सम्बन्धनमा अलमल
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ७ अमलटाकुरामा कृषि क्याम्पस सञ्चालनका लागि भौतिक संरचना तयार पारिएको छ । २०७५ भदौदेखि भौतिक संरचना निर्माणको काम थालिएको थियो । हाल त्यहाँ दुई वटा भवन निर्माण सम्पन्न भएका छन् । उक्त प्रस्तावित क्याम्पस सञ्चालनका लागि बजेट जुटाउन महायज्ञ सञ्चालन गरिएको थियो । २०७६ कार्तिक २२ देखि २९ गतेसम्म महायज्ञ लगाएर डेढ करोड रकम संकलन गरियो । सो रकम भवन निर्माणको लागि जग्गा खरिदमा खर्च गरिएको छ । महायज्ञबाट जम्मा भएको रकमले व्यक्तिको ९२ रोपनी जग्गा खरिद गरी भवन निर्माण गरिएको हो । क्याम्पस सञ्चालनका लागि दुई वटा भवन तयार भएका छन् भने दुई वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । तर निर्माण गरिएका भवन प्रयोगविहीन बनेका छन् । सम्बन्धन नपाउँदा कृषि क्याम्पसको भवन प्रयोगविहीन बनेका हो ।
प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा भवन निर्माण गरिएको हो । चौकुनेमा कृषि क्याम्पस सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ८० लाख बजेट दिएको थियो । उक्त भवनको निरन्तरताको लागि आर्थिक वर्ष २०७८÷०७९ मा पनि ८० लाख बजेट प्रदेश सरकारले दिएको हो । अहिले क्याम्पस सञ्चालनका लागि भवन निर्माण भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाले करिब ५० लाख बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पनि पालिकाले करिब ८० लाख विनियोजन गरेको छ । चार वटा भवनमध्ये दुई वटा भवन पालिकालाई हस्तान्तरण गरिएको छ भने दुई वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । क्याम्पस सञ्चालन गर्न भौतिक संरचना बनिसके पनि अध्यापन अनुमतिको भने टुँगो लाग्न सकेको छैन । पाँच वर्ष अघि नै मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा सम्बन्धनका लागि फाइल पेस गरिएको थियो । तर अहिलेसम्म पनि कुनै टुँगो लागेको छैन ।
पटक–पटक क्याम्पसको सम्बन्धनका लागि मध्यपश्चिम विश्वविद्यालयसँग प्रक्रिया अघि बढाइएको थियो । कोरोना महामारीले गर्दा काम समयमा नै सम्पन्न नभएपछि विश्वविद्यालयसँगको सम्बन्धन प्रक्रिया भने टुटेको छ । पहिलो सम्बन्धन दिने बताएको मध्यपश्चिम विश्वविद्यालयले अहिले आएर सम्बन्धन दिन आलटाल गरेको छ । करोडौं लागतमा निर्माण गरिएका क्याम्पसका भवन अलपत्र पर्न थालेपछि सम्बन्धनका लागि त्रिभुुवन विश्वविद्यालयसँग संवाद थालिएको छ । आंगिक क्याम्पसको सम्बन्धनको विषयमा त्रिभुवन विश्वविद्यालयसँग संवाद र आवश्यक पहल भइरहेको छ । पूर्वाधार तयार भइसकेको अवस्थामा सम्बन्धनकै कारण क्याम्पस सञ्चालनमा अवरोध हुनु दुखद् हो । सम्बन्धित पक्षले यसतर्फ ध्यान दिन जरुरी छ ।
प्रकाशित मितिः २६ आश्विन २०८०, शुक्रबार ०५:०३
सम्पादकीय ।