प्रेम दिवसको सान्दर्भिकता

भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस विशेष गरी युवाहरूमाझ लोकप्रिय छ । तेस्रो इस्वी शताब्दीतिर रोम साम्राज्यमा अशान्ति फैलिरहेको अवस्था थियो । रोमन सम्राट क्लोडिअसले आफ्ना युवा सैनिकलाई विवाह गर्न प्रतिबन्ध गरेका थिए र युवा सैनिकको ध्यान राष्ट्रको हितमा मात्र लगाउन आदेश दिएका थिए । यसैबीच सन्त भ्यालेन्टाइन (पूजारी) एउटी प्रेमिकाको प्रेममा परेका थिए । रोमन सम्राटको आदेश एकातिर भए पनि आफ्नी प्रेमिकाको प्रेममा उनी डुबिसकेका 
थिए । उनको विवाह पनि भयो र विवाह भएकै कारण उनी जेल परे । फेब्रुअरी १४ मा जेलबाट उनले आफ्नी प्रेमिकालाई प्रेमपत्र लेखे र अन्त्यमा तिम्रो प्रेमी भ्यालेन्टाइन भनेर सम्बोधन गरेका थिए । त्यसै कारणलाई आधार मानेर फेबु्रअरी १४ लाई भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस भनेर मानिने गरेको किम्बदन्ती छ । किम्बदन्ती फरक–फरक हुन सक्छन्, जे होस्, एक युगल जोडीको प्रेम कथामा आधारित दिन हो फेब्रुअरी १४ अर्थात् प्रेम दिवस । यसको सुरुआत शदीऔँदेखि इटाली, अमेरिका, बेलायत लगायतका देशबाट भए पनि १०÷१५ वर्षयता नेपालमा पनि मनाउने प्रचलन छ । विशेषगरी युवा जमातमा आफ्ना प्रेमी प्रेमिकाबीच रातो गुलाब, भ्यालेन्टाइन चकलेट, कार्ड र उपहार आदान–प्रदान गर्ने प्रचलन बढ्दो छ ।
प्रेम दिवसको दिन युवाहरूमा एउटा छुट्टै रौनक र तरंग छाएको महसुस गर्न सकिन्छ । प्रेम गर्नु र प्रेम दिवस मनाउनु, कार्यक्रममा रमाउनु पटक्कै नराम्रो होइन, तर प्रेम दिवसले दिन खोजेको वास्तविक सन्देश बुझिएको छ कि छैन ? फेब्रुअरी १४ मात्र होइन, ३ सय ६५ दिन नै कसरी प्रेममय बनाउने ? आफ्नी प्रेमिकासँग मात्र होइन घर–परिवार, साथीभाइ, आफन्तमा कसरी प्रेमको सम्बन्ध राख्ने त्यो महŒवपूर्ण पक्ष हुन आउँछ । फेबु्रअरी १४ को भ्यालेन्टाइन डेको नक्कल गरिएको छ कि वास्तविक प्रेमको महŒव अनि व्यावहारिक पक्षको ख्याल गरिएको छ त्यो महŒवपूर्ण कुरा हो । प्रेमकै कारणले मानिसको जन्म हुन्छ । मानिस भएर जन्म लिएपछि गाँस, वास, कपास अनि जीवन जिउन प्रेम उसको पहिलो आवश्यकता हो भन्ने सबैलाई ज्ञात छ । त्यसपछि उसको कर्म, असल नियत र सही दिशानिर्देश भएमा अरू धेरै धन, पद, सम्मान आदि उपमा पनि चाहन्छ मानिस यो मानवीय स्वभाव हो भनेर अर्थ लगाइन्छ ।
प्रेम बाँच्ने आधार हो, प्रेम एकअर्काको गहिरो सम्बन्ध हो, प्रेमले खुलेर जिउन सिकाउँछ, प्रेमले मात्र खुशी प्रदान गर्छ । प्रेमबाट नै सम्बन्ध कायम रहन्छ र जीवन चल्छ । प्रेमको कारण घरपरिवारको सिर्जना हुन्छ । प्रेमकै कारण एकअर्कासँग जीवन बाँधिन पुगेको हुन्छ । प्रेमकै कारण एकले अर्कोलाई सहयोगी हात बढाएको हुन्छ र प्रेमले नै संसार चलेको छ । प्रेमी प्रेमिकाबीचको प्रेम होस या पतिपत्नीबीचको प्रेम, बाआमा र छोराछोरीबीचको प्रेम, साथीभाइ, इस्टमित्रबीचको प्रेम होस या अरू कुनै सम्बन्ध बनाएको प्रेम होस् । त्यसको महŒव र गरिमा उच्च हुन्छ । जसलाई बुझ्नु आवश्यक छ । प्रेम दिवसलाई युवा युवतिबीचको सम्बन्धमा मात्र सीमित नराखी आपसी सद्भाव, भाइचारा र प्रेम बाँड्ने पर्वको रूपमा यसलाई मनाउनेतर्फ ध्यान दिन जरुरी छ । यसको हुनसकेको खण्डमा मात्रै प्रेम दिवसले सार्थक रूप लिनेछ । प्रेम दिवसको नाममा भित्रिएका विकृतिहरू नियन्त्रण गर्नेतर्फ पनि सबैको ध्यान जान जरुरी छ ।
प्रकाशित मितिः   ३ फाल्गुन २०७२, सोमबार १०:०८