कभर्ड हल निर्माणमा बजेट अभाव

 

सुर्खेत: कभर्ड हल निर्माणका लागि बजेट अभाव भएको छ । तीन वर्षअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको कालीकोटस्थित कभर्ड हलका लागि आर्थिक अभावका कारण निर्माणमा बाधा देखिएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा डीपीआर निर्माण गरिएको हो । डिपीआर अनुसार १४ करोड लागत अनुमान रहेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश सरकारले कभर्डहल निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको छ भने संघीय सरकारले ६० लाख विनियोजन गरेको छ । पर्याप्त बजेट नहुँदा कभर्डहल निर्माणको काम सुरु हुन सकेको छैन । आवश्यक बजेट नभएकै कारण टेण्डर हुन नसकेको जनाइएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश शाही सरकारले विनियोजन गरेको बजेट न्यून हुँदा काम अघि बढाउन नसकिएको बताए ।

 

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर कालीकोट र जाजरकोटमा निर्माण गर्ने भनिएका कभर्ड हलका लागि बजेट अपुग भएको छ । सरकारले पर्याप्त बजेट नछुट्याउँदा पूर्वाधार निर्माणमा ढिलाइ भइरहेको छ ।

 

संघ र प्रदेश सरकारको गरी एक करोड २० लाख बजेट छुट्याइएको छ । यद्यपि, उक्त बजेट अपुग हुने भएपछि दाताहरूको खोजी भइरहेको अध्यक्ष शाहीले बताए । सरकारले पठाएको बजेटले काम सुरु गर्न नसकिने भन्दै उनले बजेट थप गर्न दुई तहकै सरकारसँग माग गरिएको जानकारी दिए । उनले भने, ‘डीपीआर अनुसार कभर्ड हल निर्माणका लागि न्यूनतम् दश करोड बजेट आवश्यक पर्छ । सरकारले छुट्टाएको बजेट कम र अन्य स्रोत नहुँदा काम अघि बढ्न नसकेको हो ।’ कभर्डहल निर्माणका लागि जिल्ला खेलकुद विकास समितिको जग्गा पर्याप्त रहेको छ । तर बजेट न्यून हुँदा काम सुरु हुन नसकेको हो ।

यस्तै जाजरकोटमा पनि प्रस्तावित कभर्ड हल निर्माणका लागि बजेट नै अपुग भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन गरेको छ । तर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरबहादुर बस्नेतले प्रदेश सरकारले विनियोजन गरेको बजेटमा पूर्वाधारको कुनै काम गर्न नसकिने बताए । जिल्लामा कभर्ड हल निर्माणका लागि २०७२ सालमा डीपीआर निर्माण भएको छ । उक्त डीपीआर अनुसार करिब ६ करोड लागत अनुमान रहेको छ । पूर्वाधार निर्माण गर्न सरकारले छुट्टाएको बजेट अपुग हुने अध्यक्ष बस्नेतको भनाइ छ । चालु आर्थिक वर्षमा विनियोजन बजेटले कभर्ड हल निर्माण हुन नसक्ने उनले जनाए । ‘पाँच करोड ९० लाखको डीपीआर निर्माण भएको छ । सरकारले पाँच लाख मात्र विनियोजन गरेको छ । अन्य श्रोत नभएकाले कभर्डहल निर्माणमा समस्या देखिएको हो’ बस्नेतले भने ।

अघिल्ला वर्षहरूमा समेत बजेट अभावले कभर्ड हल निर्माणको काम हुन सकेको थिएन । प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर विनियोजन गरेको बजेट जिल्ला खेलकुद विकास समितिले अस्वीकार गरेको हो । बजेट अभावकै कारण २०७२ मा बनेको डीपीआर कार्यान्वयनमा आउन सकेको छैन । भेरी नगरपालिका वडा नं. ३ मा रहेको जिल्ला खेलकुद विकास समितिको जग्गामा कभर्डहल निर्माण गर्ने भनिएको छ । तर कम बजेट हुँदा निर्माणको काम सुरु गरिएको छैन । जाजरकोटमा निर्माण गरिने कभर्डहल निर्माणका लागि संघीय सरकारले बजेट नै विनियोजन गरेको छैन ।

यता कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले भने जाजरकोट र कालीकोटमा कभर्ड हल निर्माणको काम सुरु गर्ने तयारी भइरहेको जनाएको छ । परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जाजरकोटमा कभर्ड हल निर्माणका लागि थप बजेट सरकारसँग माग गरिएको जनाए । कभर्डहलहरूको स्तरोन्नतिका लागि संघीय सरकारको तीन करोड र प्रदेश सरकारको दुई करोड बजेट रहेको उनको भनाइ छ ।

प्रदेश रंगशालाको ६५ प्रतिशत काम सम्पन्न

यसैबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी निर्माण थालिएको वीरेन्द्रनगरस्थित प्रदेश रंगशालाको ६५ प्रतिशत काम सम्पन्न भएको छ । रंगशाला अन्तर्गत अन्तर्राष्ट्रियस्तरको कभर्डहलको ‘स्टक्चर’ को सबै काम सम्पन्न भएको हो । फुटबल मैदानको काम पनि सकिएको छ भने प्याराफिट निर्माणको ६५ प्रतिशत काम सम्पन्न भएको छ ।

प्रदेश रंगशालामा १४ प्रकारका खेल सञ्चालन गर्ने तयारी छ । फुटबल मैदानका साथै भलिबल कभर्ड हल, एथलेटिक्स ट्रयाक र स्विमिङ पुल निर्माणका काम भइरहेका छन् । त्यस्तै, भीआईपी प्याराफिटको दुईतले भवन, खेलाडीको चेन्जिङ कोठा, शौचालय, सावर, मिक्स जोन, मिडिया रुम, पार्किङसहित एक हजार पाँच सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल निर्माण हुने परिषद्ले जनाएको छ । प्रदेश रंगशालामै ह्यान्डबल र बासकेट बललगायत खेलका लागि आउटडोर पनि बनाइनेछ ।

प्रदेश रंगशालाबाहेक पनि विभिन्न जिल्लामा खेल पूर्वाधार निर्माणको योजना बनाइएको छ । प्रदेश सरकार र खेलकुद परिषद्ले खेल पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको सदस्य सचिव सञ्ज्यालले बताए । तर बजेट मुख्य चुनौती बनेको उनको भनाइ छ । निर्माण थालिएका सबै संरचना प्रतियोगिता हुनुअगावै पूर्णरूपमा तयारी अवस्थामा राखिने गरी तयारीमा लागेको हो । उनका अनुसार प्रदेश रंगशाला २०८१ जेठ ११ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

प्रकाशित मितिः   ३ आश्विन २०८०, बुधबार ११:५८