मार्सी धानमा ‘ब्लाष्ट’ रोगको संक्रमण

सुर्खेत: जुम्लाको तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकामा ब्लाष्ट रोगका कारण मार्सी धानबाली नष्ट भएको छ । तातोपानी गाउँपालिकाको वडा नं. ४, ५, ६ र चन्दननाथ नगरपालिकाको वडा नं. ९ मा भिœयाउन लागेको याममा ब्लाष्ट रोगले धान बालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् ।

तातोपानी गाउँपालिका वडा नं. ५ का कृषक धनप्रसाद चौलागाईंले ब्लाष्ट रोगको समस्याले धानलाई क्षति गरेको बताए । उनको करिब १८ रोपनी जग्गा लगाएको मार्सी धान रोगले सखाप पारेको छ । उनले भने, ‘खेतबाट करिब २७ क्विन्टल धान उत्पादन हुन्थ्यो, त्यही उत्पादनले वर्षभरि खान पुग्थ्यो । अहिले सबै सखाप भयो ।’ गतवर्ष पनि वर्षाले धानबालीमा क्षति पुगेको चौलागाईंले बताए ।

वर्षभरी खान पुग्ने पाकेको धानमा आगो लगाउनुपर्ने अवस्था आएको सोही वडाका अर्का कृषक प्रेम खत्रीले बताए । उनले भने, ‘गत वर्ष एक लाखको धान बिक्री गरेँ । त्यही पैसाले छोराछोरी पढाउँथे । वर्षभरी खान पुग्थ्यो ।’ उनको करिब ५० क्विन्टल धान उत्पादन हुन्थ्यो ।

तातोपानी गाउँपालिका वडा नं. ४ का गगनबहादुर हमालले रोगले सबै धानबाली नष्ट पारेको बताए । बाला लाग्ने समयमा धेरै वर्षा हुनु र विषादीको प्रयोगका कारण रोग फैलिएकको उनको भनाइ छ । यसअघि यस्तो रोग नदेखिएको भन्दै उनले मानवीय व्यवहारका कारणले रोगले धान सखाप पारेको जानकारी दिए ।

तातोपानी गाउँपालिकाको वडा नं. ४, ५ र ६ मा मार्सी धान उत्पादन हुने फाँटमा ब्लाष्ट रोगले धेरै क्षति गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइले बताए । उनका अनुसार किसानलाई ठूलो क्षति पुगेको छ ।

कार्तिक महिनाको पहिलो सातादेखि धान भिœयाउने किसानको एक्कासी धानमा संक्रमण भएको नेक ब्लाष्ट (घाँटी मरुवा) रोगले तातोपानीको अनुमानित करिब ८० हेक्टर धान बालीमा क्षति गरेको चौलागाईंले बताए । सबैभन्दा धेरै तातोपानीको वडा नं. ५ स्थित लाम्रा, नगर, एैरेनी हाँक, हियाँखोलाका किसान बढी सो रोगबाट मारमा परेको बताइएको छ । उनले भने, ‘वडा नं. ५ पुरै, वडा नं. ४ र ६ को ५० प्रतिशत मार्सीधान रोगले सखाप पारेको छ ।

 

प्रकाशित मितिः   २७ आश्विन २०८०, शनिबार ०५:०१