यो चुनावलाई आफ्नो प्रतिष्ठाको रूपमा लिएपछि विद्यार्थीहरूले क्याम्पसमा सक्रियता बढाएका हुन् । यतिबेला विद्यार्थी संगठनहरूले क्याम्पसमा भेला, संगठन विस्तार र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेका छन् । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हरिप्रसाद शर्मा भन्छन्, ‘हामी सम्पूर्ण रूपमा चुनावमा होमिएका छौं, यो हाम्रो प्रतिष्ठाको लडाईं हो । विद्यार्थी आन्दोलनका उपलब्धीलाई संस्थागत गर्न चुनाव अनिवार्य थियो, सबै मिलेर निर्वाचन सफल बनाउन आवश्यक छ ।’ लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलन कमजोर बनेको भन्दै उनले सुर्खेतमा निर्वाचन हुने सबै क्याम्पसमा आफूहरूले सक्रियता बढाएको जनाए । उनले थपे, ‘प्राविधिक शिक्षा र रोजगारमूलक शिक्षा हाम्रो मुख्य एजेण्डा हो, यसका लागि विद्यार्थीले हामीलाई भोट हाल्नेछन् ।’ साथै उनले निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न विद्यार्थी संगठनहरूबीच छलफल भइरहेको समेत जानकारी दिए ।

अनेरास्ववियु सुर्खेतका अध्यक्ष प्रेम खड्काले विगतको साख जोगाउन आफूहरू सक्रिय रहेको बताए । ‘विगतका निर्वाचनमा ठूला क्याम्पसमा हामीले जितेको थियौं, यसपटक त्यो साख कायमै राख्नेछौं’ उनले भने, ‘हामीले विद्यार्थीको हितमा काम गरेका छौं, विना धितो प्रमाणपत्र धरौटी राखेर ऋण पाउने व्यवस्था हाम्रो एजेण्डा हो । यसलाई कार्यान्वयन गर्न हामीले विजय हासिल गर्नुपर्छ, सुर्खेतमा हामीले नै जित्नेछौं ।’ उनले जिल्लाका क्याम्पसमा आफूहरूको ८० प्रतिशत जनमत रहेको दाबी गरे । स्ववियुको निर्वाचन परिणामले नै पार्टीको पनि शक्ति मापन गर्ने भएकाले आफूहरूले यसपाली नेतृत्व हात पार्नका लागि अभियान जारी राखेको उनको भनाइ छ । यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत र शैक्षिक ऋणको व्यवस्थालाई कार्यान्वयन गराउने आफूहरूको मुख्य मुद्दा भएको उनले जनाए ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष महेश जिसीले आफूहरूको सबै शक्ति चुनाव केन्द्रित भएको जनाए । उनले भने, ‘हामी क्याम्पसमा केन्द्रित भएका छौं, नेतृत्व हात पार्नका लागि आन्तरिक प्रयासहरू भइरहेका छन् । सकभर सर्वसम्मत् नेतृत्व चयनको प्रयास हुनेछ, यसका लागि हामीले अन्य संगठनसँग पनि छलफल जारी राखेका छौं ।’ निर्वाचन सफल बनाउनुपर्ने पहिलो दायित्व रहेको भन्दै उनले यसका लागि आफूहरू सचेत रहेको जानकारी दिए । विद्यार्थी आन्दोलनका उपलब्धीको रक्षा गर्दै क्याम्पसमा हुने भ्रष्टाचारको अन्त्य र विद्यार्थीमैत्री स्ववियु आफूहरूको मुख्य एजेण्डा रहेको उनको भनाइ छ । अधिकांश विद्यार्थी संगठनहरू चुनावको प्रचारमा जुटेको भए पनि मोहन वैद्य र विप्लवले नेतृत्व गरेका माओवादी निकट विद्यार्थी संगठनहरूले भने स्ववियुको निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा हुनुपर्ने माग गर्दै आएका छन् । (मिनी संसद) को रूपमासमेत लिइने स्ववियुको निर्वाचनलाई दलहरूले पनि आफ्नो प्रतिष्ठाको र साख जोगाउने अवसरको रूपमा लिएका छन् ।

प्रकाशित मितिः   २७ माघ २०७३, बिहीबार ११:४१