‘सुर्खेत विमानस्थलको विकल्प खोज्नैपर्छ’

सुर्खेत: उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलको विकल्प खोज्नैपर्ने बताएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको दसैँको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले अहिलेको विमानस्थललाई विस्तार गरेर मात्रै नपुग्ने बताएका हुन् । दीर्घकालिन विकल्पका रूपमा अर्को विमानस्थल बनाउनुपर्नेमा खड्काको जोड थियो ।

४०÷५० वर्षपछिको बढ्दो जनघनत्वको धान्न सक्ने गरी पूर्व–पश्चिम धावनमार्ग भएको अर्को ठूलो विमानस्थल चाहिने बताए । त्यसका लागि अहिलेको विमानस्थल विस्तारले पनि समस्या समाधान नहुने उनको तर्क थियो । ‘हामीले जतिसुकै चाहे पनि ठूलो जहाज अवतरण हुनसक्ने गरी यो विमानस्थल विस्तार हुन सक्दैन’ उनले भने ।

त्यसैगरी खड्काले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकताबद्ध भएर लाग्नुपर्ने बताए । एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने बताउँदै कर्णाली प्रदेश सम्पन्न भएमा मुलुक पनि समृद्ध हुने जनाए । कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा लाग्नु पर्नेमा उनले जोड दिए ।

भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएकै कारण कर्णाली प्रदेश पर्यटन विकासदेखि सबै क्षेत्रमा पछि परेको रक्षामन्त्रीसमेत रहेका खड्काको भनाइ छ । अब पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बेला आएको उनले बताए । खड्काले भोटको राजनीतिका विकास निर्माणलाई असर गर्न नहुनेमा जोड दिए । विकास निर्माणमा पछि परेको कर्णाली प्रदेशको तीव्र विकासका लागि तीन वटै तहका सरकार, राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजलाई समेत सँगसँगै लिएर जानुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

उनले कर्णालीको विकासमा देखिएका समस्या र समाधानका उपाय पत्ता लगाएर देखिएका कमीकमजोरी सच्याएर काम गरे अबको १०–१५ वर्षमा कर्णालीलाई सम्पन्न प्रदेश बनाउन सकिने बताए । वर्तमान परिप्रेक्ष्यमा विकास निर्माणमा असर पार्ने गरी कसैले राजनीति गरे त्यो राजनीति नभइ जनतामाथिको बेइमानी हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

प्रकाशित मितिः   २८ आश्विन २०८०, आईतवार ०५:०१