औद्योगिक ग्राम निर्माण कार्य सुस्त

सुर्खेत: संघीय सरकारले आर्थिक वर्ष २०७६/०७७ बाट औद्योगिक ग्राम निर्माण योजना ल्यायो । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ नीतिअन्तर्गत कार्यक्रम अघि बढाइएको हो । तर यसको कार्यान्वयन भने निकै सुस्त देखिएको छ ।

स्थानीय तहहरूले औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएपछि भौतिक संरचना निर्माण गर्नेगरी रकम व्यवस्थापन संघीय सरकारले गर्ने गरेको छ । छरिएर रहेका उद्योगलाई एकै स्थानमा समेटेर स्थानीय स्रोतसाधन, कच्चा पदार्थ, प्रविधि र सीप प्रयोग गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले निर्माण थालिएको औद्योगिक ग्रामको काम सुस्त गतिमा छ ।

कालीकोटको शुभकालिका गाउँपालिका वडा नं. ४ राराकाटियामा औद्योगिक ग्राम निर्माणको काम थालिएको छ । करिब ५५ रोपनी सार्वजनिक जग्गामा ग्राम स्थापना गरिनेछ । आर्थिक वर्ष २०७७÷०७८ मा औद्योगिक ग्रामका लागि पालिका छनोटमा परेको थियो । सोही आर्थिक वर्षमा ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरिएको छ । संघीय सरकारले ग्राम स्थापनाका लागि ९३ लाख बजेट पालिकामा पठाएको थियो । सोही बजेटमा रहेर आर्थिक वर्ष २०७९÷०८० मा ग्राम निर्माणको काम सुरु भयो । अहिले कामको गति निकै सुस्त छ । सरकारले पहिलो चरणमा पठाएको बजेट अनुसार नै काम भइरहेको छ ।

२०७९ कार्तिकमा आएको अविरल वर्षाले कच्ची सडक भत्काएपछि काम पुनः सुरु गर्नुपरेकाले ढिलाइ भएको गाउँपालिकाका इन्जिनियर नरेन्द्रप्रसाद चौलागाईले जनाए । उनका अनुसार १४ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न भएको छ । अब फिल्ड निर्माण, घेरबार, प्रशासनिक भवन, शौचालयलगायतका काम हुनेछ । उनले भने, ‘अहिले भएकै बजेटमा काम भइरहेको छ । थप बजेट आवश्यक परे माग गर्ने छौँ । सुस्त गतिमा भइरहेको कामलाई धमाधम अघि बढाइने छ ।’ अहिले कामको सुरुवात भइरहेको भन्दै इन्जिनियर चौलागाईले काम गर्न धेरै बाँकी रहेको बताए । अब भने प्रगति देखिनेगरी काम हुने उनको भनाइ छ । भौगोलिक बनावटले पनि काम गर्न समस्या हुनेगरेको जनाए ।

यस्तै जाजरकोटको शिवालय गाउँपालिका वडा नं. ४ मा थालिएको औद्योगिक ग्राम निर्माणको काम अन्यौलमा रहेको छ । आर्थिक वर्ष २०७७÷०७८ बाट काम थालिएको थियो । औद्योगिक ग्रामका लागि काम सुरु गरिएको ठाउँ नागरिकको पाएक नपर्ने भन्दै गाउँपालिकाले काम अघि नबढाएको हो । गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले अघिल्लो कार्यकालमा पालिकाले अध्ययन नगरी काम अघि बढाएको बताए । उनका अनुसार काम सुरु गरिएको ठाउँ नागरिकको अनुकूल छैन । शाहीले भने, ‘औद्योगिक ग्रामको केही काम भएको छ । तर ग्राम निर्माण भइरहेको ठाउँबाट बस्ती टाढा छ । नागरिकले सहज रूपमा आउजाउ गर्न सक्दैनन् । यसको विकल्प खोज्न पालिकाले संघिय सरकारसँग माग गरेको छ ।’

शिवालय गाउँपालिका वडा नं. ४ मा ४८ रोपनी जग्गामा ग्राम स्थापना गर्नेगरी काम सुरु गरिएको थियो । हाल ग्राम स्थापनाका लागि ठाउँ उपयुक्त नभएको भन्दै पालिकाले काम रोकेको छ । २०७८ मा ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेको छ । पहुँचमार्ग निर्माण, फिल्ड निर्माणको काम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा काम सुरु भएको हो । संघीय सरकारले त्यतिबेला ९२ लाख बजेट पठाएको थियो । उक्त बजेटमा सुरुवाती चरणका काम भएका छन् । आर्थिक वर्ष २०७८÷०७९ मा भने सरकारले बजेट पठाएन । आर्थिक वर्ष २०७९÷०८० मा पुनः ग्राम स्थापनाका लागि पूर्वाधार निर्माण गर्ने भन्दै संघीय सरकारले ८० लाख बजेट पठाएको छ । तर उक्त बजेट कार्यन्वयन हुन नसकेको गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख वीसबहादुर बुढाले बताए । उनका अनुसार औद्योगिक ग्रामको काम अन्यौल बनेको छ । ‘ग्राम निर्माणको आधा काम भइसक्दा ठाउँ उपयुक्त भएन भनिएको छ’ बुढाले भने ।

औद्योगिक ग्राम स्थापनाका लागि हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा ३०, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा सात बिघा जमिन हुनुपर्ने औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७५ मा उल्लेख छ । जग्गाको बनोट नमिलेको भन्दै शिवालय गाउँपालिका जाजरकोटमा काम रोकिएको छ ।

प्रकाशित मितिः   ५ आश्विन २०८०, शुक्रबार ०५:०५