दुई पटक म्याद थप्दा पनि चक्रपथ अधुरै
सुर्खेत: वीरेन्द्रनगर चक्रपथ निर्माणको काम सुरु भएको दुई दशक पुग्न थाल्यो । तर अहिलेसम्म अधुरै छ । बरु निर्माण सम्झौताको समयावधि सकिएको छ । दुई पटक थपिएको म्याद सकिँदासम्म पनि योजना पूरा हुन सकेन ।
तत्कालीन जिल्ला विकास समितिले आर्थिक वर्ष २०६२÷६३ मा चक्रपथ निर्माण कार्य थालेको थियो । स्थानीयको अवरोध, अदालतको आदेश, संरक्षित वन क्षेत्रलगायतका कारणले चक्रपथ निर्माण योजनाले पूर्णता पाउन सकेको छैन । गत आर्थिक वर्ष २०७९/०८० को असारमा चक्रपथ निर्माणको सम्झौता सकिएको छ । डिभिजन सडक चौरजहारी रूकुम–पश्चिमले आर्थिक वर्ष २०७३/०७४ मा चक्रपथ निर्माणको जिम्मा पाएको थियो । त्यतिबेला २०७६ चैतमा सम्पन्न गर्ने सम्झौता भएको थियो । त्यसयता चक्रपथको काम नसकिएपछि दुई पटक म्याद थप भइसकेको छ । २०७७ असार २० गतेसम्मका लागि दोस्रो पटक म्याद थप गरिएको थियो । त्यसयता कोरोना महामारीका कारण आयोजना प्रभावित भयो । हालसम्म पनि काम सकिएको छैन । प्रदेश सरकारसँग म्याद थपका लागि आह्वान गरिने डिभिजन सडक चौरजहारी रूकुम–पश्चिमले जनाएको छ ।
निर्माण सुरु भएदेखि नै स्थानीयले आफ्नो व्यक्तिगत जग्गा सडकमा परेको भन्दै अवरोध गर्दै आएपछि चक्रपथको काम तीव्र गतिमा हुन सकेको थिएन । अहिलेपनि स्थानीयको अवरोध कायमै छ । संरक्षित वन क्षेत्र र स्थानीयको विवादका कारणले चक्रपथ निर्माणको काम समयमा नै सम्पन्न हुन नसकेको बताइएको छ ।
चक्रपथ निर्माणको कार्य डिभिजन सडक चौरजहारी रूकुम–पश्चिमले गरिरहेको छ । अवरोधका कारण हालसम्म ७२ प्रतिशत मात्रै काम भएको कार्यालय प्रमुख आशुतोष कर्णले बताए । उनका अनुसार अझै २८ प्रतिशत काम गर्न बाँकी नै छ । सम्झौता सकिएकाले हाल निर्माणको काम रोकिएको छ । अवरोध नै अवरोध हुँदा अपेक्षित काम गर्न नसकिएको भन्दै उनले विवाद नसुल्झिए आयोजनाको म्याद थप नहुने जानकारी दिए ।
वीरेन्द्रनगरको सुब्बाकुनादेखि घुस्रा हुँदै दक्षिण भेगबाट बाङ्गेसिमल जोडेर चक्रपथ निर्माण गर्न लागिएको हो । निर्माण थालिएको १८ वर्ष पुग्यो । करिब २९ किलोमिटर लामो चक्रपथको अहिलेसम्म २४ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ । अझै पाँच किलोमिटर ट्रयाक खोल्न बाँकी नै छ । वनखण्ड र बस्तीखण्डमा काम गर्न बाँकी रहेको कार्यालयका प्रमुख कर्णले जानकारी दिए । उनका अनुसार आयोजनाको वित्तिय प्रगति ६५ प्रतिशत भएको छ । उनले भने, ‘कतै स्थानीको विरोध छ, कतै संरक्षित वन क्षेत्र परेको छ, यीनै समस्याले गर्दा चाहेर पनि समयमै काम सम्पन्न गर्न सकिएन ।’ बाधा हटाउनका निम्ति वीरेन्द्रनगर नगरपालिकासँग बारम्बार आग्रह गरेपनि कुनै सुनुवाइ नभएको प्रमुख कर्णले गुनासो गरे । उनले भने, ‘चक्रपथको एलाइनमेन्ट नै परिवर्तन गर्नुप¥यो कि त समस्या सुल्झाउनुपर्छ । तर केही निचोड निस्किएको छैन स्थानीयको अवरोध कायमै छ ।’
सडक निर्माण गर्दा स्थानीयले अतिक्रमण हुने घर र जग्गा क्षतिपूर्तिको माग गर्दै आएका छन् । जग्गा र घरको उचित क्षतिपूर्ति नपाएसम्म स्थानीयले सडक निर्माण हुन नदिने अडान राख्दै आएका हुन् । स्थानीयको विवादकै कारण वडा नं. २ र वडा नं. १० क्षेत्रमा ट्रयाकसमेत खोलिएको छैन । संघीय सरकारको बजेटबाट निर्माण थालिएको चक्रपथको काम अहिले प्रदेश सरकार मातहत ल्याइएको छ । बजेट र ठेक्का व्यवस्थापन संघीय सरकारले गर्छ भने निर्माणको काम प्रदेश सरकारमार्फत भइरहेको छ ।
खासगरी जग्गा विवादका कारण चक्रपथ निर्माणको काममा ढिलाइ हुँदै आएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुुख निलकण्ठ खनालले बताए । उनका अनुसार म्याद थप गरेर चक्रपथ निर्माणको काम सक्ने लक्ष्य अनुरूप नै पालिका लागेको छ । निर्माणका क्रममा देखिएका विवाद सुल्झाउने प्रयास भइरहेको उनको भनाइ छ । ‘वन क्षेत्रका कारण बढी विवाद आएको छ,’ उनले भने, ‘अवरोध हटाएर अघि बढ्न विभिन्न चरणमा छलफल भइरहेका छन् ।’ वडातहबाट समेत विवाद समाधानका लागि पहल भइरहेको उनले बताए ।
प्रकाशित मितिः २२ भाद्र २०८०, शुक्रबार ०५:०५
रजनी याेगी ।