पूर्वाधार विकासमा ढिलाइ

अर्थतन्त्रको बलियो खम्बा हो, पर्यटन । पर्यटन प्रवद्र्धन गरेर आर्थिक उन्नति गर्न सकिन्छ । त्यसमाथि कर्णाली प्रदेशमा पर्यटन विकासको प्रचुर सम्भावना छ । यहाँ प्राकृतिक रूपमा थुप्रै सम्पदाहरू छन् । धार्मिक तथा सांस्कृतिक धरोहर छन् । जसलाई पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार विकास गर्न भने जरुरी छ । तर पूर्वाधार विकासमै सरकार चुकेको छ । बेवास्ता हुने गरेको छ । योजना बनाउने त कार्यान्वयन नहुने समस्या जस्ताको त्यस्तै छ । अहिले मुलुकमा तीन तहका सरकार छन् । तीन तहका सरकारको प्राथमिकतामा पूर्वाधार विकास निर्माणका योजना धमाधम अगाडि सारिएको छ । तर सरकारले आवश्यकता र प्राथमिकीकरण गर्न नसक्दा ती योजना कार्यान्वयन शून्य बनेका छन् ।

पछिल्लो समय मुगु जिल्लामा ठूला पूर्वाधार योजना बनेका छन् । तर कार्यान्वयन भने हुन सकेका छैनन् । आर्थिक वर्ष २०७७÷०७८ मा ल्याइएको रारा–मुर्माटप केबलकारको योजना अलपत्र परेको छ । उक्त योजना संघीय र प्रदेश सरकारको नीति–कार्यक्रममा परेको भएपनि व्यवहारमा प्रगतिशून्य छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा मुगुको रारा–मुर्माटपलगायतका स्थानहरूमा केबलकार निर्माणको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने नीति तथा कार्यक्रममा राखेको थियो । उक्त योजना सरकारको नीति तथा कार्यक्रममा सीमित बनेको हो । प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रम र बजेटमा केबलकारको सपना देखाएको सरकारले हालसम्म पनि उक्त आयोजनालाई गति दिन सकेको छैन । कर्णालीको पर्यटन प्रवद्र्धन, आवागमन र आर्थिक विकासका गतिविधिहरूलाई टेवा पुग्ने उद्देश्यले सरकारले रारा–मुर्माटप केबलकारको योजना बनाएको थियो । पछिल्ला आर्थिक वर्षहरूमा केबलकारको योजना समेटिएको छैन ।

अन्य प्रदेशका हिसाबमा कर्णाली प्रदेश प्राकृतिक स्रोत साधनले भरीपूर्ण तथा धनी छ । भौगोलिक विकटताका कारण त्यहाँ पुग्ने पर्यटकलाई सास्ती हुनेगरेको छ । पूर्वाधार निर्माणका सरकारी योजना भने कार्यान्वयन हुन सकेका छैनन् । कतिपय योजना राजनीतिक सपनाका रूपमा आएका छन् त कतिपय आवश्यकता अनुरूपकै छन् । तर भएकै योजना कार्यान्वयन गरिनसक्दै अर्को विकल्प थप्दै जाने तर कुनै पनि योजना पूरा नहुनाले सरकारले अघि सारेका कार्यक्रम अधुरा बनेका छन् । पर्यटन प्रवद्र्धनका लागि कम योजना बन्नु, प्राथमिकीकरण नुहुनु, लगानीको व्यवस्था नहुनु, हचुवाको भरमा योजना बनाउँदा यी योजना कार्यान्वयनमा समस्या देखिएको हो । आवश्यकता पहिचान गर्न नसक्दा पर्यटन पूर्वाधारका योजना अन्योलमा छन् ।

प्रकाशित मितिः   ७ आश्विन २०८०, आईतवार ०५:०३