प्रदेश नेतृत्व छान्दै एमाले

सुर्खेत: नेकपा (एमाले) कर्णाली प्रदेश कमिटिको प्रथम अधिवेशन सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधवार अधिवेशनको उद्घाटन गरेका हुन् ।

अधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि नेताहरू रस्साकस्सीमा लागिरहेका छन् । एमाले नेताहरूका अनुसार सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको छ । यद्यपि, चुनावी प्रतिस्पर्धाका लागि पनि दुई वटा टिम बन्नसक्ने सम्भावना उत्तिकै रहेको जनाइएको छ ।

नेताहरूका अनुसार प्रदेश अध्यक्षको लागि मुख्य गरेर पोटिलब्युरो सदस्य गुलावजंग शाह र केन्द्रीय सदस्य मिनबहादुर शाहीले आ–आफ्नो दाबी अघि सारेका छन् । यसबाहेक पनि आकांक्षीहरू छन् । अध्यक्ष ओलीले भने प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिएका छन् । अधिवेशन उद्घाटनका क्रममा उनले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न र सहमति नभए प्रतिस्पर्धा गर्न सकिने भएपनि प्यानलै बनाएर चुनाव नगर्न नेताहरूलाई सुझाव दिएका हुन् ।

त्यसैगरी ओलीले आगामी निर्वाचनबाट पहिलो पार्टी बनेर एमालेले एकल बहुमतिय सरकारको नेतृत्व गर्ने दाबी समेत गरेका छन् । २०८४ को निर्वाचनमा गठवन्धनलाई पराजित गरेरै छोड्ने उनको जिकिर थियो । वर्तमान गठवन्धन सरकारले देशको स्वाधिनतालाई बेचेको भन्दै उनले राष्ट्रिय एकता, स्वाधिनता, सार्वभौमसत्ताको रक्षा, सामाजिक न्यायसहितको समृद्धिका लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्नेमा जोड दिए ।

बुधवार उद्घाटन गरिएको अधिवेशन विहीवार पनि चल्नेछ । अधिवेशनमा १० जिल्ला र विभिन्न जनवर्गीय संगठनहरूबाट गरी ६ सय चार जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।

प्रकाशित मितिः   ११ आश्विन २०८०, बिहीबार ०५:०५