५० वर्षपछि प्रहरीको नयाँ घर

स्थापना भएको ५० वर्षपछि जिल्ला प्रहरी कार्यालय (जिप्रका) सुर्खेतले नयाँ भवन पाएको छ । टहराबाट सेवा प्रदान गर्दै आएको सुर्खेत प्रहरीले सुविधायुक्त कार्यालय भवन पाएको हो । जिल्ला प्रहरी कार्यालयको नवनिर्मित कार्यालय भवनको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मंगलवार उद्घाटन गरेका हुन् ।

स्थापनाकालदेखि नै साँघुरो टहरामा सञ्चालन हुँदै आएको जिल्ला प्रहरी कार्यालयले सुविधायुक्त नयाँ भवन पाएको हो । टहरामा फराकिलो ठाउँ नहुँदा थुनुवालाई साँघुरो र अँध्यारो कोठामा कोचेर राख्नुपर्ने बाध्यतासमेत अब टरेको छ । कार्यालय भवनसँगै दुई तले सुविधायुक्त हिरासत ब्लक पनि निर्माण भएपछि अब थुनुवालाई सहज हुने भएको हो । नयाँ भवन बनेपछि अब थुनुवाले हिरासत कक्षमै घाम ताप्न पाउनेछन् । नयाँ निर्माण भएको भवनमा बाहिरबाटै घाम लाग्ने गरी हिरासत कक्ष निर्माण गरिएको छ भने लामखुट्टेसमेत नलाग्ने गरी व्यवस्थापन गरिएको छ ।

हालसम्म सुर्खेत प्रहरीले जीर्ण र साँघुरो भवनमा कार्यालय सञ्चालन गर्दै आएको थियो । यस्तै कोठाको अभावमा थुनुवालाई एउटै कोठामा कोचेर राख्नुपर्ने बाध्यता थियो । भवन अभावकै कारण सेवाग्राहीले समेत सास्ती भोग्दै आएका थिए । तीन तले नयाँ कार्यालय भवन निर्माण भएसँगै अब सेवा प्रवाहमा पनि सुधार हुने सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यले बताए । उनका अनुसार मंगलवारबाटै नयाँ भवनबाट सेवा प्रवाह सुरु गरिएको छ । २०२३ सालमा स्थापना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले हालसम्म सुविधायुक्त भवनको अभावमा साँघुरो र टहराबाटै गुजरा चलाउँदै आएको थियो । भवन अभावमा सुत्न र बस्न समस्या भोग्दै आएका प्रहरीलाई अब भने सहज हुने भएको हो । सरकारले बजेट उपलब्ध गराएपछि सुविधा सम्पन्न तीन तले कार्यालय भवन र प्रहरी कर्मचारीका लागि सुत्न र बस्नका लागि छुट्टै ब्यारेक भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुवै भवन निर्माण गर्दा तीन करोड ७४ लाख ९१ हजार रूपैयाँ खर्च भएको छ । भवन निर्माणका लागि २०७१ मा सम्झौता भएको थियो । वर्षौंपछि नयाँ भवन पाएपछि सुर्खेतका एसपी मोहन आचार्यले भने, ‘अब जनतालाई सेवा दिन सहज हुने भयो, आजसम्म त साँघुरो टहरामा गुजरा गर्दै आएका थियौं । अब सेवाग्राहीले पनि सजिलो महसुस गर्नेछन्, कार्यालयबाट फिर्ता हुँदा कसैले गुनासो गर्ने छैनन् ।’ भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भने, ‘भौतिक सुविधाले पनि कार्यक्षमता बढाउँछ, अब प्रहरीको कार्यक्षमता पनि बढ्नेछ ।’ उनले थपे, ‘भवन मात्र नयाँ भएर हुँदैन, नयाँ भवनबाट प्रदान हुने सेवा र सुविधा पनि नयाँ हुनुपर्छ । बाहिरबाट हेर्दा भवन नयाँ र चिटिक्क देखिने, तर त्यहाँबाट प्रवाह हुने सेवा उही पुरानै नहोस् ।’ उनले अब प्रहरीको कार्याशैली र सेवा पनि नयाँ हुनुपर्ने बताए । यस्तै उनले अब सुर्खेत प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न थप सक्रियता बढाउनुपर्ने बताए । हिरासत कक्ष निर्माण भए पनि निर्दोषलाई एक मिनेट पनि त्यहाँ रहने अवस्था आउन नदिनेतर्फ सचेत हुन उनले प्रहरीलाई निर्देशन दिए । देशभर अहिले पनि धेरै प्रहरी इकाईहरू भाडाकै घरबाट सञ्चालन भइरहेको भन्दै महानिरीक्षक अर्यालले भने, ‘नयाँ भवन बनेको छ, प्रहरीलाई मात्र नभइ थुनुवालाई पनि सुविधा हुनेछ । अब अँध्यारो र साँघुरो कोठामा कोचिदैं आएका थुनुवाले पनि राहत महसुस गर्नेछन् ।’

तीन तले नयाँ भवनमा पर्याप्त कोठाहरू छन् । महिला र बालबालिकाको लागि पनि छुट्टै सेलको व्यवस्था गरिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयको सुविधायुक्त भवन उद्घाटन भए पनि जिल्लामा अहिले पनि अधिकांश प्रहरी इकाईहरू भने भाडाको घरमा नै छन् । आफ्नै भवन नहुँदा यस क्षेत्रमा रहेका अधिकांश प्रहरीचौकी र प्रहरीबिटहरू अहिले पनि भाडाको घरबाट सञ्चालन हुँदै आएको मध्यपश्चिम प्रहरी प्रमुख डीआईजी माधव नेपालले बताए । बजेट अभावका कारण आफ्नै भवन बनाउन नसकिएको भन्दै उनले अब ती इकाईका पनि आफ्नै भवन निर्माणमा पहल गरिने जनाए ।

प्रकाशित मितिः   २६ माघ २०७३, बुधबार १०:५२