प्रदेश निजामती विधेयक पारित

प्रदेशसभाको बजेट अधिवेशन अन्त्य

सुर्खेत: कर्णाली प्रदेश निजामती विधेयक पारित भएको छ । सोमवार बसेको प्रदेशसभाको बैठकबाट कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।
गत साउन २५ गते सभामा उक्त विधेयक दर्ता भएको थियो । प्रदेशसभामा टेबुल भइ आवश्यक छलफल र संशोधनका लागि प्रदेश मामिला समितिमा पठाइएको थियो । समिति छलफल गरेर संशोधनपछि सोमवार प्रदेशसभाबाट पारित गरिएको हो ।

यसैबीच कर्णाली प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको छ । सोमवार ३९औँ बैठक बसेर अधिवेशन अन्त्य गरिएको हो । सभामुख नन्दा गुरुङले सोमवार राती १२ बजेदेखि बजेट अधिवेशन अन्त्य भएको जानकारी दिइन् ।
बजेट अधिवेशनको पहिलो बैठक जेठ १० गते बसेको थियो । यस अवधिमा ३९ वटा बैठक बसेको छन् । प्रदेश सभा सचिवालयका अनुसार ५४ घण्टा बसेको छ । बजेट अधिवेशनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र विभिन्न विधेयक पारित गरेको छ । प्रदेश प्रशिक्षण विधेयक र प्रदेश निजामती विधेयक पनि पारित भइसकेको छ ।

यही अवधिमा प्रदेशसभामा रहेका चार वटा विषयगत समितिको सभापतिको निर्वाचन सम्पन्न गरेको छ । साथै प्रदेशसभा निमावली संशोधन गर्नका लागि संशोधन समिति गठन गरेर संशोधन प्रक्रिया अघि बढाएको सभामुख गुरुङले जानकारी दिइन् ।

प्रकाशित मितिः   २३ आश्विन २०८०, मंगलवार ०५:०१