कानुन निर्माणमा निस्क्रिय
अहिले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन चलिरहेको छ । सभाको बैठक भने नियमित सञ्चालन भइरहेको छैन । भएका बैठकहरू पनि औपचारिकतामै सिमित हुने गरेका छन् । सरकारले विजनेश नदिँदा प्रदेशसभा कामविहीन भएको हो । आवश्यक कानुन निर्माणका लागि सरकारले विधेयक तयार पारेर सभामा पेस गर्दछ । त्यसपछि सभामा आवश्यक छलफल हुने गर्दछ । तर पछिल्लो समय सरकार नै सुस्त हुँदा नयाँ विधेयक दर्ता हुन सकेको छैन । भएका विधेयक समितिमा विचाराधीन अवस्थामा रहेका छन् । प्रदेशसभा विजनेशविहीन भएको छ भनेसभा सदस्यहरू आफ्ना पार्टीका गतिविधि र निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । संसद् नियमित सञ्चालन नहुँदा प्रदेशसभा सदस्यहरू पनि फुर्सदिला छन् ।
पछिल्लो पटक शुक्रवार बसेको कर्णाली प्रदेशसभाको ३६औँ बैठक संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेर सकियो । सभाको अर्को बैठक असोज १५ गतेसम्मका लागि स्थगित गरिएको छ । त्यसअघि गत भदौ २४ गते ३५औँ बैठक बसेको थियो । उक्त बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो स्वीजरल्याण्ड भ्रमणका क्रममा भएका गतिविधिका बारेमा सभालाई जानकारी गराउनुका साथै प्रदेशसभा सदस्यहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । यस्तै भदौ ८ गते शुक्रवार बसेको ३४औँ बैठकमा पनि कुनै विधेयकमाथि छलफल भएन । मुख्यमन्त्री राजकुमार शर्माले स्वीजल्याण्ड भ्रमण जानेबारे जानकारी गराएका थिए भने अन्य सदस्यहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएर सकिएको थियो । कर्णाली प्रदेशसभाको पछिल्ला तीन वटा बैठकमा भएका गतिविधि हुन्, यी ।
पछिल्लो समय सभाको गतिविधि सुस्त भएको छ । कानुन निर्माणका लागि हुने गतिविधिहरू न्यून भएका छन् । बैठक पनि नियमित रूपमा सञ्चालन हुन सकेको छैन । ‘विजनेश’ नहुँदा केही दिनको अन्तरलामा मात्रै बैठक बस्दै आएको छ । भइरहेका बैठकमा पनि प्रदेशसभा सदस्यहरूले सरोकारवालाको ध्यानाकर्षण गराउने बाहेक कुनै विधेयकमा छलफल भएको छैन । सभा सचिवालयका अनुसार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएयता प्रदेशसभामा सात वटा विधेयक दर्ता भएका छन् । त्यसमध्ये तीन वटा विधेयक मात्र सभामा छलफल भएर पारित भएका छन् । प्रदेशसभाको दोस्रो कार्यकाल सुरुवातदेखि नै सक्रिय हुन सकिरहेको छैन । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल र पारित गर्नुका साथै तीन वटा विधेयक पारित गर्नुबाहेक अन्य उपलब्धिमूलक गतिविधि भएको देखिदैन । यसले पनि सभाको निस्क्रियता देखाउँछ । सभा सञ्चालनका लागि सरकारको भूमिका महत्वपूर्ण हुन्छ । सरकार नै निस्क्रिय हुँदा प्रदेशसभा नै कामविहीन बन्नुपर्ने अवस्था सिर्जना भएको छ ।
प्रकाशित मितिः ११ आश्विन २०८०, बिहीबार ०५:०३
सम्पादकीय ।