सुर्खेतमा फस्टाउँदै मौरीपालन
कम लगानीमा नै व्यवसाय सुरु गरेर छोटो समयमा नै लाभ लिन सकिने भएपछि मौरीपालन व्यवसायमा किसानहरू आकर्षित हुन थालेका
छन् । किसानहरूले व्यवसायिक रूपमा नै मौरीपालन सुरु गर्न थालेपछि सुर्खेतमा यो व्यवसाय फस्टाउन थालेको हो । राम्रो आम्दानी हुन थालेपछि जिल्लाका अधिकांश किसानहरू पछिल्लो समय खेतीपाती र अन्य व्यवसाय नै छोडेर मौरीपालनमा जुटेका छन् ।
किसानहरूले व्यवसायिक रूपमा सहकारी र समूहमार्फत् नै मौरी पाल्न थालेपछि हिजोआज किसानका घर मौरीका घारले भरिन थालेका छन् । यस्तै मौरी पाल्ने किसानको संख्या बढ्दै गएपछि जिल्लामा महको उत्पादन पनि बढेको छ । जिल्ला कृषि विकास कार्यालयले मौरीपालनमा किसानहरूको आकर्षण बढेसँगै महमा पनि जिल्ला आत्मनिर्भर बन्न थालेको जनाएको छ । कार्यालयका अनुसार हाल जिल्लामा चार हजार भन्दा बढी मौरीका घार छन् । यस्तै एक सय भन्दा बढी किसानले व्यवसायिक रूपमा नै यो व्यवसाय सञ्चालन गरिरहेका छन् ।
धेरै जग्गा नचाहिने, थोरै लगानी भए पनि पुग्ने । अन्य व्यवसायमा जस्तो धेरै मेहेनत पनि गर्नु नपर्ने, कम मेहेनतमै बढी आम्दानी गर्न सकिने भएपछि यहाँका किसानहरू मौरीपालन व्यवसायमा हौसिन थालेका हुन् । मह र घारको पनि माग दिन प्रतिदिन बढ्न थालेपछि बजारको सम्भावना पनि बढ्दै गएको छ । यही सम्भावनालाई बुझेका यहाँका किसानहरूले अहिले व्यवसायिक रूपमा नै मौरीपालन व्यवसाय सञ्चालन गरिरहेका छन् । सुर्खेत जिल्ला मौरीपालनका लागि उपयुक्त जिल्लामध्येको एक मानिन्छ । यहाँको जैविक विविधता, हावापानी र विभिन्न प्रजातिका फूलहरूको उपलब्धता मौरीपालनका लागि उपयुक्त भएकाले पनि मह उत्पादनमा किसानहरूले सफलता प्राप्त गरिरहेका छन् । जिल्लामा उत्पादित महको माग अन्य जिल्ला र अन्तर्राष्ट्रिय क्षेत्रमासमेत हुन थालेपछि किसानहरू यसतर्फ आकर्षित भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक यादवकुमार केसीले बताए ।
सम्भावना र क्षमता अनुसार सुर्खेतमा ३० हजार बढी गोला मौरीपालन गर्न सकिने सम्भावना रहेको छ । पछिल्लो समय जिल्लामा मौरीपालन गर्ने किसानहरूको संख्यासमेत बढ्दो छ । व्यवसायिक मौरीपालनतर्फ किसानहरू आकर्षित भएका छन् । जीविकोपार्जनका लागि ४०÷५० हजार रूपैयाँ मात्रैको लगानीबाट मौरीपालन व्यवसाय सुरु गर्न सकिने व्यवसायीहरू बताउँछन् । वीरेन्द्रनगरस्थित काँक्रेविहार मौरीपालन सहकारी संस्थाका अध्यक्ष प्रेम आचार्यले भने, ‘पैसा खर्च गरेर विदेश जानुपर्दैन, ४० घार मौरी पाले हुन्छ । वर्षमा कम्तीमा पाँच लाखसम्म कमाउन सकिन्छ, दुःख पनि धेरै छैन ।’ विगत १२ वर्षदेखि मौरी पाल्दै आएका उनको घरमा हाल ४० घार मौरी छन् । उनका अनुसार वर्षमा एक घार मौरीबाट ३० किलोसम्म मह उत्पादन हुन्छ । अहिले जिल्लामा मह पाँच सय रूपैयाँ किलोमा बिक्री भइरहेको छ । उनले थपे, ‘बजारको कुनै समस्या छैन, मह र घार किन्न मान्छेहरू घरमै आउँछन् ।’ मौरीपालनका लागि गरिएको लगानीबाट एक दुई वर्षभित्रैमा दोब्बर आम्दानी गर्न सकिने काँक्रेविहार मौरीपालक सहकारी संस्थाले जनाएको छ ।
यस्तै १० वर्षदेखि मौरी पाल्दै आएका अर्का किसान लिलाराम ढकालले जिल्लामा फूलकोसमेत प्रशस्त स्रोत रहेकाले पनि मौरीपालन व्यवसाय फस्टाउँदै गएको बताए । आफूले हालै २० घार मौरी बेचेको भन्दै उनले वर्षमा एक घारबाट चार घार मौरी बनाउन सकिने जानकारी दिए । एक घार मौरी साढे सात हजार रूपैयाँमा बिक्री हुने गरेको उनले जनाए । मह र मौरी दुवै बिक्री गर्न सकिने भएकाले पनि यो व्यवसायबाट चाहेको आम्दानी लिन सकिने उनले उल्लेख गरे । आफूले जिल्लाभित्रै र जिल्ला बाहिर पनि मौरीका घार बिक्री गर्ने गरेको उनको भनाइ छ । थोरै लगानी, धेरै जग्गा पनि नचाहिने, अर्को व्यवसाय पनि गर्न पाइने र समय पनि कम दिनुपर्ने तथा लाभ पनि धेरै हुने भएकाले मौरीपालन उपयुक्त भएको उनको भनाइ छ ।
यता जिल्ला कृषि विकास कार्यालयले पनि पर्याप्त चिउरी पाइने भएकाले अब सुर्खेत मौरीपालनका लागि पकेट क्षेत्र बन्दै गएको दाबी गरेको छ । कार्यालयका प्राविधिक सहायक यादवकुमार केसीका अनुसार जिल्लाको वीरेन्द्रनगर, गुमी, लेखफर्सा, विद्यापुर र कुनाथरी लगायतका क्षेत्रमा मौरीपालनको सम्भावना बढी छ । आफूहरूले सामुदायिक वन र किसानहरूलाई यो वर्ष करिब दुई सय घार मौरी वितरण गर्ने र अन्य किसानलाई प्राविधिक ज्ञान, तालिम र अनुदान समेत उपलब्ध गराउने उनले जानकारी दिए ।
प्रकाशित मितिः २६ माघ २०७३, बुधबार १०:४८
साझा बिसौनी ।