तरलता संकट र समाधानको उपाय
सुर्खेतमा भर्खरमात्र स्थापना भएका नयाँ बैंकहरू पहिलो आर्थिक वर्षमा करोडौंको ऋण लगानी गर्ने रणनीतिका साथ आएका थिए । तर पहिलो चौमासिक सकिंदा लाखमा मात्र कर्जा प्रवाह गर्न सफल भएका छन् । स्थापित बैंकहरू पनि स्वीकृत भएका कर्जाका फाइलहरू थन्काउन थालेका छन् । केन्द्रबाट आएको आदेश अनुसार अन्य कुनै पनि कर्जा फाइल स्वीकृत गर्नका लागि काठमाठौं नपठाउन र स्वीकृत भएका कर्जा फाइलको भुक्तानी रोक्ने कठोर निर्देशन पलाना गर्न बाध्य छन् । यी त केही उदाहरण मात्र हुन् । देशभरीका बैंकहरू यतिबेला यही समस्याले अल्झी राखेका छन् । यसको अर्थ हो देशमा तरलताको अभाव ।
दिनदिनै बढिरहेको ब्याजदरले पनि यही कुराको संकेट गरिरहेको छ । झन नयाँ लगानी जुटाउनु फलामको चिउरा चपाउनु सरह हुनेछ । यो तरलता अभाव अझै केही महिना यथावत रहन सक्ने सम्भावना दर्साउछन्, सिटिजन बैंक सुर्खेतका शाखा प्रमुख विश्व भारती । तरलता अभावले सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी पनि चिन्तित देखिन्छन् । सुर्खेत उद्योग वाणिज्य संघले यही वर्ष सुर्खेत लगानी वर्ष मनाउन लागिरहेको छ भने यही वर्ष तरलता अभाव हुनु पक्कै पनि सुर्खेतका लागि र यहाँका व्यापारीका लागि त्यति शुभ हुने देखिन्न । असोज कात्तिकमा सन्तोषजनक तरलता देखिएकोमा पुसको अन्त्यसँगै बैंकमा पैसा नहुनुको कारण पनि बुझी नसक्नुको छ ।
हाल कमर्सीयल बैंकहरू राष्ट्र बैंकसँग हारगुहार गरिरहेका छन् । किन देशमा तरलता अभाव हुँदैछ त ? यसका दुई वटा संकेत हुन सक्छन् । पहिलो, देशमा केही शान्ति र स्थिरता काम भएकोले लगानीको वातावरण पनि बन्दै जानु हो । नेपालीहरूमा पनि लगानी गर्नुपर्छ, काम ठूलो सानो हुँदैन, जस्तो भए पनि लगानी गरेर उद्यमी बन्नुपर्छ भन्ने भावना युवा जमातमा बढ्दै जानु । अरु केही गर्न नसके पनि कृषि उद्यमी हुने लहर छ देशमा । त्यसै कारण पनि तरलताको अभाव हुनसक्छ । यति मात्र नभएर देशमा साना ठूला धेरै जलविद्युत आयोजनाहरू बन्दैछन् । यी आयोजनाहरूले स्थानीयहरूलाई १० प्रतिशतसम्म शेयर दिएका छन् । यसले गर्दा बैंकमा जम्मा हुने ठूलो रकम यस्ता आयोजनामा लगानी भइरहेको छ ।
यसैगरी शेयर बजार पनि लगानीको अकर्षक गन्तव्य बन्दै गएको छ । मानिहरू घरजग्गा बैंकमा राखेर भए पनि शेयर बजारमा प्रवेश गर्दैछन् । यी शुभ संकेतहरू हुन् उद्यमी बन्नु, शेयर बजारमा लगानी गर्नु, बैंकमा पैसा नराख्नु । यिनी मात्र कारणले तरलता अभाव भएको मान्न तयार छैनन्, मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका कार्यक्रम निर्देशक डा. नारायणप्रसाद पौड्याल । उनका विचारमा सबैभन्दा ठूलो कारण घरजग्गामा लगानी नै हो । सुर्खेतको बजारमा मात्र नभएर नेपालभरी नै घरजग्गाको कारोबार बढ्दो छ । यसले गर्दा ठूलो धनराशी लगभग फ्रिज भएर बसेको छ । यसरी ठूलो धनराशी अनुत्पादक चिजमा लगानी भएर बस्ने हो भने तरलता संकटलाई कसैले पनि रोक्न सक्दैन । उनी सरकारले विकास बजेट समयमा खर्च गर्न नसक्दा पनि यो संकट आएको हुनसक्ने कुरा औंल्याउँछन् ।
हाल बैंकहरू निक्षेप संकलनका लागि आठ–नौ प्रतिशतसम्म दिन तयार रहँदा पनि किन बैंकमा निक्षेप संकलन नभएको होला भन्ने प्रश्नमा मप विश्वविद्यालयका अर्थशास्त्रका एक उप–प्राध्यापक भन्दछन्, ‘बजारमा महिनाको न्यूनतम तीन प्रतिशत ब्याज आउँछ, बंैकबाट वार्षिक चार प्रतिशत । यस अवस्थामा नागरिकहरू बैंकमा पैसा जम्मा गर्न तयार छैनन् । साधाण व्यक्तिहरू पनि बैंकको झण्झटिलो प्रक्रियाका कारण यही सय कडा तिनमा पैसा लिएका छन् । यो मौलाउँदै गएको अनौपचारिक अर्थतन्त्रलाई अकुंश लगाउनु एकदम जरुरी छ ।’
पत्रपत्रिकामा फैलिएको हल्लाले बजारमा एक प्रकारको आतंक नै सिर्जना गरेकोले सबैजना पर्ख र हेरको अवस्थामा रहेको पनि हुनसक्छ । तरलता संकटको वहानामा ब्याजदर बढाउने र नाफा कमाउने रणनीतिमा नेपालका बैंकहरू लागेको पनि हुनसक्ने कुरालाई सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष अधिकार नकार्दैनन् । कारण जे पनि हुन सक्दछ तर उद्यमी मैत्री वातावरण हुनुपर्छ भन्ने कुरामा उनको जोड छ ।
राष्ट्र बैंकका डिपुटी गभर्नर कृणबहादुर मानन्धरका अनुसार पछिल्लो ५–६ वर्षमा प्रत्येक वर्ष २० देखि ५० प्रतिशतले रेमिटान्स बढ्दै गएकोमा यस वर्ष कात्तिक मंसिरमा रेमिट्यान्ट चालिस प्रतिशतले घटेकोले बजारमा तरलता संकट देखा परेको हो । यसको अलावा नेपालीहरूमा बढ्दो सुनको मोहले पनि ठूलो धनराशी सुन किन्नका लागि वैधानिक र अवैधानिक तरिकाले देशबाट बाहिरिनु पनि अर्को मुख्य कारण भएको डिपुटी गभर्नर मानन्धनर बताउँछन् ।
हाल बजारमा ३२ अर्ब रूपैयाँ माग भएकोमा बैंकहरूसँग २२ अर्व मात्र निक्षेप रहेको आंकडा बजारमा आएको छ । यो तरलता संकटलाई केही समयको लागि समाधान गर्न कमर्सियल बैंकले नेपाल राष्ट्र बैंकमा राख्नुपर्ने मौजदात घटाएमा केही सहजता हुने तर दीर्घकालीन उपाय हुन नसक्ने बैंकर्सहरू बताउँछन् । अहिले बजारमा देखिएको तरलता संकटको दीर्घकालीन उपाय के हुन सक्छ त ? नेपालमा भित्रिरहेको रेमिट्यान्स बढ्नु जरुरी छ । आयातलाई निरुत्साहित गरी निर्यातलाई प्रवद्र्धन गर्दै जानु आजको माग हो । लोडसेडिङ्ग यसरी नै घट्दै जाने हो भने पक्कै पनि अर्थतन्त्रमा केही सुधार देखिनसक्ने सम्भावना छ । जलविद्युतको प्रचूर सम्भावना भएको देशमा ऊर्जा सम्बन्धी उपकरणमा ठूलो धनराशी बाहिरीनुले नेपालको रकम भुक्तानी घाटा हुनु स्वभाविक हो ।
घरजग्गा लगानी त्यति ठूलो लगानी भएको र यसैकारणले तरलता संकट उत्पन्न भएको धेरै विज्ञहरू मान्न तयार छैनन् । बैंक अफ एसियाका प्रशुराम क्षेत्रीका अनुसार राष्ट्र बैंकमा संकलन भएको जनताको कर राष्ट्र बैंक र सरकारले खर्च गर्न नसक्नु नै मुख्य कारण मान्दछन् । उनका अनुसार राष्ट्र बैंकले आफै कमर्सियल बैंकहरूमा खाता खोलेर ऋण प्रवाह गर्नसक्ने सम्भावना रहेको तर राष्ट्र बैंकले यसमा चासो नदेखाएको गुनासो गरे ।
देशभरी नै बढ्दै गएको एटीएम मेशिनहरू र एटीएम मेशिनमा राख्नुपर्ने पैसा हुण्डी कारोबार पनि यसका मुख्य कारणहरू हुन् । यसैगरी भारतमा भएको म्भअयचतष्अबतष्यल पनि नेपालमा तरलता संकटका लागि उत्तिकै जिम्मेवार छन् । कारण जे भए पनि समाधान जरुरी छ । यसको प्रमुख समाधान भनेको विकास खर्च समयमा नै भयो भने पनि ठूलो राहत हुनसक्छ । ठेकेदारहरूको अरबौं रूपैयाँको भुक्तानी नहुँदा बजारमा यो समस्या देखिएको हो । आर्थिक वर्षको आठ महिना सकिंदा पनि विकास बजेटको २० प्रतिशत पनि खर्च नहुनु यो देशको विडम्बना हो । नौ–नौ महिनामा परिवर्तन हुने सरकार । सरकार पिच्छे फरक नीतिका कारण पनि विकास बजेट खर्च नभएको हो । मप विश्वविद्यालयका अर्थ उप–प्रध्यापक विधिहोत्र वशिष्ठ सरकारले विकास बजेट खर्च गर्न नसक्ने हो भने कर्मचारीको तलब भत्ता वृद्धि गरेर, सामाजिक कार्यमा लगानी गरेर या युरोप अमेरिकाको जस्तो करदातालाई सहुलियत दिएर केही समयको लागि यो समस्या समाधान हुन सक्ने तर दीर्घकालीन नीति हुन नहुने कुरामा जोड दिन्छन् ।
(लेखक मप विश्वविद्यालयका उपप्राध्यापक हुन् ।)
साझा बिसौनी ।