कृषि प्रयोगशालामा जनशक्ति अभाव

सुर्खेत: प्रदेशको एकीकृत कृषि प्रयोगशालाले जनशक्तिको अभाव झेलिरहेको छ । प्रयोगशालाको सेवा क्षेत्र विस्तार भए तापनि जनशक्ति पर्याप्त छैन । जनशक्ति अभाव हुँदा दैनिक कार्यसम्पादनमा समेत समस्या हुने गरेको कार्यालय प्रमुख परशुराम रावतले बताए ।

कर्णाली प्रदेशमा रहेको एकमात्र प्रयोगशालाका पाँच वटा शाखाहरू छन् । कार्यालयले तीन वटा प्रयोगशाला एकै स्थानबाट सञ्चालन गरिरहेको छ । बीउबीजन परीक्षण प्रयोगशाला, माटो परीक्षण प्रयोगशाला र बाली संरक्षण प्रयोगशाला सञ्चालन गरिरहेको हो । कार्यालयलाई कपुरकोट र हर्रेमा विषादी परीक्षण प्रयोगशाला हेर्ने जिम्मेवारी रहेको छ । पछिल्लो समय कार्यालयमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । पर्याप्त जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको रावतको भनाइ छ । ‘तीन वटा प्रयोगशाला सञ्चालनका लागि जनशक्ति पर्याप्त छैन’ उनले भने, ‘भएका कर्मचारी बिदामा र सरुवा भएर जादा थप समस्या भएको छ ।’

 

कार्यालयमा स्वीकृत दरबन्दी १८ जनाको हो । हाल स्थायी कार्यरत १३ जना रहेका छन् । पाँच वटा दरबन्दी रिक्त छन् । १३ जना स्थायी कार्यरत कर्मचारीमध्ये प्राविधिक कर्मचारी सात जना रहेका छन् ।

 

कार्यालय सञ्चालनका लागि दरबन्दी नै अपुग रहेको र कायम गरिएको दरबन्दी समेत रिक्त हुँदा समस्या भइरहेको छ । पाँच वटा शाखा सञ्चालनका लागि कायम गरिएको दरबन्दी अपुग हुने कार्यालयले जनाएको छ । कार्यालयमा स्वीकृत दरबन्दी १८ जनाको हो । हाल स्थायी कार्यरत १३ जना रहेका छन् । पाँच वटा दरबन्दी रिक्त छन् । १३ जना स्थायी कार्यरत कर्मचारीमध्ये प्राविधिक कर्मचारी सात जना रहेका छन् । प्रयोगशालामा प्राविधिक कर्मचारी अभाव रहेको प्रमुख रावतले बताए ।

एकीकृत कृषि प्रयोगशालाले कार्यालयबाटै तीन वटा प्रयोगशाला सञ्चालन गरिरहेको छ भने सल्यानको कपुरकोट र पूर्वी सुर्खेतको हर्रेबाट विषादी परीक्षण प्रयोगशाला पनि एकीकृत कृषि प्रयोगशाला मातहतमा रहेका छन् । १८ दरबन्दी कायम गरेर पाँच वटा भिन्न–भिन्न शाखा हेर्ने जिम्वेवारी प्रयोगशालालाई दिइएको छ । परीक्षण प्रयोगशालामा प्राविधिक जनशक्ति नहुँदा ल्याब सेवा प्रभावकारी हुन सकेको छैन ।

 

सञ्चालन भएन विषादी परीक्षण प्रयोगशाला

प्रदेश सरकारले सल्यानको कपुरकोट र पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाको हर्रेबाट विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने जनाएको छ । तर अहिलेसम्म विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएका छैनन् । सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ मा कार्यालय स्थापना भएपनि विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आउन सकेको छैन । कार्यालय स्थापना भएको दुई वर्ष बितिसक्दा पनि प्रयोगशाला सञ्चालन हुन नसकेको हो ।

प्रदेशको एकीकृत प्रयोगशालाबाट दुई जना कर्मचारी परिचालन गरेर कार्यालयका अन्य काम सञ्चालन भइरहेपनि विषादी परीक्षण प्रयोगशाला सञ्चालन भएको छैन । उपकरण उपलब्ध नभएकाले विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा नआएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । एक÷दुई महिनामा सल्यान र भेरीगंगामा विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ ।

कर्णाली प्रदेशका प्रवेश गर्ने दुई नाकामा प्रविधिसहितको विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी भइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले बताए । यसै वर्षमा सल्यानको कपुरकोट र सुर्खेतको हर्रेडाँडाबाट तथ्याङ्क व्यवस्थापन र प्रविधिसहित विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइने उनले जानकारी दिए । मन्त्री शर्माले कर्णाली प्रदेशको उत्पादन आयत निर्यात तथ्याङ्क व्यवस्थापन तथा विषादी परीक्षण प्रयोगशाला तत्काल सञ्चालन गर्ने बताए । उनका अनुसार कर्णाली प्रदेश तरकारी उत्पादनमा आत्मनिर्भर भएकाले भारतीय विषादीसहितको तरकारी रोक्न कपुरकोट र हर्रेडाँडामा विषादी परीक्षण प्रयोगशाला तत्काल सञ्चालन गर्न आवश्यक रहेको छ । प्रयोगशाला सञ्चालनका लागि भारतबाट उपकरण खरिद गरेर ल्याइने छ । मन्त्री शर्माले भने, ‘एउटा उपकरण नेपाल ल्याइसकिएको छ । अन्य आवश्यक उपकरण खरिद गरेर विषादी प्रयोगशाला सञ्चालन गर्नेगरी तयारी भएको छ ।’

प्रकाशित मितिः   ४ आश्विन २०८०, बिहीबार ०५:०५