टोल सुरक्षा समिति गठन

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ चैत । 
वीरेन्द्रनगर वडा नं. २ धारापानीस्थित सक्रिय आमा समूहले आइतवार वडामा रहेका सम्पूर्ण सामाजिक संघ–संस्था तथा राजनैतिक दलहरूलाई समेटेर टोल सुरक्षा समिति गठन गरेको छ ।
टोल सुरक्षा समितिले गाउँमा मदिरापान, जुवातास, लागूऔषध नियन्त्रणका साथै यसमा बालबालिकाको प्रयोग हुन नदिन पहल गर्ने जनाइएको छ । सक्रिय आमा समूहका अध्यक्ष बमकुमारी जिसीको अध्यक्षतामा बसेको भेलामा नागरिक वडा मञ्चका अध्यक्ष खम्बराम बोगटी, विशेष अथितिमा बाङ्गेसिमल प्रहरीचौकी प्रमुख कृष्णप्रसाद पौडेल तथा राजनैतिक दलहरूमा नेपाली कांग्रेसका वडा सभापति देवीभक्त कोइराला, एमाओवादीका विवेक ओली, राप्रपाका धनबहादुर बोगटी लगायत रहेकाछन् । 
यस्तै सामाजिक संघ–संस्थाहरूको तर्फबाट त्रिपुरेश्वर उच्च माध्यमिक विद्यालयका प्राचार्य रुद्रबहादुर खत्री, त्रिपुरेश्वर युवा क्लबका अध्यक्ष दिनेश खत्री, आँपखोली कृषक सहकारीका अध्यक्ष विवेक वली, क्रान्तिकारी महिला संघका अध्यक्ष लक्ष्मी वली तथा वडाका करिब एक सय जनाको उपस्थिति रहेको थियो । उक्त भेलाले बमकुमारी जिसीको अध्यक्षतामा २९ सदस्यीय टोल सुरक्षा समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष लक्ष्मी वली, सचिवमा दिनेश खत्री, कोषाध्यक्षमा विमला पाण्डे रहेका छन् । 
प्रकाशित मितिः   २९ चैत्र २०७२, सोमबार ०४:४४