योजना कार्यान्वयनको गति

२०७७ मा सरकारले देशभरी तीन सय ९६ पालिकामा आधारभूत अस्पताल निर्माणको सुरुवात ग¥यो । प्रत्येक पालिकामा कम्तिमा १५ शैय्यासहितको अस्पताल निर्माण गर्ने सरकारी योजना थियो । पहिलो वर्ष कर्णाली प्रदेशमा ४२ वटा पालिका छनोट भएका थिए । तर उक्त योजना कार्यान्व्यनको गति भने निकै सुस्त छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी आधारभूत अस्पतालको निर्माण थालिए पनि उक्त योजना कार्यान्वय हुन सकेको छैन । कर्णालीका अधिकांश ठाउँमा भवन बन्न सकेका छैनन् । निर्माण सुरु भएकाको पनि प्रगति कछुवा गतिमा छ । भवन नबन्दा स्वास्थ्यचौकीको स्तरोन्नतिसमेत हुन सकेको छैन ।

दैलेखको नौमूले गाउँपालिकाको नौमूले प्राथमिक स्वाथ्य केन्द्रलाई अस्पतालको रूपमा स्तरोन्नति गर्नका लागि भवन निर्माण भइरहेको छ । सरकारले देशभरी १५ शैय्याको अस्पताल बनाउने नीति अनुरूप भवन निर्माणको काम भइरहेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा स्वीकृति पाएको थियो । आर्थिक वर्ष २०७८र०७९ मा निर्माणको काम सुरु गरिएको हो । तर प्रगति भने शून्यजस्तै छ । अस्पतालको भवन निर्माणको अवधि २०८० कार्तिकमा सकिदैछ । तर काम भने भरखर सुरु भएको छ । यस्तै दैलेखकै आठबिस नगरपालिकाको राकमकर्णाली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ शैय्याको अस्पताल बनाइदै छ । अस्पताल निर्माणको काम २०७८ मंसिरमा सुरु भएको हो । हालसम्म भवन निर्माण सम्पन्न भएको छैन । ठाटीकाँध गाउँपालिकाको लकान्द्र प्राथमिक स्वाथ्य केन्द्रलाई पनि अस्पतालको रूपमा स्तरोन्नति गरिँदैछ । हालसम्म अस्पताल भवन निर्माणको ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । आधारभूत अस्पताल निर्माणको कामले गति लिन सकेको छैन ।

नागरिकलाई चिकित्सक सहितको आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पतालको योजना अघि सारेको थियो । तर पूर्वाधार निर्माणमा भएको ढिलाइले सरकारको लक्ष्य पुरा हुन सकेको छैन । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने भवन निर्माणको काम कतिपय पालिकाले सुरुसमेत गरेका छैनन् । उक्त योजना अन्तरगत जिल्लाका स्थानीय तहमा कम्तीमा पाँचदेखि १५ वेडसम्मको अस्पताल निर्माण हुनुपर्ने हो । कर्णालीका केही पालिकामा अस्पताल भवन निर्माण कार्य जारी भएपनि केहीले जग्गा प्राप्ति गरेर मात्र राखेका छन् । निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माणको योजना बनाएको हो । आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाइ नागरिकको पहुँच स्थापित गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रकाशित मितिः   ८ आश्विन २०८०, सोमबार ०५:०३