भवन निर्माणमा ढिलासुस्ती
सुर्खेत: निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणमा ढिलाइ भएको छ । सझौताअनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन ।
जगदम्बा शिवालय सुपरस्ट्रार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । सम्झौता अनुसारको अवधिमा काम नसकिएपछि म्याद थप गरिएको थियो । थप गरिएको समयाअवधि सकिनै लाग्दासमेत भवन निर्माणको कामले गति लिन सकेको छैन । बरु निर्माण कम्पनीले दोस्रो पटक म्याद थपका लागि निवेदन पेस गरेको छ ।
पहिलो पटक थपिएको म्यादअनुसार एक महिना बाँकी रहेको छ । तर काम गर्न धेरै बाँकी छ । निर्माण व्यवसायी तारा शाहीले भवन निर्माणका लागि म्याद थप गर्न संघीय आयोजना तथा कार्यान्वयन इकाइमा निवेदन पेस गरिएको बताइन् । उनका अनुसार सामान ढुवानी बाहिरी जिल्लाबाट गर्नुपर्दा समस्या भएको छ । कोरोना महामारी, स्थानीय निर्वाचन, मूल्यवृद्धि, निर्माण सामग्रीको उपलब्धता नहुनु लगायतका कारण समयमा नै काम गर्न नसकिएको उनको भनाइ छ । वर्षाले समेत काममा असर पारेको उनले बताइन् । सकेसम्म तोकिएकै मितिमा काम सम्पन्न गर्नेगरी लागिपरेको भन्दै शाहीले बढीमा पाँच महिना म्याद थपका लागि निवेदन पेस गरेको जानकारी दिइन । उनले भनिन्, ‘भवन निर्माणको ८० प्रतिशत काम सकिएको छ । अब थोरै काम मात्र बाँकी रहेको छ । केही सामान बाहीरबाट मगाउनुपर्ने हुन्छ ।’ विविध कारणले गर्दा समयमा नै काम गर्न नसकिएको उनको भनाइ छ । अहिले भने काम तीव्र रूपमा भइहेको भन्दै उनले अबको केही महिनामा कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई भवन हस्तान्तरण गरिने जनाइन् ।
भाडाको घरमा आपूर्ति केन्द्र
भवन निर्माणमा ढिलाइ हुँदा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र एक वर्षदेखि भाडाको घरबाट सञ्चालन भइरहेको छ । मासिक ४० हजार तिरेर भाडाको घरबाट आपूर्ति केन्द्र सञ्चालन भइरहेको हो । भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधि नेपालगञ्जमा स्ट्रोर गर्ने गरिएको प्रदेश औषधि आपूर्ति केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीले जानकारी दिए । भाडाको घर भएकाले आवश्यक उपकरण र औषधि भण्डारण गर्न समस्या हुने गरेको उनले बताए । ‘गत वर्ष नै भवन हस्तान्तरण हुनुपर्ने हो । निर्माण व्यवसायीको ढिलाइले गर्दा अझै काम सकिएको छैन’ उनले भने । औषधि भण्डारका लागि ठाउँ नहुँदा जिल्लाबाट माग भएका र तत्काल जिल्लामा पठाउनुपर्ने औषधि मात्र केन्द्रमा ल्याउने गरिएको छ । नयाँ भवन बने औषधि भण्डारण गर्न सहज हुने उनको भनाइ छ ।
प्रदेश सरकारले ४१ प्रकारका औषधि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत् खरिद गर्दै आएको छ । केन्द्रले खोप तथा खोपजन्य सामग्री प्रदेशका दश वटै जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध गराउँदै आएको हो । भवन नहँुदा औषधि भण्डारण गर्न समस्या हुने गरेको छ ।
एक पटक म्याद थप भए तापनि भवन निर्माणको काम सुस्त भएकाले समयमै काम सम्पन्न हुनेमा आशंका व्यक्त गरिएको छ । भवन निर्माणको अनुगमन तथा नियमन गर्ने निकाय संघीय आयोजना तथा कार्यान्वयन इकाई सुर्खेतले भने निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएको छ । कार्यालयका इन्जिनियर गोकर्ण थापाले म्याद थप गर्नुभन्दा समयमै काम सम्पन्न गर्न ताकेता गरिरहेको बताए । उनका अनुसार अहिले तीव्र गतिमा काम भइरहेको छ । थापाले २०८० असोजसम्म भवन निर्माणको सम्झौता रहेको बताए । सकेसम्म निर्धारित मितिमा सम्पन्न गर्नेगरी काम गर्न भनिएको भन्दै उनले निर्माण सम्पन्न गर्न एक महिनाको अवधि बाँकी रहेको जानकारी दिए ।
प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार ०९:४९
रजनी याेगी ।