वृद्धाश्रमलाई सहयोग

साझा बिसौनी संवाददाता
सुर्खेत, १ फागुन ।
बसन्त पञ्चमीको अवसर पारेर जनप्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगरले प्रशान्ति वृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ । वृद्धाश्रमका वृद्धवृद्धा र असहायहरूका लागि मुठ्ठीदान कार्यक्रम सञ्चालन गरी सङ्कलित खाद्यन्न वृद्धाश्रमलाई प्रदान गरिएको हो ।
मुठ्ठीदानमार्फत् एक सय ५० केजी चामल र २० केजी दाल सङ्कलन गरी शनिवार नै वृद्धाश्रमलाई हस्तान्तरण गरिएको विद्यालयका प्रिन्सिपल यामराज गिरीले जानकारी दिए । विद्यार्थीहरूलाई वृद्धवृद्धा तथा असहायहरूप्रति सम्मान र सहयोगको भावना जगाउने उद्देश्यले मुठ्ठीदान कार्यक्रम गरिएको प्रिन्सिपल गिरीले बताए ।
यसैबीच इन्टरनेशनल को–अपरेटिभ उच्च माध्यमिक विद्यालय कालागाउँ सुर्खेतले पनि प्रशान्ति वृद्धाश्रम केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । विद्यालयले शनिवार आश्रमलाई खाद्यन्नसहित फलफूल सहयोग गरेको हो ।
आश्रमलाई सहयोग प्रदान गर्नुका साथै विद्यालय प्रशान्ति वृद्धाश्रमको आजीवन सदस्य समेत बनेको छ । आश्रमका उपाध्यक्ष शितलसिंह राठौरको सभापतित्वमा भएको खाद्यन्न तथा फलफूल हस्तान्तरण कार्यक्रममा विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । विद्यार्थीहरूलाई शिक्षण सिकाइ क्रियाकलाप सँगसँगै सामाजिक कार्यमा प्रेरणा जगाउने उद्देश्यले खाद्यान्न तथा फलफूल वितरण गरिएको बताए ।
प्रकाशित मितिः   २ फाल्गुन २०७२, आईतवार १२:१४