एक महिनादेखि प्रजिअविहीन

दैलेख: दैलेख यतिबेला प्रमुख जिल्ला अधिकारी (प्रजिअ)विहीन भएको छ । गत भदौ २७ गते प्रमुख जिल्ला अधिकारी गोगन हमाल सरुवा भएका थिए । त्यसयता उनको स्थानमा कसैलाई नियुक्त गरिएको छैन । एक महिनादेखि प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारीविहीन भएको छ ।

प्रजिअ नहुँदा कार्यसम्पादनमा समस्या भएको छ । नागरिकका दैनिक कामकाज सम्पन्न गर्न समस्या भएको हो । जिल्लाका ग्रामीण क्षेत्रबाट सदरमुकाम आएका नागरिक काम नभएपछि निराश बन्दै र्फकने गरेका छन् ।
निमित्त प्रजिअको कार्यभार सम्हालेका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले अब केही दिनमा गृहमन्त्रालयले नयाँ प्रजिअ पठाउने जानकारी आफूले पाएको बताए । उनले भने, ‘सानातिना काम त मैले नै हेरेको छु तर मुद्धा ममिलासम्बन्धी काम हेर्न मिल्दैन, त्यस्ता काम आयो भने रोक्ने गरेका छौँ ।’

प्रमुख जिल्ला अधिकारी नहुँदा आफूले गर्न मिल्ने जति कार्य सक्दो गरेपनि मुख्य केही कार्य गर्न अधिकार नभएककाले समस्या परेको कोइरालाले बताए ।

 

प्रकाशित मितिः   २६ आश्विन २०८०, शुक्रबार ०५:०१