कालोपट्टी बाँधेर काम गर्दै कर्मचारी
देशभर जस्तै सुर्खेतमा पनि स्थानीय निकायका कर्मचारीहरूले मंगलवार कालोपट्टी बाँधेर कार्यालयमा काम गरेका छन् । राज्य पुनर्संरचनामा समेत कर्मचारीहरूबीचमा रहेका विभेदहरूको अन्त्य र समायोजनमा सरकार गम्भीर नभएको भन्दै उनीहरूले यस्तो गरेका हुन् ।
जिल्लामा रहेका सबै नगरपालिका, जिल्ला विकास समिति र गाउँ विकास समितिमा काम गर्ने स्थानीय निकायका कर्मचारीहरूले मंगलवारबाट दैनिक रूपमा कालोपट्टी बाँधेर काम गर्ने जनाएका छन् । संघर्ष समिति सुर्खेतका प्रवक्ता कुलबहादुर खड्काले स्थानीय निकायमा कार्यरत सबै प्रकारका कर्मचारीहरूको उचित समायोजन नहुनेबेलासम्म सशक्त आन्दोलन सञ्चालन गर्ने जानकारी दिए । उनले राज्यले स्थानीय निकायमा काम गर्ने कर्मचारीहरूको माग सुनुवाइ नगरेमा स्थानीय निकायमा काम गर्ने निजामती कर्मचारीहरूलाई कार्यालय प्रवेश गर्न समेत रोक लगाउने र मन्त्रालयमा फिर्ता पठाउने बताए ।
अहिले पनि स्थानीय निकायमा कार्यरत दुई प्रकारको कर्मचारीहरू काम गरिरहेका छन् । निजामती कर्मचारी र स्थानीय निकायका कर्मचारीबीचमा राज्यबाटै पुनर्संरचनाको बेलामा समेत उचित ध्यान नदिनु आफैमा विभेदको नमुना रहेकोले आन्दोलन थालिएको संघर्ष समिति सुर्खेतले जनाएको छ । एउटा राज्यमा दुई प्रकारको कर्मचारीतन्त्रको अन्त्यका लागि देशभरका स्थानीय निकायका कर्मचारीहरू अहिले आन्दोलनमा रहेका छन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत २६ गते सम्पूर्ण स्थानीय निकायमा कार्यरत कर्मचारीहरूले कालोपट्टी बाँधेर काम गर्ने, साथै स्थानीय निकायका
मागहरूको बारेमा राजनैतिक दल, स्थानीय निकाय सम्बद्ध संघ, महासंघ, अन्य पेशागत संघ–संगठन, आधिकारिक ट्रेड युनियन लगायत सरोकारवालाबीच केन्द्रीय तथा जिल्लास्तरमा छलफल कार्यक्रम आयोजना गर्ने, २७ गते कालोपट्टी बाँधेर १ घण्टा पेन डाउन गरी कार्यालयमा धर्ना दिने, २८ गते कालोपट्टी बाँधेर बिहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा पेन डाउन र धर्ना दिने र फागुन १ गते पूरै स्थानीय निकायका सेवाहरू बन्द गर्ने जनाइएको छ ।
साझा बिसौनी ।