आयुर्वेदलाई बेवास्ता
वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयले जनशक्ति र भौतिक पूर्वाधारको अभाव झेल्नुपरेको छ । प्रदेशस्तरको औषधालय भएपनि दरबन्दीअनुसार कर्मचारी तथा चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको हो । अस्पतालमा स्वीकृत दरबन्दी अनुसारका कर्मचारी छैनन् । स्वीकृत दरबन्दी २६ जनाको हो । तर नौ जनाको मात्रै पदपूर्ति भएको छ । १७ जनाको दरबन्दी रिक्त छ । जसमध्ये डाक्टरको दरबन्दी पाँच जनाको भए तापनि दरबन्दीअनुसार एक जना पनि कार्यरत छैनन् भने दुई जना डाक्टर करारमा कार्यरत छन् । आयुर्वेद मेडिकल अधिकृतको दरबन्दी चार जनाको रहेको छ । जसमा एक जना स्थायी दरबन्दीमा कार्यरत छन् भने बाँकी दरबन्दी रिक्त छ ।
औषधालयका लागि आवश्यक पर्ने दरबन्दी नै पर्याप्त नभएको र भएका दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । प्रदेश सरकारले साविकको भेरी अञ्चल आयुर्वेद औषधालयलाई प्रदेश आयुर्वेद अस्पतालमा रूपान्तरण गरे पनि स्तरोन्नतिमा चासो दिएको छैन । औषधालयमा दैनिक करिब डेढ सय बिरामी उपचारका लागि आउने गरेका छन् । जनशक्तिसँगै भौतिक पूर्वाधारको अभाव झेलिरहेको छ । १५ शैय्याबाट सेवा दिनेगरी भवन निर्माणको काम थालिएको भए तापनि भवन निर्माण सम्पन्न हुन सकेको छैन । अहिले अस्पतालको सेवा पुरानो भवनबाट दिने गरिएको छ । जसले गर्दा नागरिकलाई सेवा लिन असहज हुने गरेको हो । साँघुरो भवनबाट सेवा दिइरहेको अस्पतालमा बिरामीको चाप भने धेरै छ । भवन नहुँदा उपकरण सामग्रीसमेत प्रयोगमा आउन सकेका छैनन् । औषधालयको हातामा निर्माण थालिएको १५ शैय्याको भवन निर्माणको काम सुस्त गतिमा छ । सम्झौता भएको दुई वर्ष बितिसक्दा एक तला पनि ढलान हुन सकेको छैन । सम्झौताअनुसार २०८० चैत मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने हुन्छ । भवन निर्माणको प्रगति भने निकै सुस्त छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रको भवन निर्माणमा ढिलासुस्ती हुँदा सेवा प्रवाहमा असर परिरहेको छ । भौतिक संरचनाको अभावमा औषधालयले साँघुरा कोठाहरूबाट सेवा दिइरहेको छ । सेवा विस्तार भएपनि जनशक्ति र आवश्यक पूर्वाधार नहुँदा समस्या हुनेगरेको हो ।
आयुर्वेदिक उपचारका लागि मात्रै नभएर औषधालयले स्थानीयस्तरमा उपलब्ध जडिबुटीहरूको संकलन, पहिचान, प्रशोधनलगायतका काम पनि गर्न सक्दछ । तर यसका लागि पनि जनशक्ति र स्रोत साधनको अभाव देखिएको छ । प्रदेशका अन्य स्वास्थ्य संस्थाहरूलेजस्तै आयुर्वेद अस्पतालले पनि समस्या झेलिरहेको छ । अस्पताललाई प्रभावकारी रूपमा सञ्चालनका लागि सरकारले पर्याप्त संख्यामा जनशक्ति, पूर्वाधार र उपकरणको व्यवस्थापन गर्न जरुरी छ ।
प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार ०५:०३
सम्पादकीय ।