नरहरिनाथ वनविज्ञान क्याम्पस: डिपीआर संशोधन, सम्बन्धनको पर्खाइ

सुर्खेत: नरहरिनाथ वनविज्ञान क्याम्पसको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गर्ने तयारी गरिएको छ । पश्चिम सुर्खेतको चौकुनेस्थित प्रस्तावित नरहरिनाथ वनविज्ञान क्याम्पसको पूर्वाधार निर्माणका लागि डिपीआर संशोधन गर्न लागिएको हो ।

नयाँ लागत मूल्य, केही योजना परिमार्जनसहित पूर्वाधार निर्माणको कामलाई अघि बढाउन डिपीआर संशोधन गर्न लागिएको चौकुने गाउँपालिकाले जनाएको छ । यो वर्ष नै डिपीआर संशोधन गरिने गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए । उनका अनुसार डिपीआर अद्यावधिक गर्दा नयाँ लागत मूल्यको निर्धारण हुनेछ । त्यसका लागि पालिकाले समेत केही बजेट विनियोजन गरेको छ ।

यसअघि पूर्वाधार निर्माणका लागि डिपीआर तयार भएको थियो । सोही डिपीआरअनुसार नै काम भइरहेको छ । क्याम्पसको सम्पूर्ण पूर्वाधार निर्माणका लागि १७ करोड लागत अनुमान रहेको छ । अहिले सोही डिपीआरलाई अद्यावधिक गरिने गाउँपालिकाले जनाएको छ । बजेट व्यवस्थापन गरेर २०७४ बाटै क्याम्पसका भौतिक संरचना निर्माण गरी काम अघि बढाइएको थियो । अहिलेसम्म दशकोठे भवन निर्माण मात्र भएको छ । प्रशासनिक भवन निर्माण, खेलमैदानलगायतका पूर्वाधारका काम गर्न बाँकी नै छ ।

 

सम्बन्धनको पर्खाइ

नरहरिनाथ वनविज्ञान क्याम्पस पाँच वर्षदेखि सम्बन्धनको पर्खाइमा छ । चौकुने गाउँपालिका वडा नं. ५ तोस्रामा वनविज्ञान क्याम्पस सञ्चालन गर्ने नीतिगत निर्णय पहिलो गाउँ सभाले गरेको थियो । सो क्याम्पसका लागि जानकी, मालिका र मायाताल सामुदायिक वनको गरी २६ बिगाह जग्गा घेरबार गरिएको छ । बजेट व्यवस्थापन गरेर २०७४ बाटै क्याम्पसका भौतिक संरचना निर्माण गरी काम अघि बढाइएको थियो । २०७७ मा निर्माण सम्पन्न भइसकेको क्याम्पसको दशकोठे भवन अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । सम्बन्धित निकायबाट अध्यापन अनुमतिका लागि सम्बन्धन नपाउँदा त्यहाँका भौतिक संरचना बेवारिसे बनेका छन् ।

क्याम्पस सञ्चालनको सम्बन्धनका लागि पाँच वर्ष पहिले चितवनमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा फाइल पेस गरिएको थियो । २०७८ मा उक्त विश्वविद्यालयले सम्भाव्यता अध्ययनसमेत गरेको थियो । अध्ययनको प्रतिवेदन हालसम्म पनि सार्वजनिक नगरेको क्याम्पस पूर्वाधार निर्माण समितिका संयोजक हरिप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार अध्यापन स्वीकृतिका लागि प्रक्रिया थालेको लामो समय भइसक्दा पनि अझै अन्योल कायमै रहेको छ । ‘प्रक्रियागत रूपमा फाइल पेस गरेपनि त्यसको नतिजा आउन सकेको छैन’ अधिकारीले भने, ‘सम्बन्धनको टुँगो नलाग्दा क्याम्पस सञ्चालनमा अन्योल देखिएको छ ।’ सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालय र रामपुर चितवनमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एकै पटक फाइल पेस गरिएको हो ।

उक्त प्रस्तावित शिक्षालयको भवन निर्माणमा सांसद पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको २५ लाख र गाउँपालिकाको २९ लाख गरी ५४ लाख रकम खर्च भइसकेको छ । त्यस्तै क्याम्पस क्षेत्रको २६ बिगाह जग्गा घेरबारका लागि डिभिजन वन कार्यालय सुर्खेतमार्फत पाँच लाख बजेट खर्च गरिएको छ । अधिकारीका अनुसार क्याम्पसका लागि दशकोठे दुईवटा भवन बने पनि सामुदायिक वनको जग्गा स्वामित्वमा आएको छैन । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरिएको छ । स्थानीय सरकारले विद्यालयको स्वामित्व लिन चासो नदिँदा थप समस्या भएको बताइएको छ ।

 

आगिंक क्याम्पसको रूपमा सम्बन्धनको माग

नरहरिनाथ वनविज्ञान क्याम्पसलाई आंगिक क्याम्पसको रूपमा सम्बन्धनको माग गरिएको छ । त्यसका लागि प्रदेश सरकार र स्थानीय सरकारले चासो दिनुपर्ने देखिन्छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा वन संकायको सम्बन्धन पाएको क्याम्पस सञ्चालन छैन । सुदुरपश्चिम र कर्णाली प्रदेशको पायक पर्ने स्थानका रूपमा चौकुने गाउँपालिका वडा नं. ५ तोस्रा रहेको छ । स्थानीयको आवश्यकता, जग्गा पर्याप्तता र भौतिक संरचना बनिसकेकाले क्याम्पस सञ्चालन हुनुपर्ने स्थानीयको माग छ ।

पश्चिम सुर्खेतको भाग्य भविष्यको रूपमा क्याम्पसलाई हेरिएको गाउँपालिकाका अध्यक्ष विक बताउँछन् । सबै क्षत्रबाट पछि परेको पश्चिम सुर्खेतमा यो क्याम्पसले सम्बन्धन पाए गाउँघरबाटै उच्च शिक्षा पाउने अवसर हुने भन्दै उनले विभिन्न क्षेत्रसँग पहल भइरहेको बताए ।

प्रकाशित मितिः   २३ आश्विन २०८०, मंगलवार ०५:०५