भेरी कोरिडोर आयोजनाको कार्यालय स्थापना

सुर्खेत: पूर्वी सुर्खेतको गुर्भाकोटमा भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाको कार्यालय स्थापना गरिएको छ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीवार कार्यालयको उद्घाटन गरेका छन् ।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनताका लागि सिँचाइ, विद्युतीकरण, सडक पूर्वाधारलगायतका सामाजिक सेवा पु¥याउने उद्देश्यले सरकारले भेरी किनारमा नयाँ कार्यालय स्थापना गरेको हो । भेरीको मुहान डोल्पादेखि सुर्खेतको घाट गाउँसम्मको भेरी किनारका जनताका लागि कार्यालयले सेवा दिने जनाइएको छ । ‘डोल्पा, जाजरकोट, रूकुम, सल्यान र सुर्खेत जिल्लाका भेरी नदीसँग जोडिएका पालिकाहरूमा सडक, विद्युतीकरण, सिँचाइलगायतका सामाजिक सेवाका कार्यहरू गर्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको हो,’ कार्यवाहक प्रधानमन्त्री खड्काले भने, ‘भेरीको पानी बबईमा खस्नुअघिनै भेरी किनारका पालिकाहरूमा उद्देश्य अनुसारका कामहरू सम्पन्न गर्छौं ।’

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण गर्दा प्रभाव पर्ने ठाउँमा सिँचाइका योजना लागू गर्नेगरी कार्यालय स्थापना गरिएको आयोजना प्रमुख इश्वरीप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार यो आयोजना आर्थिक वर्ष २०७४/०७५ मा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट सुरु भएको थियो । कार्यक्रम प्रभावकारी हुन नसकेपछि छुट्टै कार्यालयको रूपमा स्थापना गरिएको उनको भनाइ छ । तिवारीले भने, ‘यो आयोजनाले सुर्खेतका नौ पालिका र सल्यानको एक पालिकालाई समेटेको छ । भेरी बबईले असर पारेका ठाउँमा योजना लागू हुन्छ ।’

प्रकाशित मितिः   १२ आश्विन २०८०, शुक्रबार ०५:०३