‘हटारु’माथि विमर्श

सुर्खेत: उपन्यास ‘हटारु’माथि विमर्श गरिएको छ । मध्यपश्चिमाञ्चल गजल मञ्चले शुक्रवार वीरेन्द्रनगरमा साहित्यकार ओम रिजालको पुस्तकमाथि विमर्श आयोजना गरेको हो ।

कार्यक्रममा अर्का साहित्यकार डा. महेन्द्रकुमार मल्लले उक्त पुस्तकको समीक्षा गरेका थिए । पुस्तकमा कर्णालीको समाज, संस्कृति र लोकविश्वासहरूको जीवन्त चित्रण रहेको उनले जनाए । उनले आञ्चलिकतासहित कथा बुन्ने शैली उत्कृष्ट रहेको भन्दै उपन्यास पठनयोग्य रहेको चर्चा गरे ।

लेखक रिजालले कर्णालीको लोकसंस्कृतिले नै आफूलाई हटारु पुस्तक लेख्न प्रेरिरत गरेको जनाए । साथै उनले विगतदेखि नै कर्णालीबारे भ्रमपूर्ण कुराहरू लेख्ने गरिएको भन्दै त्यसलाई चिर्नका लागि पनि कर्णालीकै लेखकहरूले यहाँका कथा लेख्नुपर्नेमा जोड दिए ।

पुस्तक विमर्शसहित रिजालको एकल कविता वाचन पनि गरिएको छ । कार्यक्रममा उनले आफ्ना कविताहरू सुनाएका थिए । साथै उनले कर्णालीकै कथामा आधारित रहेर नयाँ उपन्यास लेख्न लागेको समेत जानकारी दिए ।

प्रकाशित मितिः   २७ आश्विन २०८०, शनिबार ०५:०३