‘विमानस्थल विस्तारको पहल भइरहेको छ’

सुर्खेत: उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थल विस्तारका लागि पहल भइरहेको बताएका छन् । बुधवार वीरेन्द्रनगरमा पत्रकारहरूसँगको संवादमा उनले विमानस्थलको धावन मार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको बताए ।

विमानस्थलको उत्तरतर्फ विस्तार गर्ने कुरामा समस्या नभएको तर दीर्घकालीन विमानस्थलका रूपमा यो विमानस्थलले धान्न नसक्ने भएकाले बैकल्पिक विमानस्थल पनि निर्माण आवश्यक रहेको उनको भनाइ छ ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौता देशहितमा भएको समेत बताए । सत्तारुढ गठबन्धनको सहमतिमा नै नेपाल र चीनबीच सहमति र सम्झौता भएको उनले जनाए । उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सत्ता गठबन्धन दलको सहमतिमै प्रधानमन्त्रीले सहमति जनाएको खड्काले स्पष्ट पारे । सरकारमा कांग्रेसको नेतृत्व गरिरहेका खड्काले भने, ‘गठबन्धनको सहमतिका यी सबै सहमति प्रधानमन्त्रीले गर्नुभएको हो ।’

खड्काले संघीयता कार्यान्वयनमा सरकार दृढ रहेको पनि बताए । उनले विद्यालय शिक्षा ऐन संसद्मा टेबुल भइसकेको बताउँदै निजामति कर्मचारी ऐन र संघीय प्रहरी ऐन संसद्मा दर्ता गर्ने तयारीमा सरकार रहेको जानकारी दिए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्न सरकार दृढ भएर लागिपरहेको छ,’ उनले भने । यसअघि नै संघीय सरकारले कानुन नबनाउँदा संघीयताको अनुभूति नागरिकले प्रत्यक्ष गर्न नसेको पनि उनको भनाइ थियो । सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरेर काम गरिरहेको खड्काको भनाइ थियो ।

प्रकाशित मितिः   ११ आश्विन २०८०, बिहीबार ०५:०४