‘स्मार्ट सिटी’को गुरुयोजना बनाइँदै
सुर्खेत: पूर्वी सुर्खेतका तीन वटा पालिका समेटेर आधुनिक सहर (स्मार्ट सिटी) बनाउने योजना कार्यान्वयन हुने भएको छ । भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई जोड्नेगरी भेरी किनारमा नमुना आधुनिक सहर बनाउन गुरुयोजना निर्माणको काम अघि बढाइएको छ । नयाँ सहर आयोजना समन्वय केन्द्रीय कार्यालयले नदी किनारका क्षेत्रहरूलाई समेटेर गुरुयोजनाको काम सुरु गरेको हो ।
आयोजनाका अनुसार अबको दुई वर्षमा गुरुयोजना तयार हुनेछ । त्यसपछि भने गुरुयोजनाअनुसार काम थालिने जनाइएको छ । यातायातको सुगमता, जमिनको उपलब्धता, खानेपानीको स्रोत, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अव्यवस्थिति र जनसंख्या आदिको आधारमा सहरको गुरुयोजना एवम् विस्तृत परियोजना प्रतिवेदन तयार गर्न लागिएको हो । चरणबद्धरूपमा आधुनिक सहरको निर्माण गर्ने कार्य थालनी भइसकेको आयोजना प्रमुख रामकृष्ण आचार्यले जनाए ।
गुर्भाकोट नगरपालिका वडा नं. ८ को मेहेलकुनामा आयोजनाको कार्यालय स्थापना गरिएको छ । गत वैशाखमा कार्यालय स्थापना गरेर काम सुरु गरिएको प्रमुख आचार्यले बताए । उनका अनुसार भेरी किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर निर्माण प्रक्रिया अन्तर्गत गुरुयोजना निर्माणको काम सुरु भइसकेको छ । पहिलो चरणमा भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई समावेश गरेर गुरुयोजना तयार हुनेछ ।
आधुनिक सहरअन्तर्गत मेहलकुनामा सिटी हल, गुमीमा बहुउद्देश्यीय हल, छिन्चुमा आधुनिक बसपार्कलगायतका संरचना निर्माण गर्ने तयारी गरिएको छ । आयोजना प्रमुख आचार्यले बसपार्क निर्माण, पर्यटकीय क्षेत्रको प्रवद्र्धन, सहरी सडक निर्माणलगायतका कार्य भइरहेको जानकारी दिए । कुन क्षेत्रमा के–के सम्भावना छन् र त्यसलाई कसरी लागू गर्ने भन्ने विषय गुरुयोजनाले तय गर्नेछ ।
भेरी किनारमा आधुनिक सहर निर्माण योजनाको सुरुवात २०७३ सालमा भएको हो । सरकारले देशभर नै ४० आधुनिक सहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अनुसार भेरीगंगा उपत्यकालाई नयाँ सहरको रूपमा अगाडि सारेको थियो । प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रममा समेटिने नयाँ सहरको कामको प्रगतिका हिसाबले प्रभावकारीरूपमा अगाडि बढ्न भने सकेको छैन । तर यो वर्षदेखि छुट्टै कार्यालय स्थापना गरेर कामको सुरुवात गरिएको छ । योजना पुरानै भएपनि काम भने यो वर्षबाट सुरु भएको भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए । उनले भने, ‘नयाँ सहरबारे अवधारणा आएको एघारौँ वर्ष भयो, यो पटक केही कामको सुरुवात भएको छ । यसै क्षेत्रले मन्त्री पाएकाले नयाँ सहर योजनाले पूर्णता पाउने आशा छ ।’
गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुन पनि आयोजना अघि बढ्नेमा आशावादी बनेका छन् । केही वर्षदेखि अलपत्र परेको नयाँ सहर योजना सुरु हुन लागेको भन्दै उनले स्थानीय सरकारले समेत सहयोग गरिरहेको जानकारी दिए । ‘संघीय सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यो विषय समावेश गरेकाले काम अघि बढ्ने विश्वास हामीले लिएका छौँ’ पुनले भने, ‘विगत ६ वर्षदेखि बजेट अभावमा यो काम ओझेलमा पर्दै आएको थियो । यो वर्ष भने कार्यालय स्थापना गरेर काम सुरु भएको छ ।’
गुरुयोजना निर्माणका लागि सरकारले विनियोजन गरेको बजेट भने न्यून छ । सहरी विकास मन्त्रालयले गुरुयोजना निर्माणका लागि भनेर डेढ करोड बजेट छुट्टाएको छ । पाँच करोड प्रस्ताव गरिएकोमा न्यून बजेट स्वीकृत भएको आयोजना प्रमुख आचार्यले जनाए । उक्त बजेट काम गर्नका लागि पर्याप्त नहुने जनाइएको छ । कम बजेटमा काम गर्नुपर्दा समस्या हुने भन्दै उनले बजेट बढाउन सरकारसँग माग गरिएको जानकारी दिए । आयोजना कार्यान्वयनका लागि भने आठ करोड बजेट विनियोजन भएको छ ।
पहिलो चरणमा पूर्वी सुर्खेतमा आयोजना कार्यान्वयन गरेर आगामी दिनमा भने जिल्लाकै अन्य क्षेत्रमा पनि नमुना आधुनिक सहर निर्माण गर्न सकिने छ । पूर्वको घोरेटादेखि पश्चिम सुर्खेतको कर्णाली र भेरीको दोभानघाट गाउँसम्मलाई जोडेर आधुनिक सहर निर्माण गर्न सकिने जनाइएको छ ।
प्रकाशित मितिः २५ भाद्र २०८०, सोमबार ०५:०५
रजनी याेगी ।