न्यायमा पहुँचका लागि अभिमुखिकरण गरिने

सुर्खेत: अपाङ्गता लक्षित प्रमाणमा आधारित अभिमुखिकरण कार्यक्रम गरिने भएको छ । जिल्ला न्यायाधिवक्ताको कार्यालयले न्यायमा पहुँच सहजीकरणका लागि सुर्खेतमा अभिमुखिकरण गर्ने जनाएको छ । शुक्रवार राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशका प्रतिनिधिहरूसँगको छलफलमा यस्तो प्रतिबद्धता जनाइएको हो ।

न्यायाधिवक्ता नविनकुमार भट्टले अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच वृद्धि गर्न र सरकारी वकिल कार्यालय प्रदान गर्ने सेवा प्रवाहका बारे जानकारी दिने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरिने जनाए । सरकारी वकिल कार्यालयमा भएको छलफलमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेशकुमार खड्काले अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा सहज पहुँच नभएको बताएका थिए । उनले त्यसमा पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू पीडित रहेका मुद्दाहरूमा प्रक्रियागत ढिलाइ हुने गरेको भन्दै सरकारी वकिल कार्यालयले उनीहरूका मुद्दाको अभियोजन, बयान र बहस लगायतका कुरामा प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरूले न्यायमा पहुँचका लागि प्रमाण कुन महŒवपूर्ण हो र कसरी सुरक्षा गर्ने लगायतका विषयमा जानकारीको अभावमा अहिले पनि कतिपय व्यक्तिहरू अन्याय सहेरै बसिरहेको बताएका थिए । राज्यले प्रदान गरिरहेका सेवा सुविधाको बारेमा जानकारी र न्यायिक प्रक्रियाका लागि बृहत सचेतना सबै प्रकारका अपाङ्गता भएकाहरूलाई जरुरी रहेको सहभागी अपाङ्गता अधिकारकर्मीहरूको भनाइ थियो ।

कार्यक्रममा सुर्खेतस्थित सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता, राष्ट्रिय अपाङ्ग महासंघका प्रदेश जनवकालत अधिकृत जितलाल ढकाल र स्थानीय जनवकालत समिति वीरेन्द्रनगरका संयोजक वसन्त जैशीसहित अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   ६ आश्विन २०८०, शनिबार १२:१८