प्रदेश आयुर्वेद अस्पताल: जनशक्ति र पूर्वाधारको अभाव

 

सुर्खेत: वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयले जनशक्ति र भौतिक पूर्वाधारको अभाव झेल्नुपरेको छ । प्रदेशस्तरको औषधालय भएपनि दरबन्दीअनुसार कर्मचारी तथा चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या हुनेगरेको हो ।

अस्पतालमा स्वीकृत दरबन्दी अनुसारका कर्मचारी छैनन् । स्वीकृत दरबन्दी २६ जनाको हो । तर नौ जनाको मात्रै पदपूर्ति भएको छ । १७ जनाको दरबन्दी रिक्त छ । जसमध्ये डाक्टरको दरबन्दी पाँच जनाको भए तापनि दरबन्दीअनुसार एक जना पनि कार्यरत छैनन् भने दुई जना डाक्टर करारमा कार्यरत छन् । आयुर्वेद मेडिकल अधिकृतको दरबन्दी चार जनाको रहेको छ । जसमा एक जना स्थायी दरबन्दीमा कार्यरत छन् भने बाँकी दरबन्दी रिक्त छ ।

औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले प्रदेशस्तरको औषधालयका लागि आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको बताए । जनशक्ति औषधालय सञ्चालनका लागि पर्याप्त नभएको उनको भनाइ छ । संघीय र प्रदेश सरकारसँग थप जनशक्ति र स्रोत साधनको माग गरिए पनि पूरा नभएको उनको भनाइ छ । औषधालयका लागि आवश्यक पर्ने दरबन्दी नै पर्याप्त नभएको र भएका दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या परेको उनले बताए । प्रदेश सरकारले साविकको भेरी अञ्चल आयुर्वेद औषधालयलाई प्रदेश आयुर्वेद अस्पतालमा रूपान्तरण गरे पनि स्तरोन्नतिमा चासो नदिएको उनको भनाइ छ ।

औषधालयमा दैनिक करिब डेढ सय बिरामी उपचारका लागि आउने गरेका छन् । औषधालय प्रमुख डा. रिजालले जनशक्ति र स्रोत साधन अभावले स्थानीयस्तरमा उपलब्ध जडिबुटीको संकलन, प्रशोधन गर्न नसकिएको जानकारी दिए ।

 

पूर्वाधारको पनि अभाव

प्रदेश आयुर्वेद औषधालयले जनशक्तिसँगै भौतिक पूर्वाधारको अभाव झेलिरहेको छ । १५ शैय्याबाट सेवा दिनेगरी भवन निर्माणको काम थालिएको भए तापनि भवन निर्माण सम्पन्न हुन सकेको छैन । अहिले अस्पतालको सेवा पुरानो भवनबाट दिने गरिएको छ । जसले गर्दा नागरिकलाई सेवा लिन असहज हुने गरेको हो ।

साँघुरो भवनबाट सेवा दिइरहेको अस्पतालमा बिरामीको चाप भने धेरै छ । भवन नहुँदा उपकरण सामग्रीसमेत प्रयोगमा आउन नसकेको प्रमुख डा. रिजालले बताए । उनका अनुसार औषधालयको हातामा निर्माण थालिएको १५ शैय्याको भवन निर्माणको काम सुस्त गतिमा छ । सम्झौता भएको दुई वर्ष बितिसक्दा एक तला पनि ढलान हुन सकेको छैन । आयुर्वेद अस्पतालको भवन बनाउन कौशल जगदम्बा सुपरस्ट्रार निर्माण कम्पनीले जिम्मा लिएको छ । संघीय सरकारको १८ करोड २२ लाख बजेटमा निर्माण सम्झौता गरिएको छ । निर्माण कार्य २०७८ असारबाट सुरु गर्नेगरी सम्झौता भएको थियो । तर, हालसम्म पनि भवन निर्माण हुन सकेको छैन । सम्झौताअनुसार २०८० चैत मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने हुन्छ । भवन निर्माणको प्रगति भने निकै सुस्त छ ।

सुुस्त गतिमा काम भइरहेकाले तोकिएको मितिमा काम सकिने सम्भावना नरहेको औषधालयका प्रमुख डा. रिजाल बताउँछन् । ‘सम्झौता भएको दुई वर्ष भइसक्यो, एक तला पनि ढलान भएको छैन,’ उनले भने, ‘त्यही काम पनि निरन्तर रूपमा भएको छैन । आज भोली फाटफूट काम थालिएको छ ।’ अस्पताल जस्तो संवेदनशील क्षेत्रको भवन निर्माणमा ढिलासुस्ती हुँदा सेवा प्रवाहमा असर परिरहेको डा. रिजालको भनाइ छ । भौतिक संरचनाको अभावमा औषधालयले साँघुरा कोठाहरूबाट सेवा दिइरहेको छ । सेवा विस्तार भएपनि जनशक्ति र आवश्यक पूर्वाधार नहुँदा समस्या हुनेगरेको हो ।

निर्माण कम्पनीले भने तोकिएको म्यादको ६ महिना बाँकी रहेकाले समयमै भवन बनाइसक्ने दाबी गरेको छ । निर्माण व्यवसायी तारा शाहीले समयमै काम सम्पन्न गरेर औषधालयलाई भवन हस्तान्तरण गरिने बताइन् । सम्झौता भएयता कोरोनाका कारणले निर्माणले गति लिन नसकेको उनी बताउँछिन् । ‘कोरोना महामारी, स्थानीय निर्वाचन, मूल्यवृद्धि, वर्षाजस्ता कारणले काम रोकिएको हो,’ शाहीले भनिन्, ‘सकेसम्म तोकिएकै मितिमा काम सम्पन्न गर्नेगरी लागेका छौँ ।’ भवन निर्माणको अनुगमन तथा नियमन गर्ने निकाय संघीय कार्यान्वयन इकाईका इन्जिनियर टिकाराम शर्माले २०८० चैतसम्म भवन निर्माणको सम्झौता रहेको बताए । निर्धारित मितिमा सम्पन्न हुुने गरी काम भइरहेको उनको भनाइ छ । उनले भने, ‘६ महिनाको अवधि बाँकी छ । एक तला ढलान हुँदै छ । काम रफ्तारमा भइरहेको देखिन्छ ।’

प्रकाशित मितिः   २३ भाद्र २०८०, शनिबार ०५:०४