भवन निर्माणमा ढिलाइ

पूर्वाधार विकासमा सधैँ ढिलासुस्ती हुने गरेको छ । सडक आयोजनादेखि भवन निर्माणसम्मका काम समयमै सम्पन्न हुँदैनन् । विभिन्न बहानामा समयमै काम नसक्ने र पटक–पटक म्याद थप्ने प्रवृत्ति व्याप्त छ । कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणमा पनि यस्तै देखिएको छ । सम्झौताअनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन । त्यति मात्रै होइन एक पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन सकेन । अहिले दोस्रो पटक समयावधि थप्नका लागि कसरत थालिएको छ ।

जगदम्बा शिवालय सुपरस्ट्रार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसारको अवधिमा काम नसकिएपछि म्याद थप गरिएको थियो । थप गरिएको समयाअवधि सकिनै लाग्दासमेत भवन निर्माणको कामले गति लिन सकेको छैन । बरु निर्माण कम्पनीले दोस्रो पटक म्याद थपका लागि निवेदन पेस गरेको छ । पहिलो पटक थपिएको म्यादअनुसार एक महिना बाँकी रहेको छ । तर काम गर्न धेरै बाँकी छ । भवन निर्माणका लागि म्याद थप गर्न संघीय आयोजना तथा कार्यान्वयन इकाइमा निर्माण कम्पनीले निवेदन पेस गरेको छ । कम्पनीले सामान ढुवानी बाहिरी जिल्लाबाट गर्नुपर्दा ढिलाइ भएको दाबी गरेको छ । यस्तै कोरोना महामारी, स्थानीय निर्वाचन, मूल्यवृद्धि, निर्माण सामग्रीको उपलब्धता नहुनु लगायतका कारण समयमा नै काम गर्न नसकिएको भन्दै वर्षाले समेत काममा असर पारेको जिकिर छ । अहिले कम्पनीले पाँच महिना म्याद थपका लागि निवेदन पेस गरेको हो । एक पटक म्याद थप भए तापनि भवन निर्माणको काम सुस्त भएकाले समयमै काम सम्पन्न हुनेमा आशंका व्यक्त गरिएको छ ।

भवन निर्माणमा ढिलाइ हुँदा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र भने एक वर्षदेखि भाडाको घरबाट सञ्चालन भइरहेको छ । मासिक ४० हजार तिरेर भाडाको घरबाट आपूर्ति केन्द्र सञ्चालन भइरहेको हो । भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधि नेपालगञ्जमा स्ट्रोर गर्ने गरिएको छ । औषधि भण्डारका लागि ठाउँ नहुँदा जिल्लाबाट माग भएका र तत्काल जिल्लामा पठाउनुपर्ने औषधि मात्र केन्द्रमा ल्याउने गरिएको छ । प्रदेश सरकारले ४१ प्रकारका औषधि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत् खरिद गर्दै आएको छ । केन्द्रले खोप तथा खोपजन्य सामग्री प्रदेशका दश वटै जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध गराउँदै आएको हो । भवन नहँुदा औषधि भण्डारण गर्न समस्या हुने गरेको छ ।

प्रकाशित मितिः   २५ भाद्र २०८०, सोमबार ०५:०३