ठेकेदारको लापरबाहीले भवन अलपत्र
सुर्खेत: प्रदेश राजधानीमा निर्माणाधीन संग्रहालय तथा अभिलेखालयको भवन बेवारिसे बनेको छ । भवन निर्माणको काम लामो समयदेखि अलपत्र परेको हो । निर्माणको जिम्मा पाएको अनिवार्य विल्डर्सले काम अधुरै छोडेर सम्पर्क विहीन हुँदा भवन अधुरो बनेको हो । आधा काम नसकिँदै निर्माण व्यवसायी सम्पर्कविहीन भएको बताइएको छ ।
कार्यालयको प्रशासनिक भवन निर्माण अलपत्र हुँदा दैनिक कार्यसम्पादनमा समेत असहज भइरहेको प्रदेश संग्रहालय तथा अभिलेखालयका प्रमुख अर्जुनबहादुुर शाहीले जनाए । उनका अनुसार तीन वर्षदेखि भवन निर्माणको काम अलपत्र छ । निर्माण कम्पनीलाई भवन निर्माणको बाँकी काम सम्पन्न गर्न भनिएको भए तापनि अटेरी गरिरहेको पाइएको छ ।
सम्झौताअनुसार उक्त भवन २०७८ असार मसान्तसम्म निर्माण भइसक्नुपर्ने थियो । निर्धारित समयावधिभित्र काम सम्पन्न नभएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०७८ मंसिर ६ गते पहिलो पटक म्याद थप गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार २०७८ चैतसम्म निर्माण सक्नुपर्ने भनिएको थियो । तर, अहिलेसम्म भवन निर्माणको काम अलपत्र छ ।
संग्रहालयसँग पर्याप्त भवन छैन । अहिले दुई वटा फाँटबाट हुनुपर्ने काम एउटै कोठाबाट गर्नुपरिरहेको कार्यालय प्रमुख शाहीले बताए । निर्माणाधीन भवन लामो समयदेखि अलपत्र परेको र पुरानो भवन साँघुरो हुँदा प्रशासनिक काममा बाधा पुगिरहेको उनले जनाए । शाहीका अनुसार समयमै भवन निर्माणको काम सम्पन्न नहुँदा संग्रहालयमा राखिनुपर्ने सजावटका सामानसमेत थप गर्न सकिएको छैन । संग्रहालयका सामान राख्ने ठाउँबाट प्रशासनिक काम भइरहेको छ ।
प्रदेश संग्रहालय तथा अभिलेखालयले ठेकेदार कम्पनीसँग २०७७ माघ १२ मा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार उक्त भवन २०७८ असार मसान्तसम्म निर्माण भइसक्नुपर्ने थियो । निर्धारित समयावधिभित्र काम सम्पन्न नभएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०७८ मंसिर ६ गते पहिलो पटक म्याद थप गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार २०७८ चैतसम्म निर्माण सक्नुपर्ने भनिएको थियो । तर, म्याद थप्दा पनि निर्माण व्यवसायीले काम भने अघि नबढाएको कार्यालयले जनाएको छ । अहिलेसम्म भवन निर्माणको काम अलपत्र छ । बारम्बार ताकेता गर्दा पनि निर्माण कार्य अलपत्र छोडेर सम्पर्कविहीन बनेको बताइएको छ । कार्यालय प्रमुख शाहीका अनुसार काम अलपत्र पार्ने निर्माण कम्पनीले दुई पटक गरी १५ लाख रूपैयाँ भुुक्तानी लिइसकेको छ । उक्त एक तले भवन बनाउन ६० लाख ७३ हजारमा सम्झौता भएको हो ।
तीन वर्षदेखि भवनको कामबीचमै अलपत्र पारिएको संग्रहालय प्रमुख शाही बताउँछन् । ‘ठेकेदारले काम गर्छु–गर्छु भन्दै झुक्काउने गरेको छ । बेलाबेलामा प्रदेश सरकारलाई समेत भवन निर्माण कार्य अगाडि बढाउन पहल गर्न भनिएको छ,’ उनले भने । कार्यालयले काम छिटो अघि बढाउन चार पटकभन्दा धेरै पत्र पठाइ सकेको छ । त्यति गर्दा पनि निर्माण व्यवसायीले बेवास्ता गर्दै आएको जनाइएको छ । ठेकेदारले पहिले कोरोना महामारी र मूल्यवृद्धिको बहाना बनाउँदै निर्माण अलपत्र पारेको कार्यालयले जनाएको छ ।
उक्त भवन पुस्तकालय, सभाहल र प्रशासनिक प्रयोजनका लागि निर्माण थालिएको थियो । भौतिक संरचना निर्माणमा ढिलाइ हुँदा साँघुरो भवनमा खुम्चिएर कार्यसम्पादन गर्नु परिरहेको छ । आवश्यक फाँटका लागि कोठा नहुँदा कार्य सम्पादनमा समस्या हुुने गरेको छ ।
यसैबीच कर्णाली प्रदेश सरकारले ठेकेदारको सम्झौता रद्ध गर्ने तयारी गरेको छ । धेरै पटक काम गर्न ताकेता गर्दा समेत समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीको सम्झौता रद्ध गरिने जनाइएको छ । खरिद नियमावली बमोजिम आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने तयारी भइरहेको मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए । सम्बन्धित मन्त्रालय, मन्त्रालय मातहतका कार्यालयलाई त्यस्ता अलपत्र छोडिएका पूर्वाधार निर्माण कार्यको विवरण संकलन गर्न भनिएको उनले बताए ।
प्रकाशित मितिः ८ आश्विन २०८०, सोमबार ०५:०५
साझा बिसौनी ।