विश्वविद्यालयलाई १५ विगाहा जग्गा प्रदान

साझा बिसौनी संवाददाता
सुर्खेत, १ फागुन ।
सानो सुर्खेत सामुदायिक वन उपभोक्ता समूहले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतलाई १५ विगाहा जग्गा प्रदान गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको इन्जिनियरिङ्ग सङ्काय अन्तर्गत इन्जिनियरिङ्ग महाविद्यालय निर्माणका लागि उक्त जग्गा प्रदान गर्ने निर्णय साधारणसभामार्फत् दुई तिहाइ बहुमतबाट पारित गरिएको हो ।
विश्वविद्यालयलाई जग्गा प्रदान गर्ने निर्णय गर्दै वनले थप प्रक्रियाका लागि सरकारलाई अनुरोध समेत गरेको छ । समूहको शनिवार सम्पन्न दोस्रो वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो । बैठक समूहका अध्यक्ष जयलाल पुरीको अध्यक्षतामा बसेको थियो । यसैबीच उक्त निर्णयको मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालाले स्वागत गरेका छन् । निर्णयले विश्वविद्यालय निर्माणको अभियानमा यो निर्णयले थप हौसला प्रदान गरेको उनले बताए ।
यसैबीच शनिवार नै उपकुलपति प्रा.डा. कोइराला र सुर्खेत जिल्लास्थित एकीकृत नेकपा माओवादी सम्वद्ध नेतृत्वसँग मध्यपश्चिमाञ्चल विश्वविद्यालयको समग्र वस्तुस्थिति बारे छलफल सम्पन्न भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन सहयोग गर्नेमा सम्पूर्ण पार्टी पंक्ति दृढ रहेको पूर्व सभासद् तथा पार्टी अध्यक्ष नरबहादुर विष्टले बताए । छलफलमा सांसद सीता नेपालीको पनि सहभागिता 
रहेको थियो ।
प्रकाशित मितिः   २ फाल्गुन २०७२, आईतवार १२:१२