सम्पदाको संरक्षण

प्राकृतिक सम्पदाहरूले भरिपूर्ण छ कर्णाली । नदी, ताल र झरनाहरू प्रदेशको शोभा र सम्पत्ति हुन् । नेपालकै सबैभन्दा ठूलो रारा तालदेखि सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालसमेत कर्णालीभित्रै छन् । यस्ता अनेक तालहरू यहाँका आकर्षण हुन् । पहिचान भएका ताल मात्रै होइन, पहिचान हुन नसकेका अन्य थुप्रै ताल रहेको आँकलन गरिएको छ । पछिल्लो समय नयाँ–नयाँ तालहरूसमेत फेला पर्न थालेका छन् । हालै मात्रै डोल्पामा दुई वटा नयाँ ताल फेला परेका छन् । यसले पनि के देखाउँछ भने कर्णाली प्रदेशभित्र पहिचान नभइसकेका तालहरू छन् । जसको खोजी हुन सकेको छैन । यद्यपि, पछिल्लो समय स्थानीय सरकारहरू यसतर्फ सक्रिय भएका छन् । नयाँ तालको खोजी र संरक्षणमा जुटेका छन् ।

डोल्पाका स्थानीय सरकारले ताल खोजीलाई तीव्रता दिएका छन् । पर्यटन प्रवद्र्धन र आन्तरिक आयस्रोत वृद्धि गर्नका लागि पालिकाभित्र रहेका नयाँ ताल र प्राकृतिक सम्पादको खोजीमा लागेका हुन् । डोल्पो बुद्ध गाउँपालिकाले हालैमात्र नयाँ ताल फेला पारेको छ । पाँच हजार एक सय ९० मिटर उचाइमा नयाँ ताल फेला परेको हो । समुन्द्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिका वडा नं. ६ फालगाउँको हिमालमा नयाँ तालको रूपमा स्थानीयले कुन्ख्येन फालक ताल पहिचान गरेका हुन् । स्थानीयले नै तालको नामाकरण गरेका छन् । आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले डोल्पो बुद्धले हिमतालको खोजी गर्ने योजना अघि सारेको थियो । पर्यटकीय सम्पदाहरूको खोजी, पहिचान र प्रचारमार्फत पर्यटक भित्र्याउने र पालिकाको आन्तरिक आम्दानी वृद्धि गर्ने लक्ष्य पालिकाले राखेको छ । डोल्पाकै छार्काताङसोङ गाउँपालिकामा पनि नयाँ ताल भेटिएको छ । सबैभन्दा अग्लो स्थानमा भेटिएको भनिएको नयाँ ताल छार्कताङसोङ गाउँपालिका वडा नं. १ स्थित उच्च मानव बसोवास भएको छार्कभोटमा युवाहरूले पहिचान गरेका हुन् । सर्वेक्षणको क्रममा पङभोर नामले चिनिने तालको उचाई हालसम्मकै सबैभन्दा अग्लो रहेको दाबी गरिएको छ । समुन्द्र सतहदेखी पाँच हजार पाँच सय ५० दशमलव नौ मिटरको उचाईमा ताल रहेको बताइएको छ ।

एकपछि अर्को गरेर ताल फेला पर्दै जानुले डोल्पा ताल तलैयाहरूको भण्डार मानिएको छ । डोल्पामा मात्रै होइन कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा पनि यस्ता थुप्रै ताल भएको अनुमान गरिएको छ । स्थानीय सरकार र प्रदेश सरकारले त्यस्ता तालहरूको पहिचान, संरक्षण र प्रचार प्रसारमा ध्यान दिन जरुरी छ । यसरी प्राकृतिक सम्पदाहरूको संरक्षणका साथसाथै पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउन सकिन्छ ।

प्रकाशित मितिः   ३ आश्विन २०८०, बुधबार १२:०१