जहाज चढ्ने सपना पूरा हुँदै

आफ्नै भूमिबाट जहाज चढ्ने कालिकोटवासीहरुको चाहना यहि माघ २९ गते पुरा हुने भएको छ । विगत ३ दशकदेखि निर्माणाधिन कालिकोटको एकमात्र सुनथराली विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगी सकेको छ । यहि माघ २९ गते विमान उडान परिक्षण गर्ने तयारी गरिएको छ ।

कालिकोटका जनताहरुलाई हवाई यातायातको पहुँच पुगाउन २०४२ सालमै सुनथराली विमानस्थल सिलान्यास गरी निर्माण कार्य सुरु गरिए पनि पर्याप्त बजेटका लागि राज्यको कम चासोका कारण कछुवा गतिले निर्माण भैरहेको विमानस्थल बर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले देखाएको दृढइच्छा शक्तिका साथ आफ्नै कार्यकालमा विमान उडाउने प्रतिवद्धता गरेपश्चात कामले तिव्रता पाएको थियो । निर्माण कार्य अन्तिम चरणमा पुगेको धावन मार्ग निर्माणस्थलका इन्जिनियर रत्न बहादुर श्रेष्टले बताए ।

करिव ६ सय ९० मिटर लम्बाई र ६० मिटर चौडाई स्टामेट रहेको विमान स्थल निर्माणका लागि जिम्मा पाएको सेराकाली कन्ट्रक्सनप्रा.लि.ले तत्काल ४० मिटर चौडाई र करिव ५ सय ५० मिटर लम्बाई भएको धावनमार्ग निर्माण भएको निर्माण स्तलमा खटिएका इन्जिनियर रत्न बहादुर श्रेष्टले बताए । धावन मार्ग निर्माणका लागि सेराकाली कन्ट्रक्सनलाई करिव १ करोड ५० लाख बजेट बरावरको ठेक्का टेण्डर पाएको कन्टक्सनका संचालक केदार कार्कीले बताए ।

विमानस्थल संगै निर्माण हुनुपर्ने भवन निर्माण भैसकेको र रिपीटर टावर, पुलिस क्वाटर र विमानस्थल तारबार जस्ता काम हुन अझै बाँकी रहेकाले अब आउदो असारसम्ममा सबै काम पुरा हुने कन्टक्सन संचालक कार्कीले जानकारी दिए ।

तिन दशक पहिले विमानस्थल निर्माणका लागि तत्कालिन प्रतिनिधि सभा सांसद तिलक प्रसाद न्यौपाने र तत्कालिन जिल्ला सभापति दिपबहादुर शाहीको संयुक्त आयोजनामा शिलान्यास गरिएको विमान स्थल निर्माणको क्रममा हाल सम्म ४१ जना कामदारको अकालमै ज्यान गइसकेको थियो । ज्यान जाने ४१ जना कामदारहरु मध्य ६ जना विमानस्थल कटानमा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाएका थिए । यसै गरी धादिङ्ग जोगिमारा स्थायी घर भै विमानस्थल निर्माणको शिलशिलामा कोटवाडा आएका ३० जना कामदार र ६ जना स्थानीय कामदारहरुलाई २०५८ सालमा तत्कालिन राज्यपक्षको शाहीसेनाद्धारा विमानस्थलमै गोलिहानी हत्या गरिएको थियो ।

प्रकाशित मितिः   २६ माघ २०७३, बुधबार ११:०४