जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै कांग्रेस

सुर्खेत: नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । पालिकाका प्रमुख र उपप्रमुखहरूलाई प्रशिक्षण दिन लागिएको हो ।

कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले पार्टीबाट स्थानीय तहमा नेतृत्व गरिरहेका जनप्रतिनिधिहरूलाई जनताका हितमा काम गर्न र उत्कृष्ट कार्यसम्पादनका लागि प्रशिक्षित गर्न खोजिएको जनाए । कांग्रेसबाट कर्णाली प्रदेशमा नगरपालिका प्रमुख १२ जना, उपप्रमुख १० जना छन् भन गाँउपालिका अध्यक्ष २० जना उपाध्यक्ष १७ जना छन् । त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख पाँच जना र उपप्रमुख एक गरी जम्मा ६५ जना जनप्रतिनिधिहरूलाई एकमुष्ट प्रशिक्षण दिन लागिएको हो ।

प्रशिक्षणमा अहिलेसम्म भएका कामको समीक्ष गर्ने र आगामी दिनमा स्थानीय सरकारलाई थप प्रभावकारी रूपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विशेषमा छलफल गरिने जनाइएको छ । बिपी जयन्तीको अवसर पारेर भदौ २४ र २५ गते दुई दिने प्रशिक्षण आयोजना गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसको इतिहास, स्थानीय सरकारप्रति जनताका आशा, संघीयताको सफल कार्यान्वयन लगायतका विषयमा बृहत छलफल हुने जनाइएको छ ।

प्रकाशित मितिः   २४ भाद्र २०८०, आईतवार ०९:५१