‘अहिल्यै आराम नगरौं’

साझा बिसौनी संवाददाता
सुर्खेत, १ फागुन । 
प्रदेश नम्बर ६ अन्तर्गत विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूले जनताका अधिकारहरू पूर्णरूपमा स्थापित भइ नसकेकाले अहिल्यै नै आराम गर्न नहुने बताएका छन् । पत्रकार समाजको ऐना भएको र जनताको आवाज समेत बोलिदिने भएकाले देशमा समाजवाद स्थापना गर्नका लागि थप सक्रिय भएर लाग्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । मुलुकमा भएका हरेक परिवर्तनमा कलममार्फत् आफूहरूले महŒवपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरूले अब संविधान कार्यान्वयनको पक्षमा कलम चलाउनुपर्ने बताए ।
क्रान्तिकारी पत्रकार संघ प्रदेश नम्बर ६ को शनिवार वीरेन्द्रनगरमा सम्पन्न भेलामा सहभागी पत्रकारहरूले आउँदा दिनमा थप सक्रिय र खोज पत्रकारिता आवश्यक रहेको बताएका हुन् । सो अवसरमा क्रान्तिकारी पत्रकार संघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरूले अहिल्य नै आराम गर्नुपर्ने अवस्था नआएको बताए । मुलुकमा गणतन्त्र स्थापना र नयाँ संविधान जारी गराउनका लागि पत्रकारहरूको ठूलो योगदान रहेको बताउँदै उनले भने, ‘सबै प्राप्त भयो भनेर पत्रकारहरूले अहिल्य नै आराम गर्नु हतार हुनेछ, मुलुकमा समाजवाद स्थापनाको काम बाँकी नै छ । त्यसका लागि अब थप सक्रिय भएर हामीले कलम चलाउनुपर्ने हुन्छ, अहिले नै विश्राम नगरौं ।’ देशमा समाजवाद स्थापनाका लागि अबको कलम केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा एकीकृत नेकपा माओवादी संसदीय दलका सचेतक सीता नेपालीले पत्रकारितालाई समाज रूपान्तरणमा केन्द्रित गर्न आग्रह गरिन् । पत्रकार समाजको ऐना भएको भन्दै उनले गरीब जनताको आवाज भएर काम गर्न समेत सुझाव दिइन । नयाँ संविधानको स्थायीत्व र सङ्घीयताको कार्यान्वयनका लागि अब पत्रकारहरूले कलम चलाउनुपर्ने उनको भनाइ छ । अबको पत्रकारिता विकास र निर्माणमा केन्द्रित हुनुपर्ने भन्दै उनले जनअपेक्षित पत्रकारिताका लागि आग्रह गरिन् । यस्तै एमाओवादी प्रदेश नम्बर ६ का सचिव कालीबहादुर मल्लले पत्रकारहरूलाई कसैको दबाब र त्रासमा नरहन आग्रह गरे । जनयुद्धमा समेत पत्रकारहरूले स्वतन्त्र रूपमा काम गरेको भन्दै उनले जनताको पक्षमा कलम चलाउन सुझाव दिए । 
प्रदेश नम्बर ६ का इन्चार्ज सचिन रोकाको सभापतित्वमा भएको भेलामा पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष दीपक बुढा, प्रेस चौतारीका अध्यक्ष सूर्यप्रकाश कँडेल, प्रेस युनियनका सचिव गणेश कार्की र क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष टेकेन्द्र विश्वकर्मा लगायतले पत्रकारको पेसागत सुरक्षा र सामाजिक जिम्मेवारीको बारेमा बोलेका थिए । साथै उनीहरूले अबको पत्रकारिता जनताको पक्षमा हुनुपर्नेमा जोड दिएका छन् । भेलामा ६ नम्बर प्रदेश अन्तर्गतका भेरी र कर्णाली अञ्चलका सबै जिल्ला र राप्तीका रुकुम र सल्यानका पत्रकारहरूको सहभागिता रहेको थियो । उक्त भेलाले सुर्खेत घोषणापत्र समेत जारी गरेको छ । यसैबीच भेलाले देवीराम देवकोटाको संयोजकत्वमा २७ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । समितिको सदस्यहरूमा प्रदेश नं. ६ का १० जिल्लाका प्रतिनिधिहरू रहेका छन् । 
भेलाले यो प्रदेशमा निर्माणाधीन जलविद्युत आयोजनाहरूलाई तत्काल सम्पन्न गर्न र पत्रकारको भौतिक तथा पेसागत सुरक्षाको सुनिश्चित गर्न श्रमजीवि पत्रकार ऐन कार्यान्वयनका लागि सरकार र सम्पूर्ण सञ्चार माध्यमलाई माग गरेको छ ।
प्रकाशित मितिः   २ फाल्गुन २०७२, आईतवार १२:४०