अध्ययनमै अलमल

जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको योजना अघि बढ्न सकेको छैन । आयोजनाको ‘प्रि–फिजिविलिटी’ अध्ययनमै अलमल देखिएको छ । २०७८ मा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी रूकुमपश्चिमले त्यसका लागि स्थानसमेत उपयुक्त रहेको भन्दै फाइलसमेत खडा गरेको थियो । त्यतिबेला सामान्य अध्ययनका काम भएका थिए । देखिनेगरी आयोजनाका काम अघि बढेन । पुनः २०८० जेठमा सुरुङमार्ग निर्माणका लागि प्रि–फिजिविलिटी अध्ययनको काम थालियो । प्राविधिक टोलीले फिल्डमै गएर सुरुङ निर्माण गर्ने क्षेत्रको अध्ययन गर्ने भनिए पनि फिल्डमा पुगेर अध्ययन भएको छैन । काममा प्रगति हुन सकेको छैन ।

पाँच महिनामा अध्ययनको काम सम्पन्न गरेर अन्य काम अघि बढाउनुपर्ने भएपनि काम हुन नसकेको हो । सुरुङमार्ग निर्माणका लागि स्थान उपयुक्त छ–छैन भनेर प्रि–फिजिविलिटी अध्ययनको काम थालिएको हो । फिल्डमा काम हुन सकेको छैन । यसअघि पनि सामान्य पूर्व अध्ययनका काम मात्रै भएका थिए । सडक विभागले गत जेठमा इटीको–टि.एम.एस–रेज जेभीसँग सुरुङमार्ग प्रि–फिजिविलिटी अध्ययन सम्झौता गरेको थियो । सोहीअनुसार अध्ययन हुनुपर्नेमा अलमल भइरहेको छ । सडकको अवरोधका कारण आवश्यक प्राविधिकको टोलिद्वारा फिल्डमा काम गर्न नसकिएको जनाइएको छ । अध्ययनका लागि तयार पारिने कागजी काम भने तयार भएका छन् । आधा काम प्राविधिकको टोलिले फिल्डमा र आधा काम कार्यालयमै गर्नुपर्ने हुन्छ । अहिलेसम्म कार्यालयमा बसेर कागजी काम मात्र भएका छन् । तत्काल फिल्डमा पुगेर काम गर्न सकिने अवस्था छैन । साँघुरो बाटो, ठाउँ–ठाउँमा पहिरो जाँदा स्थलगत रूपमा अध्ययनको काम गर्नमा अवरोध भएको छ । सडकको अवरोधका कारण आवश्यक उपकरणसहित सम्बन्धित ठाउँमा अध्ययनका लागि जान नसकिएको जनाइएको छ । दसैँपछि बाटोको अवरोध खुल्ने बित्तिकै फिल्डमा पुगेर अध्ययनको काम अघि बढाउने योजना बनेको छ ।

प्राविधिकको टोलिले सुरुङ मार्गका लागि टनेल निर्माण, माटोको परीक्षण, लागत अनुमानलगायतको अध्ययन गर्नेछ । सम्झौता अनुसार यहि असोजमा अध्ययनको काम सक्नुपर्ने हो । तर अहिले सम्म फिल्ड अध्ययनको काम हुन सकेको छैन । प्रस्तावित मार्गले जाजरकोटको कुसे गाउँपालिका वडा नं. ८ साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ८ इमिल्चाघारी जोड्ने छ । सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुनेछ । गौरवको आयोजनाका रूपमा सुरुङ मार्ग निर्माण योजना अघि सारिएको छ । दुरी र व्यापारका हिसाबले सुरुङमार्ग नै उपयुक्त विकल्पका रूपमा लिइएको छ ।

प्रकाशित मितिः   २३ आश्विन २०८०, मंगलवार ०८:३७