घर निर्माण स्वीकृती नपाउँदा सास्ती

बसपार्क सुर्खेत निवासी अनिल बिसी वीरेन्द्रनगर नगरपालिकाको कार्यालय धाउन थालेको पाँच दिन भइसकेको छ । घर निर्माण गर्ने स्वीकृति लिनका लागि उनी पाँच दिनदेखि लगातार नगरपालिका धाइरहेका छन् । तर कार्यालयका कार्यकारी अधिकृत विमलराज आचार्यले नगरपालिकाको बोर्ड बैठकको निर्णय कार्यान्वयन नगरिदिँदा उनले स्वीकृती पाउन सकेका छैनन् ।

यस्तै कालुङ्गचौक, सुर्खेतका उर्मिला थापा पनि घर निर्माणको स्वीकृतीका लागि नगरपालिका धाइरहेकी छिन् । तर कार्यकारी अधिकृत आचार्यको टेबलमा पुगिसकेको उनको फाइल स्वीकृत हुन सकेको छैन । जसले गर्दा उनी यतिबेला निराश बनेकी छिन् । वीरेन्द्रनगर नगरपालिकाले आफ्नै बोर्ड बैठककोे निर्णय कार्यान्वयन नगरिदिँदा अनिल र उर्मिलाले सास्ती व्यहोर्नु परेको छ । कार्यकारी अधिकृत आचार्यले उनीहरूको घर निर्माण स्वीकृती रोक्का गरिदिएका छन् ।

गत वैशाखको भूकम्पपछि सरकारले नै तत्कालका लागि घर निर्माण गर्ने स्वीकृती दिने कार्य रोक्का गर्ने निर्णय गरेको थियो । २०७२ जेठ ४ गतेको उक्त निर्णय कार्यान्वयन गर्दै वीरेन्द्रनगर नगरपालिकाले पनि घर निर्माण स्वीकृती दिएन । तर उक्त अवधिअघि नै राजस्व तिरेर बनाइएका घरहरूको हकमा निर्माण स्वीकृती दिने निर्णय गत फागुन २३ गते बसेको वीरेन्द्रनगर नगरपालिकाको बोर्ड बैठकले गरेको थियो । सोही निर्णयअनुसार नगरपालिकाको नक्सा शाखाले पनि काम अघि बढायो । तर हालै सरुवा भएर आएका कार्यकारी निर्देशक आचार्यले यही माघ १० गतेका दिन एक्कासी उक्त कार्य रोक्का गरेपछि सेवाग्राही मर्कामा परेका हुन् ।

नगरपालिकामा पछि गाभिएका क्षेत्रमा यस्तो समस्या देखिएको हो । लाटीकोइली, जर्बुटा र उत्तरगंगा गाविस वीरेन्द्रनगरमा पछि गाभिएका हुन् । जस अन्तर्गत १३ देखि २५ नम्बरसम्मका वडाहरू पर्दछन् । ती वडाहरूको हकमा कम्तीमा ६ मिटर सडक मापदण्डमा रही २०७२ जेठ ४ गतेको निर्णयभन्दा अघि नक्सा स्वीकृत गरी वा नगरी बनेका, बन्दै गरेका घरका लागि प्राविधिकले अध्ययन गरी प्रतिवेदन बुझाएमा कानुन बमोजिम दस्तुर लिएर जस्तो संरचनामा छ, त्यस्तै नक्सा बनाउन स्वीकृत प्रदान गर्न सकिने कानुनी सल्लाहकारको सल्लाह अनुसार बोर्ड बैठकले निर्णय गरेको हो । सोही निर्णयलाई आधार मानेर स्वीकृतीका लागि आएका केही घर निर्माणको नक्सा स्वीकृत गरिएको तर केहीको रोक्का गरिएको पाइएको छ । बसपार्क निवासी अनिल बिसीले आफूले एकपटक पेश गरेका तीन वटा फाइलमध्ये उस्तै प्रकृतिका दुई वटा स्वीकृत भएको र एउटाको काम रोकिएको बताए । ‘सुरुमा एकैछिनमा गरिदिन्छु भनेर उहाँ (कार्यकारी अधिकृत आचार्य) उठेर बाहिर जानुभयो तर पछि आएर म गर्दिनँ भन्नु भयो’ बिसीले भने, ‘सँगै ल्याएका तीन वटा फाइलमध्ये दुईवटा पास हुने, एउटा नहुनुको कारण के हो ?’
बोर्ड बैठकले नै निर्णय गरिसकेको काम कार्यकारी अधिकृत आचार्यले एक्कासी रोक्का गरेपछि नगरपालिकाका कर्मचारी नै चकित परेका छन् । नगरपालिकाका सव–इन्जिनियर तथा नक्सा उपशाखाको शाखा प्रमुख किशोर कँडेलले कानुनी सल्लाहकारको सल्लाह र नगरपालिकाको बोर्ड बैठकले गरेको निर्णय कार्यान्वयनमा रोक लगाउनु उचित नभएको बताए ।

नगरपालिकाका कार्यकारी अधिकृत आचार्य भने विधि र प्रक्रिया पुगेको छ वा छैन भन्ने बुझ्नका लागि मात्रै काम रोकिएको बताउँछन् । उनले मापदण्ड बुझेर विधि र प्रक्रिया अनुसार नै थप काम अघि बढाइने बताए ।

प्रकाशित मितिः   २४ माघ २०७३, सोमबार १३:१३